• ३ माघ २०८२, शनिबार

राष्ट्रिय लिग : आर्मीसँग मनाङको लज्जासपद हार

blog

बल खोस्ने प्रयास गर्दै आर्मी र मनाङका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ ३ गते । मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग लज्जासपद हार खेपेको छ । 

दशरथ रङ्गशालामा शनिबार भएको खेलमा आर्मीले मनाङलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा आर्मीलाई जिताउन निराजन धामीले दुई तथा नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पीजङ्ग कार्कीले एक एक गोल गर्नु भयो ।

खेलभर मनाङलाई दबाबमा राखेको आर्मीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो । लिगको पहिलो जितसँगै आर्मीले तीन अङ्क बनाएको छ । 

यस्तै एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा शनिबार नै भएको अर्को खेलमा चितलाङ एफसीले राष्ट्रिय जनजागृति युवा क्लबलाई २–१ गोलले हरायो । जितसँगै चितलाङले तीन अङ्क बनाएको छ । जनजागृतिले हारबाट लिगको सुरुवात गरेको छ ।

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।