• २१ माघ २०८२, बुधबार

राष्ट्रपति पौडेल जापानको भ्रमण सकेर स्वदेश फिर्ता

blog

जापानको चार दिने औपचारिक भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्नुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत । तस्बिरः केशब गुरुङ

काठमाडौँ, माघ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार काठमाडौँ फर्किनुभएको छ । 

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालगायतले स्वागत गर्नुभएको छ । 

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाल र जापान बिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी भएर स्वदेश फर्किनुभएको हो ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँले सो समारोहलाई सम्बोधन गर्नुभयो । 


त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभयो । उहासँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उहाँले सम्बोधन गर्नुभयो । उहाँले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गर्नुभयो । 

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।  


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।