• १० माघ २०८२, शनिबार

कांग्रेसको चुनावी यात्रा

भावी प्रधानमन्त्रीमा थापा प्रस्तुत

blog

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठक । तस्बिर : रासस

ललितपुर, माघ १० गते । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै  चुनावी मैदानमा उत्रिने निर्णय गरेको छ । दोस्रो विशेष महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति पहिलो बैठकले शुक्रबार प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको हो । 

उपसभापति विश्वप्रकाश शर्माले बैठकपछि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्यतः पाँच आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले पृष्ठभूमि, प्रधानमन्त्रीका उम्मेदवारको संस्कार, योगदान, योग्यता र देशलाई कसरी हाँकेर जाने भन्ने वैचारिक दृष्टिकोणका आधारमा प्रस्तुत गरिएको प्रस्ट पार्नुभयो । 

उहाँले कांग्रेसले निर्वाचन सम्पन्न भएपछि पार्टीका कुन नेताले देशको नेतृत्व गर्न उपयुक्त हुन्छ भनेर प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रचलन रहेको स्मरण गर्दै जेनजी पुस्ता, युवा र समग्र देशले चाहेको रूपान्तरणका पक्षमा कांग्रेसलाई सशक्त उभ्याउन दूरगामी निर्णय लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वटा मापदण्डका जगमा निर्णय गर्दा अहिले प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारमध्ये कांग्रेसले प्रस्ताव गरेकै उम्मेदवार नै अब्बल नम्बरका साथ अघिल्लो पङ्क्तिमा उभिन सक्ने तथ्यका साथ यो निर्णय गरिएको हो ।”

उपसभापति शर्माले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने नवीनतम अभ्यासको सुरुवात भएको बताउनुभयो । उहाँले मतदातालाई कसलाई भोट दिँदै छौँ, भविष्यको प्रधानमन्त्री को हो भन्नेबारे पहिले नै स्पष्ट पार्ने रणनीति र जेनजी पुस्ताको भावना तथा सुशासनको मागलाई सम्बोधन गर्न कांग्रेसको नवीन अवधारणा अनुसार सभापति थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको प्रस्ट पार्नुभयो । बैठकमा सभापति थापालाई उपसभापति शर्माले प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव र उपसभापति पुष्पा भुसालले समर्थन गर्नुभएको हो । 

समिति गठनको निर्णय 

कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ । प्रवक्ता चालिसेका अनुसार कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय पनि भएको छ । उहाँले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने र कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय भएको बताउनुभयो । 

बदल्यौँ कांग्रेस, बदल्छौँ देश

सभापति गगनकुमार थापाले दोस्रो विशेष महाधिवेशनमार्फत कांग्रेसलाई बदलेर आएको प्रस्ट पार्नुभयो । केन्द्रीय कार्यालयमा सभापति पदको पदभारग्रहण गर्दै निर्णय पुस्तिकामा उहाँले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश, यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति’ लेख्नुभयो । पदभारग्रहणपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो कांग्रेस आफैँ बदलिएको होइन, यो कांग्रेस हामीले बदलेका हौँ । बदलेर आएको हो । यो कांग्रेस बदलिएको हो, हामीले कांग्रेस बदल्यौँ, हामीले बदलेको हुनाले यो कांग्रेस बदलिएको छ र यो बदलिएको कांग्रेसले यो देशलाई पनि बदल्छ ।” सभापति थापाले कांग्रेस सम्पूर्ण शक्तिका साथ निर्वाचनमा होमिएको उद्घोष गर्दै सिङ्गो पार्टी एक ढिक्का भएर मतदाता माझ जान नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो । 

उहाँले कांग्रेसका मतदाताले यस पटक ‘रुख’ मा मात्रै मतदान गर्ने र कांग्रेसका मुद्दा लिएर नागरिकका बिचमा जाने बताउनुभयो । साथै उहाँले निर्वाचन प्रचारप्रसार पनि अत्यन्त सभ्य ढङ्गले गर्ने बताउनुभयो । उहाँले विशेष महाधिवेशन औचित्यपूर्ण र आवश्यकताका आधारमा गरिएको प्रस्ट पार्दै उम्मेदवार चयनमा अझै सुधार गर्ने, सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जागरणका साथ अघि बढ्न प्रतिबद्ध 

उपसभापति विश्वप्रकाश शर्माले विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै अबको दशकका लागि नवीन जागरणका साथ जाने दृढता व्यक्त गर्नुभयो । उहाँले देशको विशिष्ट परिस्थितिलाई दृष्टिगत गरेर कांग्रेस अघि बढ्ने बताउनुभयो । कांग्रेसले विनम्रतापूर्वक क्षमायाचना गर्ने, नयाँ सङ्कल्प गरी नयाँ दृष्टिकोणका लागि जेनजी आन्दोलनमा उठेका मुद्दालाई सबल ढङ्गले नेतृत्व गर्ने गरी निर्वाचनको मैदानमा जाने उहाँले बताउनुभयो । यसअघि कांग्रेस २०५६ सालको निर्वाचनमा संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

यसैबिच दोस्रो विशेष महाधिवेशनबाट निर्वाचन कांग्रेसका पदाधिकारीले पनि शुक्रबारै पदभार ग्रहण गर्नुभएको छ । साथै केन्द्रीय कार्यसमिति सदस्यहरूले पनि प्रमाणपत्र ग्रहण गर्नुभयो । नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय कार्यालय सानेपा पुग्दा नेताकार्यकर्ताले स्वागत गर्नुभयो । पुस २७ देखि ३० सम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको हो ।