• २ असार २०८१, आइतबार

बोलबम पदयात्राको तयारी

blog

कास्की, असार ३२ गते । केदारेश्वर महादेवमणि बोलबम धाम बैदामले बोलबम पदयात्रासहित जलार्पण कार्यक्रम गर्न लागेको छ । बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुने गरेको छ । २० वर्षदेखि निरन्तर चलेको बोलबम जलयात्रा कोभिड १९ का कारण विगत दुई वर्षयता हुन सकेको थिएन ।

बोलबम समितिका अध्यक्ष शङ्कर खरालले बोलबमको पूर्वसन्ध्यामा असार ३२ गते शनिबार मोटरसाइकल ¥याली निकालिने जनाउनुभयो । साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मणि बोलबम धाममा जलार्पण गरिने खरालले बताउनुभयो । 

“जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गर्ने कार्यक्रम छ । बोलबम धाममा मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधानादेखि विशिष्ट विद्वान्बाट धार्मिक प्रवचन हुनेछ,” उहाँले भन्नुभयो । अध्यक्ष खरालले हरेक सोमबारको साँझ सन्ध्याकालीन आरती हुँदै आएकामा बोलबममा झनै विशेष हुने बताउनुभयो । 

पहिलापहिला नेपालबाट बोलबमको लागि भारत जाने गरिएकामा अहिले भारतबाट नेपाल आउन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार १५ वर्षअघि केदारेश्वरमा सुरु गरेको बोलबम अहिले यहाँको संस्कृति बनेको छ । 

केदारेश्वर महादेवमणि सेवा आश्रमका पीठाधीश डा. लेखनाथ आचार्यले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको जानकारी दिनुभयो । उहाँले बोलबममा साकार र निराकारका रूपमा शिवको आराधना गरिने जनाउनुभयो । बोलबमको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनदेखि आर्थिक गतिविधि बढाउन सहयोग पुगेको दाबी गर्दै उहाँले पछिल्लो समयमा सुस्ताएको पर्यटन, धार्मिक गतिविधिलाई बढाउने उल्लेख गर्नुभयो । उहाँले भोलेबम, भोलेबम हुँदै परिस्कृत रूपमा बोलबम भएको जानकारी दिनुभयो । साउन भगवान् शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ ।