• २ असार २०८१, आइतबार

घरबास उठ्ने अवस्थामा उपभोक्ता

blog

नवराज श्रेष्ठ

रामेछाप, साउन १  गते । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको सिँचाइ आयोजनामा एउटाले गरेको काममा अर्कैलाई भुक्तानी दिइएको छ । पालिकाको वडा नम्बर ९, पिङ्खुरीस्थित बँेसीटोल सिँचाइ आयोजनामा एउटा समितिले गरेको काम देखाएर किर्ते प्रमाण राखी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापले अर्कै उपभोक्ता समितिलाई दुई पटक गरी २१ लाख ६० हजार रुपियाँ भुक्तानी दिएको हो । 

काम नै नगरी किर्ते कागज बनाएर पैसा निकाल्ने एकीकृत समाजवादी पार्टी रामेछापका सचिवालय सदस्य चूडाबहादुर भण्डारी फरार भएपछि श्रम गर्ने स्थानीय उपभोक्ताको घरबास उठ्ने अवस्था बनेको छ । खाँडादेवी–९, पिङ्खुरी बेँसीटोलको लेप्से खोला सिँचाइ आयोजनामा एउटा अर्कै उपभोक्ता समितिले गरेको काम देखाएर भण्डारी २१ लाख ६० हजार रुपियाँ भुक्तानी लिई बेपत्ता हुनुभएको छ । 

सिँचाइ आयोजनाका लागि आर्थिक वर्ष २०७८/७९ का लागि गाउँपालिकामार्फत काम हुने गरी बागमती प्रदेश सरकारबाट २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । सरोज भण्डारीको अध्यक्षतमा बनेको उपभोक्ता समितिले गाउँपालिकाले उपलब्ध गराएको स्टेटमेट र कार्यादेशअनुसार गत पुस महिनाबाट काम सुरु गरेको थियो । 

यही योजनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत सम्झौता भएर काम हुने गरी बागमती प्रदेश सरकारको १२ लाख र सङ्घीय सरकारबाट २० रुपियाँ गरी ३२ लाख रुपियाँ विनियोजन भएको थियो । सिँचाइ डिभिजन कार्यालयको बजेटबाट काम गर्न गणेश भण्डारी अध्यक्ष, शेरबहादुर भण्डारी सचिव र चूडाराज भण्डारी कोषाध्यक्ष रहेको उपभोक्ता समिति गठन भएको थियो । 

कार्यालयले गोप्य रूपमा बनाएको समितिबारे उपभोक्तालाई जानकारी थिएन । आफूहरूले तोकेअनुसारको काम गरेर भुक्तानी लिन जाँदा सिँचाइबाट त्यही काम देखाएर अर्को उपभोक्ता समितिले पैसा लिएको थाहा पाएपछि गाउँपालिकाले आफूहरूले भुक्तानी पाउनुपर्ने चेक रोकेको उपभोक्ता समितिका अध्यक्ष सरोज भण्डारीले बताउनुभयो । उहाँले काम गरेका श्रमिकको ज्याला तिर्नसमेत नसकेको बताउनुभयो । 

“हामीले गरेको कामको देखाएर किर्ते हस्ताक्षर र अन्य किर्ते प्रमाणका आधारमा कोषाध्यक्ष चूडाराज भण्डारीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली रामेछापले शङ्कास्पद रूपमा श्रमदानसहित २३ लाख रुपियाँको काम गरको मूल्याङ्कन बनाई गत फागुनमा ३ गते र गत जेठ १३ गते गरी २१ लाख ६० हजार रुपियाँ भुक्तानी दिएको रहेछ, अहिले पैसा निकाल्ने मान्छे कसैको सम्पर्कमा छैन, जसले गर्दा सिँचाइ कार्यालय र गाउँपालिकाप्रति उपभोक्ताको आशङ्का बढेको छ,” उहाँले भन्नुभयो । हामीले पुसको ठण्डीमा काम गरेको ज्याला पाएका छानौँ, यो असारभरि पर्खन्छौँ, त्यति बेलासम्म पनि पैसा पाएनौँ भने हामी जे पनि गर्छौं,” स्थानीय धनबहादुर तामाङले भन्नुभयो ।

काम नै नगरी भुक्तानी दिएको भन्ने गुनासो आएपछि डिभिजन कार्यालयबाट आयोजना स्थलमा गत जेठ १८ गते अनुगमनमा गएको टोलीले उक्त काम पालिकाबाट सम्झौता भई सम्पन्न भएको, कार्यालयबाट सम्झौता भएको काम नभएको, डिभिजन कार्यालयमा सम्झौता गरेर बनेको गणेश भण्डारी अध्यक्ष, शेरबहादुर भण्डारी सचिव र चूडाराज भण्डारी कोषाध्यक्ष रहेको उपभोक्ता समितिले काम नगरेको र कोषाध्यक्ष चूडराज भण्डारीले अर्को समितिले गरेको कामको फोटो देखाएर दुई पटक गरी रकम भुक्तानी लिएको ठहर गरेको थियो ।

यस्तै खाँडादेवी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष अक्कलबहादुर भण्डारीको अध्यक्षतामा बैठक बसी अर्कै समितिले गरेको कामलाई आफ्नो समितिले गरेको भन्दै कार्यालयबाट झुक्याएर भुक्तानी लिने चूडाराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने निर्णय गरेको थियो ।

सरोज भण्डारीको समूहले गरेको देखाएर पैसा निकालेको पाइएको वडा नं. ९ का वडाध्यक्ष अक्कलबहादुर भण्डारीले बताउनुभयो । यसअघि कार्यालयलाई समेत गुमराहमा राखेर बजेट अनियमितता गर्ने प्रयास भएको बताउने सिँचाइ कार्यालय प्रमुख रामनरेश मण्डल अहिले आएर सो काम आफ्नै कार्यालयले बनाएको उपभोक्ता समितिले गरेको बताउनुहुन्छ । 

गाउँपालिकाका प्राविधिक र गाउँपालिकाले बनाएको उपभोक्ता समितिले काम नै नगरी पैसा खान खोजेको आरोपसमेत उहाँले लगाउनुभयो तर कामदारले त पैसा पाएका छैनन् नि भन्ने प्रश्नमा भने उहाँ कोषाध्यक्षले बदमासी गरेर पैसा निकालेर हिँडेको कारण कामदारले पैसा नपाएको बताउनुहुन्छ । त्यो प्रमुख जिल्ला अधिकारीले मिलाउनु होला नि, अख्तियारमा मुद्दा परेको छ क्यारे, आफू पन्छिँदै मण्डलले भन्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले दुईवटा समूहमध्ये कसले काम गरेको हो भन्ने विवाद भएका कारण गाउँपालिकाले काटिसकेको चेक पनि रोकेको बताउनुभयो । विवाद समाधान भएपछि उहाँहरूले रकम पाउने लामिछानेको भनाइ छ । रामेछापको खाँडादेवी गाउँपालिका–९, पिङ्खुरीस्थित बँेसीटोल सिँचाइ आयोजना ।