अध्यापन वा पठनपाठन गर्ने काम शिक्षण कला हो । यो कला व्यक्तिपिच्छे फरक हुन्छ । अनुभवका हिसाबले विगत करिब ३६/३९ (विसं २०४३–२०४६) वर्ष अगाडिको कुरा हो । त्यस बखत मैले माध्यमिक तहमा गणित तथा विज्ञान विषय पठनपाठन गराउँदै आइरहेको थिएँ । त्यतिबेला मलाई पाठ्यक्रमको महत्व र सो अनुसार अध्ययन अध्यापन गर्ने खासै चेत खुलेको थिएन । त्यतिबेला अहिले जस्तो अनलाइनबाट सामग्री पाउने कुरा सहज थिएन र पाठ्यक्रम उपलब्ध गराउने चलन निकै कम थियो । त्यसैले पाठ्यपुस्तकलाई नै आधार मानेर पठनपाठन गर्ने प्रचलन थियो । तथापि कहिलेकाहीँ समयमै पाठ्यपुस्तकको अभाव खड्किरहन्थ्यो । सो समय अन्तरालमा मैले विज्ञान शिक्षा विकास एकाइ पाल्पामा माध्यमिक तहको विज्ञान शिक्षकका लागि सञ्चालन गरिएको तालिममा दुई पटक भाग लिने मौका पाएको थिएँ । मलाई सम्झना भए अनुसार त्यतिबेला भरखर माध्यमिक तहको पाठ्यक्रम परिवर्तन भएको थियो । त्यसो भएकोले कक्षा ८, कक्षा ९ र कक्षा १० को परिवर्तित पाठ्यक्रम उपलब्ध गराइएको थियो । सो पाठ्यक्रम पाएपछि मैले वल्टाइ पल्टाइ गरी राम्ररी अध्ययन गरेको थिएँ ।
विषयगत पाठ्यक्रम प्रभाव
विषयगत पाठ्यक्रमको राम्ररी अध्ययन गरेको भएर मैले निमावि तहमा विज्ञान तथा गणित शिक्षकमा शिक्षक सेवा आयोगको परीक्षाबाट स्थायीमा नाम निकालेर सिफारिस भएको थिएँ भने केही वर्षपछि मावि तहको गणित शिक्षकका लागि शिक्षक सेवा आयोगको परीक्षा दिएर अन्तर्वार्तालगायत पास गरी सिफारिस भएको थिएँ । परीक्षाको परिणाम आउन ढिला भएको र त्यो बिचमा क्याम्पसतिर पढाउन थालिसकेकाले ती दुवै तहमा स्थायी रूपमा नाम निकालेर पनि मैले पढाउने परिवेश मिलेन र मैले नियुक्ति लिइनँ । क्याम्पसको स्नातक तहमा पठनपाठन गर्दा खास गरी बिएड तहका विद्यार्थीलाई मावि तहमा गणित शिक्षण कसरी गर्ने भन्ने विषयवस्तुलगायतका सामग्री रहेको विषय पढाउने र त्यो कोर्षमा पाठ्यक्रमको बारेमा पनि अध्ययन अध्यापनको विषयवस्तु रहेको र सो पढाउनुका अलावा मावि तहको गणित पाठ्यक्रम पनि राम्ररी अध्ययन गरेर सो अनुसार विद्यार्थीलाई पठनपाठन गरेकाले बिएडको गणित शिक्षण विषयमा अधिकांश विद्यार्थीले राम्रो अङ्क ल्याएर पास भएका थिए ।
गणित लिने अन्य सङ्कायका विद्यार्थीलाई पनि गणित पढाइरहँदा त्यसमा पनि राम्रै सङ्ख्यामा विद्यार्थी पास भएका थिए । त्यति मात्र होइन पाठ्यक्रमलाई ख्याल गरेर पढ्ने पढाउने गरेकोले स्नातक तहको एनालाइसिस, अलजेब्रा तथा जियोमेट्री, भेक्टर एनालाइसिस र क्यालकुलसलगायतका विषयमा मेरा विद्यार्थीले राम्रो अङ्क ल्याएर धेरै विद्यार्थी पास भएको पाउँथे । मैले त्रिवि सेवा आयोगको गणित विषयको उपप्राध्यापकको विज्ञापनमा शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र, विज्ञान तथा प्रविधि र व्यवस्थापन गरी चारै संकाय (संस्थान) मा नाम निकाल्न सफल भएको थिएँ । यसो हुनुमा मेहनत र मावि तथा क्याम्पस तहको प्रविणता प्रमाण पत्र तह, स्नातक तह र स्नातकोत्तर तहको पाठ्यक्रममा ध्यान पु¥याएर पढ्ने र पढाउने गरेरै सफलता प्राप्त भएको थियो । एकै जनाले सबै तहमा सबै विषय पढाउन त सम्भव पनि हुँदैन तर सम्बन्धित विषयको पाठ्यक्रम चाहि प्रायः सबै तहको पढेर र मनन गरी स्तरीकरण गरी विषयवस्तुको गाम्भीर्यतालाई ख्याल गर्न सकिन्छ भन्ने मेरो अनुभव छ । त्यसरी विषयगत पाठ्यक्रमको गहन अध्ययन भयो भने उक्त विषयका सेवा आयोगलगायतका परीक्षामा पास गर्न र कक्षा कोठामा पढाउन पनि सहज हुन्छ ।
लगनशीलताबाट प्राप्त दिशानिर्देश
पठनपाठन तथा शिक्षणमा पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य र शिक्षण विधि तथा सम्भाव्य शिक्षण सामग्री र त्यसको प्रयोग, मूल्याङ्कन प्रक्रिया तथा मूल्याङ्कन परिपाटी एवं पठनपाठनमा विषयवस्तुलाई समेट्ने र सुहाउँदो उदाहरण दिने कामलाई बढी ख्याल गरेर शिक्षण गरे राम्रो नतिजा निस्कने तथ्य विविध अध्ययन अनुसन्धानबाट देखिन्छ । त्रिभुवन विश्वविद्यालयका सेवा आयोगका हरेक पटक बढुवाका लागि आयोगको परीक्षामा मैले एकै पटकमा अग्रपङ्क्तिमै नाम निकाल्न पनि सफल भएको थिएँ । यो मेरो र मेरा विद्यार्थीको उपलब्धि विषयगत पाठ्यक्रममा ध्यान दिएर नै भएको मलाई अनुभूति भएको छ । पठनपाठनमा सफलताका लागि विषयगत पाठ्यक्रमको अध्ययन प्रमुख कारक हुन्छ । यसले विषयगत चेतनाको स्तर बढाउँछ । यो अनुभव प्रेरणाका लागि यहाँ उल्लेख गर्न खोजिएको हो ।
नतिजा बिग्रनु र सोचेजस्तो परिणाम नआउनुमा पाठ्यक्रममा ध्यान नपुग्नु र त्यसको अध्ययन गरी त्यसलाई कार्य क्षेत्रमा उतार्न नसक्नु मुख्य समस्या हो । पाठ्यक्रमको सन्दर्भमा अहिले विभिन्न शिक्षाविद् तथा विज्ञले विभिन्न सन्दर्भमा शिक्षकले पाठ्यक्रम नहेर्ने वा कम हेर्ने वा त्यसलाई महìव नदिने गरेकाले विषयगत गाम्भीर्यता शिक्षकमा कम भएको बताउँछन् । शिक्षक साथीहरूले पनि आफूहरूले पाठ्यक्रममा कम ध्यान दिएको भन्न हिच्किचाउँदैनन् । अतः शिक्षक साथीहरूले आफ्नो विषयगत पाठ्यक्रममा ध्यान दिएर मनन गर्नु पर्छ । पाठ्यक्रम नहेरी पढाइएको पढाइ र सिकाइ पूर्ण हुन सक्दैन । पाठ्यक्रममा बढी ध्यान नदिइएको कारणले शिक्षकले बढी मेहनत गरेर पठनपाठन गरे तापनि पाठ्यक्रमको समुचित प्रयोग र विषयवस्तुको समायोजन गर्न नसकेर आयोगमा शिक्षक स्वयम् असफल हुने र पाठ्यक्रमको गाम्भिर्य अनुकूल विद्यार्थीलाई शिक्षण गर्न नसकिएकाले राम्रो नतिजा नआएको हो भन्न सकिन्छ । शिक्षक साथिहरूले आफू र आफ्ना विद्यार्थीलाई सफल बनाउन आफू र विद्यार्थीलाई समेत पाठ्यक्रममा हेक्का पु¥याउन लगाउनु वाञ्छनीय हुन्छ ।
शिक्षणमा विषयगत महत्वलाई पनि जोड्नु पर्छ । सो विषय किन पढाइएको हो स्पष्ट हुनु पर्छ । उदाहरणका लागि गणितको महत्वलाई लगधले वेदाङ्ग ज्योतिषमा भन्नु भएको गणितसम्बद्ध वाक्यांश हेरौँ–“यथा शिखा मयूराणां, नागानां मणयो यथा, तद्वद् वेदांगशास्त्राणां गणितं मूर्धनि स्थितम्” अर्थात्, जसरी मयुरको शिरमा ‘कल्की’ हुन्छ, नागको शीरमा ‘मणी’ हुन्छ, त्यसै गरी सबै शास्त्र वा विषयको शिरमा गणित हुन्छ, । यस्ता भनाइलाई आआफ्नो विषय अनुसार शिक्षकले मनन गर्दै त्यस विषयको पठनपाठनको औचित्य बताउँदै शिक्षण गर्नु पर्छ । शिक्षकले कुनै पनि विषय गाह्रो होइन भन्ने अवधारणा राखेर सही शिक्षण विधिको चयन गर्न सक्नु पर्छ । शिक्षकले विषयवस्तुलाई प्रयोगात्मक तथा व्यावहारिक बनाउन र विषयगत सकारात्मक सोच बनाउन घरघरमा प्रयोग भएका काम तथा गतिविधिमा त्यस विषयको प्रयोगलाई चर्चा गरिदिनु पर्छ । शैक्षिक क्षेत्रको विकास र प्रवर्धनलाई अगाडि बढाउन तल्लीन शिक्षक साथीहरूले सामान्य बाटो काट्ने, भान्सामा खाना पकाउने इत्यादि काममा कसरी सो विषयको प्रयोग भएको छ ? त्यसलाई देखाउँदै र हरेक दैनिक कामलाई विषयगत आँखाले हेरेर ध्यान दिँदै विद्यार्थीमा सम्बन्धित विषयको महत्व बुझाउन सक्नु पर्छ । त्यसो गर्न सक्नु शिक्षकको आधारभूत ज्ञान, सिप, दायित्व र विषयगत सामाजिक चेतना हो ।
शिक्षकले विषयगत सुन्दरताको उदाहरण दिनु पर्छ । शिक्षकले कक्षा कोठामा विषयवस्तु पढाउनु भन्दा पहिला जिवनमा सो विषयको प्रयोग क्षेत्र र उपादेयतालगायतका विषयवस्तुमा खुलस्त जानकारी र उदाहरण दिनु पर्छ । यसरी विषयवस्तुप्रति विद्यार्थीमा एक किसिमको मायामोह र विषयगत भोक जगाउनु पर्छ ।
शिक्षकले विद्यार्थीलाई पठनपाठनमा आकर्षण गर्न तल्लो कक्षाको सामान्य विषयवस्तुको जानकारी दिँदै उपल्लो कक्षाको विषयवस्तुमा डोहो¥याउनु पर्छ । हाम्रा सनातनी विधि प्रविधि, दैनिक जीवनमा त्यो विषयको समायोजन, त्यसले समाजमा पारेको सहजतालाई विद्यार्थीबाट जानकारी लिन धैर्यपूर्वक तयार रहनु पर्छ । विद्यालयमा विद्यार्थी र शिक्षक मिलेर शिक्षण सामग्री सङ्कलन, निर्माण तथा पठनपाठनमा प्रयोग गर्नु पनि शिक्षकको अर्को महìवपूर्ण कार्य तथा ज्ञान हो । शिक्षकले आवश्यक शब्दपत्ति, वाक्यपत्ति, ज्यामिति बक्स, पजलबक्स, किटबक्स र हाम्रा वरपर पाइने खेर गएका सामग्री आदिको प्रयोग गर्दै विभिन्न माध्यमबाट विद्यार्थीलाई सक्रियता साथ इङ्गेजमेन्ट गराई शिक्षण गर्न सक्ने गुणको विकास गर्नु पर्छ ।
विद्यार्थीले गल्ती गरे पनि आफ्ना मौलिक धारणा राख्न सक्ने अवस्था कायम गर्दै बालमैत्री वातावरण कायम गरी जीवनमा उपयोगी हुने खालका विषयवस्तु समावेश गरी पाठ्यक्रममा सुधार गर्दै स्वतन्त्र सिक्ने वातावरण कायम गर्न विद्यार्थीका लागि सहयोगी र सहृदयी बन्नु पर्छ शिक्षक ।
निष्कर्ष
पठनपाठन गर्ने विषय सजिलो छ । पठनपाठनमा आउने विषय बिहान उठेदेखि साँझ नसुतेसम्म र जन्मदेखि मृत्युपर्यन्त प्रयोग हुन्छ । त्यसैले त शिक्षकले विद्यार्थीलाई जीवनका हरेक क्रियाकलापमा नङ र मासुको जस्तो सम्बन्ध रहेको विषयबारे जानकारी दिनु पर्छ । भान्साकोठा, चर्पी, आँगन, आफ्नो कोठा, बाटोघाटो, बगैँचा, करेसाबारी, कुलो, नहर, पुल पुलेसा सबैतिर के कसरी प्रयोग भएको छ सो देखाउन सक्नु पर्छ । शिक्षकले पढाउँदा विषयगत तथ्य व्यावहारिक र सामाजिक परिवेशमा आधारित बनाउन सक्नु पर्छ । शिक्षकले बालकलाई शिक्षा दिँदा र लिँदा आफ्ना अनुभवबाट प्राप्त ज्ञानलाई अन्तस्करणमा जोड्दै चेतनाको स्मरण गराउन सक्नु पर्छ ।