मनहरी समाचारदाता
मनहरी (मकवानपुर), माघ २६ गते । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाको चेपाङ समु्दायको गरिबीलाई सामाजिक सञ्जालमा नाटकीय रूपमा प्रस्तुत गरी दातासँग सहयोग माग्ने गरेको पाइएको छ । चेपाङ समुदायको गरिबी देखाएर विदेशी तथा स्वदेशी दातृसंस्था तथा व्यक्तिसँग रकम वा जिन्सी सामग्री माग्ने र वितरण गर्ने गरेकोबारे राक्सिराङ गाउँपालिकाले चासो देखाएको हो ।
केही दिनअघि राक्सिराङ गाउँपालिका–८, कुनाले भन्ने स्थानमा एउटा जीर्ण घरमा धोती (लगौँटी) लगाएका नाङ्गा अवस्थाका चेपाङ बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जालमा प्रकाशन भएको थियो । सो सम्बन्धमा गाउँपालिकाको कार्यपालिका बैठकले ८ नं. वडा अध्यक्ष युसाई प्रजा (चेपाङ) को संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले गाउँपालिकामा पेस गरेको प्रतिवेदनमा रेखा लोप्चन लामा नामक फेसबुक पेजबाट प्रकाशन भएको भिडियोमा देखाइएको सूर्यमान प्रजा (चेपाङ) को भनिएको घर वास्तविक घर नभएर बाँदर कुर्नका लागि बनाइएको ठहरो रहेको पाइएको छ । गरिबीको रेखामुनि रहेको सूर्यमानका लागि भूकम्प पुनर्निर्माण प्राधिकरणले यसअघि नै घर निर्माण गरिदिएको समितिले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिका सदस्यले स्थलगत अध्ययन, सोधपुछबाट प्राप्त तथ्य भन्दै पेस गरेको प्रतिवेदनमा सहयोग प्राप्त हुने भएकाले आफूहरूले भनेजसरी फोटो खिच्न केही व्यक्तिले भनेकाले सोही कुरा मानेर फोटो भिडियो खिचिएको उल्लेख छ ।
समितिको प्रतिवेदनका आधारमा स्थानीय सरकार सञ्चालन ऐनले तोकेबमोजिमको व्यवहार गर्न, कसैको व्यक्तिगत जीवनलाई भिख माग्ने विषय नबनाउनका लागि सम्बन्धित सबैलाई निर्देशन दिने तयारी गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँका अनुसार राक्सिराङ गाउँपालिकाभित्र स्थानीय सरकारसँगको समन्वयबिना हुने जुनसुकै खालको दान, सहयोगको कडा निगरानी हुने छ ।
यसैबिच उक्त फोटो र भिडियो सामाजिक सञ्जालमा देखाएर सङ्कलन गरिएको रकमले खरिद भएका खाद्यान्न तथा लत्ताकपडा वडाध्यक्ष युसाई प्रजाकै उपस्थितिमा सम्बन्धित परिवार र समुदायलाई वितरण गरिएको छ ।