• २० माघ २०८२, मङ्गलबार

‘जापान नेपालको भरपर्दो विकास साझेदार’

blog

राष्ट्रपति रामचन्द्र पौडेल नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउन जापानको टोकियोमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौँ, माघ २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबिचको सबन्धलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ ढङ्गले बढ्नुपर्ने बेला आएको बताउनुभएको छ । 

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउने अवसरमा  जापान सरकारका तर्फबाट सोमबार टोकियोमा आयोजना गरिएको विशेष स्वागत समारोहमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यस द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन तथा आगामी वर्षहरूमा गहन, फलदायी साझेदारी र सहकार्यका लागि मार्ग प्रशस्त गर्न नयाँ पहलले महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास छ ।” 

राष्ट्रपति पौडेल उक्त समारोहमा सरिक हुन आइतबार जापानको चारदिने भ्रमणका लागि त्यहाँ पुग्नुभएको हो । उहाँले सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धमा खुसी व्यक्त गर्दै पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा स्थापित रहेको औँल्याउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा उहाँले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारलाई हार्दिक बधाई र शुभकामना प्रदान गर्नुभयो । जापानका विदेश राज्यमन्त्री होरी इवाओले आयोजना गर्नुभएको उक्त समारोहमा राष्ट्रपति पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनसम्बन्धलाई अझ सुदृढ पार्न बलियो पुलको रूपमा काम गरेको प्रस्ट पार्नुभयो । लुम्बिनीलाई विश्व शान्तिको मुहानका रूपमा विकास गर्न जापानले निरन्तर सहयोग गरिरहेकोमा राष्ट्रपतिले कृतज्ञता व्यक्त गर्नुभयो । 

उहाँले नेपालमा अपार लगानीका सम्भावनाका क्षेत्र रहेको उल्लेख गर्दै नेपालका प्राथमिकता क्षेत्रहरू जलविद्युत् उत्पादन, पर्यटन, सेवा, सूचना प्रविधि, खानी तथा कृषिमा थप जापानी लगानी गर्न आह्वान गर्नुभयो । उहाँले पर्यटन क्षेत्रमा थप सहयोग विस्तार गर्न पनि जापान सरकारलाई सो क्रममा अनुरोध गर्नुभएको मन्त्रालयले जनाएको छ । 

बलियो विकास साझेदार जापान

राष्ट्रपति रामचन्द्र पौडेलले एक अर्को सन्दर्भमा नेपाल–जापान कूटनीतिक सम्बन्धको अवसरमा आयोजित ७० औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कोसेढुङ्गा बनेको प्रस्ट्याउनुभयो । जापान नेपालको सामाजिक तथा आर्थिक विकासको विश्वासिलो र भरपर्दो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानको बलियो योगदान रहेको उहाँले बताउनुभयो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, “जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ; जसले मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ । यी क्षेत्रमा जापानको अनुभव, ज्ञान, सिप र प्रविधिबाट हामी अझैँ लाभान्वित हुन चाहन्छौँ ।” 

राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गर्न पुग्नुभएका जापानका विदेश राज्यमन्त्री होरी इवाओसँगको कुराकानीमा उक्त धारणा राख्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । नेपाल यसै वर्ष सन् २०२६ को नोभेम्बर महिनामा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका क्रममा रहेकाले त्यसका लागि नेपालले सदा झैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको थियो । 

उहाँले थप्नुभयो, “नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठुला सम्भावनाहरू छन् । हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्धन गर्न कानुनी, प्रक्रियागत तथा संस्थागत सुधार गरिसकेका छौँ ।” भेटमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि खेल्नुभएको भूमिकाको देशबाहिर पनि अत्यन्त प्रशंसा भएको सुनाउनुभयो । नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधैँ सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

उहाँले सो क्रममा नेपालको शान्ति भनेको यस क्षेत्रकै शान्ति र विकास भएको उल्लेख गर्दै शान्ति र स्थायित्वका लागि हुन लागेको आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने चाहना जापान सरकारको रहेको प्रस्ट पार्नुभयो । जापान सरकारले नेपालको विकासमा निरन्तर सहयोग जारी राख्ने उल्लेख गर्दै बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण र कोटेश्वर जाम अन्त्य गर्न आवश्यक अन्डर पास निर्माणमा थप सहयोग गर्ने जापान सरकारले निर्णय गरिसकेको अवगत गराउनुभयो । 

व्यापारिक वर्गसँग छुट्टै भेट

राष्ट्रपति पौडेलले सोमबार नै जापानको राजधानी टोकियोमा त्यहाँस्थित प्रमुख व्यवसायी, उद्यमी र लगानीकर्ताहरूसँग छलफल गर्नुभयो । सो क्रममा उहाँले सम्बोधन गर्नुहुँदै जापानका व्यापारिक समुदायलाई नेपालमा व्यावसायिक अवसरहरूका बारेमा अवलोकन गर्न आमन्त्रित गर्नुभयो । उहाँले लगानीका लागि हरसम्भव सहयोग प्रदान गर्ने आश्वासन दिनुभयो ।

त्यस क्रममा नेपाली पक्षका व्यवसायीहरूले ‘नेपालमा व्यवसाय र लगानीका अवसरहरू’ बारे प्रस्तुति दिनुभएको थियो । लगत्तै जापानी व्यवसायीले अवसरबारे जिज्ञासा राख्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली व्यापारिक समुदाय तथा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट आपसी लगानी प्रवर्धनका बारेमा धारणा आदानप्रदान गरिएको थियो । 

यसैबिच राष्ट्रपति पौडेलले सोमबार नै टोकियोस्थित नेपाली दूतावासको भ्रमण गर्नुभयो । दूतावासका कार्यका बारेमा जानकारी लिँदै उहाँले त्यहाँस्थित सरकारी पदाधिकारीहरूलाई नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ पार्न भूमिका खेल्न निर्देशन दिनुभयो । त्यस्तै जापानमा रहेका नेपालीको हितको रक्षा गर्न तथा उनीहरूलाई कुशल सेवा प्रदान गर्न लगनशील भई काम गर्न पनि निर्देशन दिनुभएको दूतावासले जनाएको छ । 

जापानका सम्राट्सँग मङ्गलबार भेट

राष्ट्रपति पौडेल र जापानका सम्राट् नारुहितोसँग मङ्गलबार राजकीय भेटवार्ता हुने तय भएको छ । टोकियोस्थित इम्पेरियल प्यालेसमा हुने भेटमा आपसी सम्बन्ध र साझेदारीसँगै वर्तमान अवस्थाबारेमा छलफल हुने जनाइएको छ ।

मङ्गलबार नै जापानका प्रधानमन्त्री ताकाइची सानाएले पनि राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेलको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी सविता पौडेल, परराष्ट्रसचिव अमृतबहादुर राईलगायत रहनुभएको छ ।