• १३ साउन २०८१, आइतबार

जसपा यादव पक्षको केन्द्रीय समिति बैठक सुरु

blog

वीरगञ्ज, असार ३० गते । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्यको सहभागितामा बुधबार वीरगञ्जमा केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा सहभागी हुन मङ्गलबार वीरगञ्ज आउनु भएका अध्यक्ष यादवले बुधबार दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठकको उद्घाटन गर्नुभएको हो । 

वीरगञ्जको नगर सभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीका वरिष्ठ नेता अशोक राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राइन, वन तथा वातावरणमन्त्री प्रदीप यादव, सङ्घीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, केन्द्रीय सदस्य आङ्गकाजी शेर्पा, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीलगायतको सहभागिता रहेको केन्द्रीय सदस्य फिरोज मन्सुरले जानकारी दिनुभयो ।

बिहीबारसम्म चल्ने उक्त बैठकमा ३२ कार्यकारिणी सदस्यमध्ये २४ जना र ४९९ केन्द्रीय सदस्यमध्ये ३५० जनाभन्दा बढीको सहभागीता रहेको केन्द्रीय सदस्य एवम् वन तथा वातावरणमन्त्री प्रदीप यादवले दाबी गर्नुभयो । यसअघि मङ्गलबार जसपाका दुई प्रमुख नेतामध्ये डा. बाबुराम भट्टराईले काठमाडौँमा आफ्ना पक्षका सदस्यको सहभागितामा विस्तारित बैठक सुरु गर्नुभएको थियो । उक्त बैठकमा महिन्द्रराय यादव, गङ्गानारायण श्रेष्ठ, रमेश यादव र हिसिला यमी भट्टराईलगायतका नेताको सहभागिता थियो । 

२०७६ वैशाख २३ मा तत्कालीन सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो भने समाजवादी पार्टी २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टी (राजपा)सँग मिलेर जसपा बनेको थियो । नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधान अनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यादवबीच मनमुटाब बढ्दै गएको थियो ।

Author

दीपकप्रसाद गौतम