• २ असार २०८१, आइतबार

आगामी निर्वाचनसम्म गठबन्धन : अध्यक्ष यादव

blog

वीरगञ्ज, असार ३२ गते । जनता समाजवादी पार्टी ( जसपा )ले आगामी सङ्घ र प्रदेशको निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।  वीरगञ्जमा बसेको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जसपाका केन्द्रीय अध्यक्ष यादवले निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताउनु भएको हो । 

शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक संसद् विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई स्थिरतातर्फ अगाडि बढाएकाले गठबन्धनको निरन्तरता आवश्यक रहेको बताउनु भयो ।   स्थानीय तहको निर्वाचनमा केही तिता अनुभव भए पनि आगामी निर्वाचनमा पनि तालमेल गरेर जाने उहाँले बताउनु भयो । 

उहाँका अनुसार जसपाको केन्द्रीय समिति बैठकले सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित नौ जनालाई पद मुक्त गर्ने निर्णय गरेको छ । भट्टराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरू महेन्द्रराय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गङ्गा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनु भयो । 

पार्टीको विधान, नीति र अनुशासनविरुद्ध गतिविधि गरेकाले बाबुरामलाई सङ्घीय परिषद् अध्यक्षका साथै पार्टीका सम्पूर्ण पद तथा जिम्मेवारीबाट मुक्त गरिएको यादवले बताउनु भयो । अब आगामी दिनमा पनि उहाँको गतिविधि यस्तै रह्यो भने उहाँविरुद्ध पार्टीले अझ कठोर निर्णय लिनेछ तर यदि सच्चिएर आउनु हुन्छ भने चाहिँ पार्टीको ढोका खुला नै छ । अध्यक्ष यादवले भन्नुभयो । 

बैठकले पार्टीको सङ्घीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष यादवले बताउनु भयोे । संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक फास्ट ट्रयाकबाट छिट्टै पारित हुने उहाँले बताउनु भयो । अहिले संसद्मा पेश भएको नागरिकतासम्बन्धी विधेयकमा कुनै पनि प्रकारका (वंशज, अङ्गीकृत वा जन्मसिद्ध) नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउने प्रावधान समावेश गरिएको दाबी गर्नुभयो । 

पत्रकार सम्मेलनमा जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले जसपाको वीरगञ्ज बैठकले पार्टी विभाजन गर्न खोज्नेलाई एउटा किनारामा छाडेर पार्टी मूल प्रवाहमा अगाडि बढेको दाबी गर्नुभयो ।  पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्री प्रदीप यादव, केन्द्रीय कार्यकारणी सदस्यहरू रामसहाय यादव, सुशीला श्रेष्ठ, सङ्घीय सांसद नरमाया ढकाल, वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवलगायतको उपस्थिति थियो । 

Author

दीपकप्रसाद गौतम