केशव राज भट्ट
वाशुलिङ बैतडी, माघ १० गते । लामो समयदेखि वर्षा नहुँदा हैरानी खेपिरहेका बैतडीसहित सुदूरपश्चिमका जिल्लामा शुक्रबार भएको वर्षा र हिमपातले किसानलाई ठुलो राहत पुगेको छ ।
महिनौदेखि वर्षा नहुँदा खडेरी परेर गहुँलगायत हिउँदे बाली सुक्न थालेको अवस्थामा वर्षा र हिमपात भएपछि कृषकले राहत महसुस गरेका हुन् । लामो समयपछि वर्षा भएपछि सर्वसाधारण र किसानमा खुसीयाली छाएको बैतडी सूर्नया गाउँका किसान देवसिंह ऐरीले जानकारी दिनुभयो ।यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–४ का किसान धर्मराज भट्टले करिब छ–सात महिनापछि परेको वर्षा र हिमपातले बालीनाली सप्रिने आशा पलाएको बताउनुभयो । उहाँका अनुसार यसले हिउँदे खेतीलाई ठुलो राहत पुर्याउने विश्वास गरिएको छ ।
बैतडी जिल्लाका अधिकांश भू–भागमा हिमपात भएको जनाइएको छ । सतबाँझ, खोड्पे, डोल्यामोड, अनारखोली, ग्वालेक, सिगासलगायतका क्षेत्रमा अधिक मात्रामा हिमपात भएको स्थानीयले बताएका छन् ।
शुक्रबार अपराह्नदेखि परेको वर्षा र हिमपातपछि किसानलाई खेतबारी खनजोत गर्न तथा आगामी बर्खे बाली लगाउन सहज हुने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । केन्द्रका अनुसार यसबाट हिउँदे बालीलाई ठुलो लाभ पुग्ने अपेक्षा गरिएको छ ।
यता, चिसो मौसममा पानीसँगै हिमपात भएपछि अत्यधिक चिसो बढ्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।