ऊ छ,
उसको हल्ला छ ।
ऊ छ र’त यो दिन छ
उसको हल्ला छ र’त
यो साँझ छ /यो बिहान छ
ऊ नभए के होला ?
जब उसका सुस्त पाइला चल्छन्
कुनै जलतरङ्गभन्दा
कम मीठो लाग्दैन त्यो पदचाप,
र, हिँड्दाहिँड्दै
सुन्छु त्यहीँ कतै कुनै गायकी स्वर
तर बुझ्छु, आलापमा कुनै ढङ्ग छैन
बैशाखीले टेकेको खुट्टाजस्तो
धरमराएको हुन्छ आरोह,
रक्सीले मातेजस्तो
लरखराएको हुन्छ अवरोह
तर
त्यही बेसुर गीत छ र’त
जीवनको सुर खोजिरहन्छन् मेरा पाइलाहरू ।
उसको गीत नभए के होला ?
हो नि त !
आँखैले गाइरहने
उसको धूनै त हो नसामा सञ्चार भर्ने
ओहो ! उसका आँखा नभए ?
उसका आँखाबाटै हो मैले संसार नियाल्ने
उसले हेर्छ र त मैले देख्छु
कदाचित् मेरा आँखा रसाए भने
तिनै आँखा त हुन् आँसु खस्ने,
र, कति खुकुलो मुस्कुराहट !
ऊ मुस्काएको छ र’त म मुस्काउँछु
ऊ नमुस्कुराउने दिन कति अँध्यारो !
उसका ओठ छन् र’त
मेरो आकाश छ, खुला आकाश !
ऊ नभएको मेरो आकाश कस्तो होला ?
आकाशमा ऊ छ, र यो घाम छ
आकाशमा ऊ छ, र यो जून छ,
ऊ नउदाएको प्रकृति कस्तो होला ?
उसको उज्यालो नै मेरो दृश्य
उसको खितखिताइ नै मेरा शब्द
आहा,
उसका हर भावभङ्गीमाले
मेरो कवितामा शृङ्गारिकता भर्छन्
उसको शृङ्गार छ र’त मेरो कविता छ ।
उसको शृङ्गार नभए के होला ?
उसको शृङ्गार छ
उसका आँखा छन्÷उसको बोली छ,
उसका ओठ छन्÷उसको मुस्कान छ
उसको गीत छ
उसको हल्ला छ
र, ऊ छ, बस् ऊ... केवल ऊ छ ।
ऊ छ र’त म छु
ओहो ! ऊ नभए के होला ?
उसको प्रेम नभए जीवन कस्तो होला ?