२०५६ सालमा महोत्तरी जिल्लाको प्रशासकीय पगरी सम्हाल्ने मौका पाएको थिएँ । त्यतिबेर आसन्न निर्वाचन सम्पन्न गराउनुपर्ने प्रमुख पदीय दायित्व थियो । पहाडमा थुप्रै चुनाव गराए पनि त्यस जिल्लामा भर्खर खटिएका हामी सबै सुरक्षा प्रमुखलाई तराईको अनुभव थिएन । त्यसैले हाम्रासामु चुनौतीका चाङहरू महाभारत पहाड बनेर ठडिएका रहेछन् । सरुवा भएर जानेबित्तिकै स्थानीय शिक्षक, व्यापारी, नेता, सन्तमहन्त र भद्रभलाद्मीसँग कुराकानी गर्दा पो चुनाव सम्पन्न गराउने काम चानचुने होइन भन्ने थाहा भयो । अनि त चुनावमै केन्द्रित भएर बारम्बार बैठक बस्न थाल्यौँ ।
बाधा–व्यवधान हटाउने हाम्रो अभियानमा सबै जनसमुदाय र तप्का अटाउने रणनीतिबारे दैनिकजसो अबेरसम्म छलफल गर्दै रह्यौँ । मतदातालाई सुसूचित गरेर मतदानमा अनिवार्य सरिक गराउनु नै पहिलो र दुर्लङ्घ्य चुनौती देखियो । नत्र त एउटाको मतपत्र अर्कैले हालेर चौपट ! अनि लाग्यौँ एकगठ भएर देहातका गाउँटोल, रस्तीबस्तीको स्थलगत दौडाहामा ।
जिल्लाको सबै भेगभाग घुमेर वस्तुस्थिति बुझ्ने, मतदाता अभिप्रेरित गर्ने र सुरक्षाको प्रत्याभूति दिने कार्यक्रम तय थियो । जसअनुसार त्यस दिन प्रहरी र जनसम्पर्कका दुवै एसपी र यो पङ्क्तिकार प्रजिअसमेत जलेश्वरबाट जिल्लाको मध्य भेगतिर निस्किएका थियौँ । एसपी साहेबले चलाएको जापानी पिकअप गाडीमा बसेर मज्जैले गफिँदै देहातका थुप्रै गाउँबस्ती, खोलाखोल्सा, उखुबारी पार भएर भँगाहा गाउँ निस्किनै लाग्दा बीच बाटामा तेर्सिएको एउटा खोल्सी तर्नुपर्ने देखियो । झट्ट हेर्दा माझमा छिपछिपे पानी जमेको पोखरी सानो लागेको थियो तैपनि तराईका पोखरीको अन्दाज गर्न सकिन्न भन्ने भएर “ए ए पख्नोस् पख्नोस्” भन्दै थिएँ म तर बढी आत्मविश्वासले होला, गाडी हाँक्दै गरेका एसपी साहेबले मेरो भनाइ नसुनी हिलेपोखरीमा गाडी झ्वाम्मै हुली पो हाल्नुभयो ! त्यता प्रवेश गर्नेबित्तिकै अँगेरी खाएको बाख्रोजस्तै गाडी त फनफनी घुम्न पो थाल्यो । गाडी फस्दै गएपछि दह्रो गियर लगाएर उतार्न खोज्दै थिए एसपी साहेबले तर केही लागेन । पार गराउने हिम्मत गर्दागर्दै अत्याधुनिक पुस्ताको त्यो सुन्दर पिकअप गाडीले एक पटक मज्जैले हुङ्कारको आवाज दियो अनि फिसिसिस्स फ्वाँस्स्स्स गर्दै प्राणवायु छोडिदियो । पछाडिका दुवै चक्का अधोमार्गी बनेर झन्झन् भास्सिँदै गए । घडरक्–घुडुरुक्क गर्दागर्दै थोरै धुवाँ फालेर सुइँय आवाजसहित गाडीको स्टार्ट पूरै बन्द भयो । चारै चक्का र आधासरो ज्यान चुर्लुम्मै डुबाएर त्यो मजबुत जापानी गाडी देहातको एकान्त हिलेपोखरीमा थ्याच्चै थच्चिएर समाधिस्थ बन्यो !
आधासरो डुबेको गाडीबाट बल्लतल्ल ढोका खोलेर हामी ठूल्दाइहरू छाम्लाङछुम्लुङ गर्दै बल्लतल्ल पाखा लाग्यौँ । पछाडि बसेका सुरक्षकर्मी केटाहरू पनि हतारहतार उत्रिइहाले । धेरै भिजेकाले हामीचाहिँ जुत्ता, पाइन्टलगायतका कपडा निचोर्न थाल्यौँ । पानी निचोरिए पनि दबदबे हिलोमा लतारिएका कपडा आफ्नो असली पहिचान छोडेर विरूप देखिएपछि अर्को सास्ती पनि आइलाग्ने नै भयो ! यता पोखरीबाट गाडी तुरुन्तै निकाल्ने एसपी साहेबको आदेशको पर्रा बिजुली वेगमा छुटिहाल्यो । हामीसँगै गएका प्रहरी ठिटाहरूको बिजुली गारत पनि लारेलुरे तालको कहाँ थियो र ? आदेश छुट्नासाथ उनीहरू पनि भएभरको पाइन झिकेर अधिकतम बूताबर्कतसहित हर्कतमा आए । जलसमाधि लिएको गाडीलाई कोही पाखातिर घचेट्न र कोही टुचिन लगाएर अगाडि तान्न थाले तर तानतुन झाङ्गलझुङ्गल पार्दा सफा सुकिलो जापानी गाडी त प्रेमपूर्वक हिलोमा झन्झन् भास्सिन पो थाल्यो ! हुँदाहुँदै पोखरीको नरम, मांसल, मुलायम मायाजालमा सांसारिक प्राणीझैँ नजानिँदो किसिमले बिस्तारै झन्झन् फस्दै गयो । हामी हाकिम भइखाका ठूलेहरू भने हिलाबाट किनारा लागेपछि त झन् अजीव तालले अक्क न बक्क प-यौँ ।
भँगाहा गाउँ अलि परै देखिँदै थियो । हामी गाडी उतार्ने मद्दतको आशा लिएर त्यतै थियौँ तर उल्टै त्यतैतिर फाँटमा छाडा छोडिएको एउटा विशालकाय राँगो परैदेखि स्वाँफ्वाँ गर्दै र सिङ थापेर निहुँ खोज्दै हामी भएतिर आयो । गाउँले आउला भनेको त मुस्तण्ड राँगो पो आउँछ बा ! परबाट देख्दै कालो न कालो अनि विशाल अङ्ग अवयव भएको त्यो राँगो क्यालिफोर्नियाको ब्ल्याक माउन्टेन बिर्साउने खालकै धम्मरधुस लाग्दथ्यो । हामी सन्त्रास र भयका चस्कासहित जिल्लाराम पर्दै थियौँ ।
प्रहरी अफिसर, जवान गाडी उतार्नमा व्यस्त थिए । महिषासुरको कलियुगी अवतार भन्न सुहाउने दैत्याकार त्यो राँगो भने ठोसे सिङ उज्याएर गाडीको नगिच आई पो हाल्यो । हा हु गरेर त्यसलाई रोक्न खोज्दै थियौँ हामी तर ऊ त झन्झन् राता आँखा पल्टाएर फूँः फूँः गर्दै झनै सन्कियो र चारै खुट्टा फालेर उफ्रिँदै पट्टा खेल्न थाल्यो । उतिबेरै सिँगौरी खेलेर भुइँ खोस्रिदैँ र भित्तो उधिन्दै गाडी उतार्नमा व्यस्त रहेका सुरक्षाफौजको जिउज्यानमाथि नै धावा बोल्ने पोजिसन पो देखायो । बन्दुक उज्याएर खट्याक खट्याक पार्दा झनै निहुँ खोजेर हमीतिरै अगाडि बढ्यो । दहबाट गाडी उतार्दै गरेका प्रहरी गार्ड जवान पाखा उत्रिएर भागाभाग भए ।
हामी हाकिम भनाउँदा बबुराहरू पनि उनीहरूकै पछुवा इस्कर्टमा भागाभाग गर्न थाल्याैँ । भाग्ने कर्ममा हामी निकै सक्रिय भएकाले राँगाको डर पनि सासजस्तै बढिरहेको थियो तर इमानदार अनुशासित सुरक्षाकर्मीले हामी बढघर हाकिमको पिछा छोडेर आपूm अन्यत्र कुइँचमार ठोक्ने अधर्म गरेनन् । फौजी अनुशासनको पालना गर्दै हाम्रा पछाडि लागेर नै दौडिरहे । हामी भागेको देखेपछि विजेता शैलीमा राँगो झनै सन्किएछ कि कसो हो ? पुच्छर ठड्याउँदै र बुर्कुसी मारेर पट्टा खेल्दै दपेट्न थाल्यो । हामी पनि कडा प्रशासक पल्टिएर हडबडीमै सल्लाह पनि गर्दै थियौँ । हामीसँग राइफलको कमी त थिएन, निर्णय क्षमतामा पनि शङ्का गर्ने ठाउँ थिएन तर पनि हवाइ फायर गर्दा राँगो झन् बिच्किएर हिंस्रक तालले आइलाग्ने अनुमान ग¥यो हाम्रो टोलीले । आपूm दुई कदम पछि हटेर कूटनीतिक तरिकाले राँगालाई तह लगाउनु नै उपयुक्त ठान्यो उच्चस्तरीय टोलीले पनि । अनि भाग्यौँ मज्जैले !
हामी विपरीत दिशातर्फ भागाभाग गरेको देखेर राँगो झनै उत्साहित भएछ, सिङ थाप्दै, मुन्टो बटार्दै पछिपछि लागेर दपेट्न थाल्यो ! छाडा राँगो साँच्चिकै त्यो भूगोलभरिको आततायी तानासाह बनेर हामीलाई आक्रामक बनेर तर्सारहेको थियो । एकछिनका लागि हामी पनि इमानदार हरुवा भएर उसको अघिअघि भागी नै रहेका थियौँ । बाटो हिँड्ने तमासे नरनारी भने कहिल्यै कतै नदेखेको अभूतपूर्व राँगेजात्राका दृश्यले पेट मिच्दै हाँसोमै हराएर रमिता मनाइरहेका थिए । हातमा शस्त्रास्त्रको कमी त थिएन तर राँगोलाई ड्याङ्गै गोली ठोकेर ढालिहाल्नु पनि भएन । हवाइ फायर गर्दा तर्सिएर झन् साह्रो आक्रामक हुँदै आइलाग्यो भने ? यस्तै केके सोच्दै र धकाएको बोलीमा कुरा गर्दै दौडिँदै गयौँ । आधा किलोमिटरजति पर पुगेपछि बाटै किनाराको कच्ची घरभित्र पसेर ढोका थुन्दै बल्लतल्ल शिर जोगाएका थियौँ ।
पछाडिबाट लखेट्दै आएको राँगाले हामी त्यो कच्ची घरभित्र पसेको देखिहालेछ । ऊ पनि त्यही घरको ठ्याक्कै ढोकाबाहिर रोकियो । अनि अझै तुजुक देखाएर आँखा तर्दै भुइँ खोस्रिएर सिँगौरी खेल्न थाल्यो । कच्ची गारोमा हानेर हामी बसेको घरै भत्काउला भन्ने अर्को डर थपियो । यतिबेर जिल्लाको शन्तिसुरक्षा पूर्ण रूपले राँगाको किड्न्यापिङमा परेर सानो झुपडीभित्र कैद थियो । हामी हाकिम जवान सबैले कहिल्यै नभोगेको रमाइलो हाहाकार भोग्नुपरेको अनुभव गर्दै थियौँ । “रातो–पहेँलो लुगा लगाएका आइमाई र नीलो ड्रेसका प्रहरी देख्नै हुन्न यसलाई, ठाडै आइलाग्छ यो बदमास पड्के त । बीउका लागि सबै गाउँले मिलेर पालेको छाडा राँगो न ठह¥यो ! कहिलेकाहीँ त उसै साँढा पल्टिएर सोझासादा बटुवालाई समेत हैरान पार्छ यसले,” हामीले शरण लिएको घरका बूढामान्छेले राँगोरहस्य खोल्दै गए । त्यो क्षेत्रभरिकै लागि ब्याडका निम्ति पालेको साझा राँगो रहेछ । हिउँदबर्खै बालीनालीमा छाडा छोड्ने र कसैले नकज्याउने गरेकाले त्यस क्षेत्रकै निरङ्कुश पशुराज बनिसकेछ ।
घरधनीले बाहिर निस्किएर हा हु गर्दै जति हप्काए पनि केही नसुनी हाम्रो खेदो गर्दै घरबाहिर बाटोमा सिँगौरी खेलिरहेकै थियो । घरबूढाको सुझावअनुसार हामी पनि मोर्चा कसेर प्रत्याक्रमणको तयारीमा आपसमा सल्लाह गर्दै घरभित्र चुपचाप दुम्किएका थियौँ । खपडाको छाना र काँचा इँटको गारो भएको त्यही कच्ची घर पनि सिँगौरी खेलेर भत्कायो भने ? यो महिषासुरको के ठेगान ? अर्को ठूलै समस्या खडा थियो हामी सुरक्षा अधिकारीसामु ।
“हेर हेर सुरक्षा प्रमुखको दुर्गति ! हेर हेर विचराहरूको
ताल ! एउटा राँगोले त सातो लियो, अब त्यत्रो आमनिर्वचन कसरी पार लगाउला यार ?” आपसमा यस्तै ठट्टा र पानीआन्द्रे कुरा गर्दै हाँसिरहेका थियौँ हामी । घरभित्र लुकेको पनि पाँच–सात मिनेट बितेछ । शरण लिएकै घरबूढाको भनाइ पत्याएर प्रहरी जवानलाई नीलो युनिफर्म खोलेर कट्टु–गन्जी मात्रै लगाउन अह्रायौँ । अनि त्यसै घरका बर्खे दाउरा र भाटा झिकेर उज्याउँदै राँगामाथि जाइलाग्न हाम्रा सुरक्षा सेनालाई ‘युद्ध मोर्चा’मा खटायाैँ । राँगो पनि सडकको जमिन खोसिँ्रदै र फाँ फुँ गर्दै घरको सामुन्ने डटिरहेकै थियो । लाठी आक्रमणको बेला हाम्रा ठिटाहरू हारेको खण्डमा हवाइ फायर गर्ने र अझै नटेरेर थप आइलागेको अवस्थामा शस्त्रबल प्रयोग गरेर छुसी राँगालाई संसारबाटै बिदा गरिदिने अनि जो लागेको अर्मल (क्षतिपूर्ति) तिर्ने निर्णयमा समेत पुगेका थियौँ । ठोक्यौँ मौखिक सल्लाह जे त पर्ला भनेर !
लाठा र बन्दूकसहितका हाम्रा सहायक प्रहरी जवान घरबाहिर ह्वाह्र्वार्ती निस्किए । यतिबेर औपचारिक ड्रेसविहीन भएकाले उच्च मनोबलले जाइलाग्ने मनःस्थितिमा थिए उनीहरू । हामी पनि पछिपछि निस्कियौँ । पुरानो ड्रेस फेरेर आएका लाठाधारीहरूको अनपेक्षित जमात देखेर राँगो अलि हच्किएछ, भुइँ खेस्रिन छोडेर ठाडो शिर लगायो र एकछिन विचारमग्न बन्यो । यता मौका छोप्न किन चुक्थे प्रहरी जवान ? हा हु गरेर बाटो र भित्तातिर दुई–चार लाठा बजारीहाले । दह्रो दलबल र चर्को आवाज सुनेर दच्किएको राँगाले फरक्क फर्किएर अभैm एक पटक राता आँखा तरेर फाँ फुँ गर्दै पख्लास् भनेझैँ ध्वाँस दियो । अनि आफ्नो बलबुताको प्रदर्शनसहित उल्टो दिशाको बाटो ततायो । हामी पनि चाहिनेभन्दा बढी नै हौसिएर आक्रामक बन्दै उसको पछि लाग्यौँ । एकै स्वरले बोल्दै हाम्रो जमातले हकारेपछि राँगो पनि थर्कमान भएर छेरुवा दाऊ देखाउँदै परपर कुइँचमार ठोक्यो ।
महिषासुरमाथि विजय हासिल गरेपछि हाम्रो मनोबल पनि शप्तशती चण्डीमा वर्णित रणचण्डीकै दाँजोमा उच्च तहमा पुग्यो । अनि निकै ताउरमाउर देखाउँदै हिलेपोखरीमा समाधिस्थ भएको गाडी उतार्नतिर लाग्यौँ । यसो गाडी चलाउँदैमा हाम्रो टोलीको बलबुताले मात्र पार नलाग्ने कुरा ज्ञात हुन आयो । मद्दतका लागि गाउँका मुखियाजीहरूलाई प्रहरी ठिटामार्फत आग्रहको सन्देश पठायौँ । एकैछिनमा थुप्रै गाउँले जम्मा भए । कसैकसैले गँडासा, फरुवा, कोदाली त कसैले साबेल, गैंती, कोदाला ल्याएका रहेछन् । हिलो फाल्ने र टुचिन लगाएर गाडी पाखामा निकाल्ने काम छिनभरमै युद्धस्तरमा चालू भयो । महिनौँ थलिएझैँ आहाल बसेको मधौरु गाडी उत्रिएपछि थाहा भयो– निख्खुर नीलो रङको चिल्लो जापानी गाडी त दबदबे हिलोमा फँसेर हेरिनसक्नु कुरूप बनेछ । निकै कसरतसाथ धोइपखाली गरेपछि बल्ल गाडी त कामचलाऊ देखियो तर स्टार्ट गर्न लाग्दा धोद्रे आवाज निकालेर राँगालेभन्दा बढी थर्काउन थाल्यो । साइलेन्सर पाइप दहभित्रको कडा चट्टानमा म्वाइँ खान पुगेर छियाछिया भएछ । अनि स्थानीय मिस्त्री बोलाएर ठोकठाक, कसकासजस्ता अनेकथरी लोकल उपचार गरेपछि बल्ल कामचलाऊ हालतमा फिटफाट बनेको थियो ।
हाम्रो समस्या अर्को पनि चर्कै थियो । फेरफार गर्ने छुट्टै जोर कपडा लगेका थिएनौँ । भर्खर आहालमा डुबेका चिसा हिलाम्मे कपडा भिरेर गाउँ डुल्न अप्ठ्यारो लाग्यो । तिनै कपडा देखाउँदै हिँडेको खण्डमा उत्ताउला केटकेटीहरूले त ठूला हाकिम भनेका हिला कपडा लगाएर हिँड्ने जात्रु पाराका हुँदा रहेछन् भन्न पनि बेर थिएन । त्यसैले मोटरभित्रैबाट बाटो आसपास बसोवास गर्ने भद्रभलाद्मी र मुखियाजीहरूलाई बोलाउँदै गयौँ । अनि सुरक्षित मतदान र निष्पक्ष निर्वाचनबारे स्पष्टीकरण दिँदै तथा गाउँलेका समस्याबारे थप जानकारी लिँदै र भलाकुसारी गर्दै जलेश्वर फर्किएका थियौँ ।