• २७ फागुन २०८२, बुधबार

धरानमा श्रमसंस्कृति पार्टीको धन्यवाद तथा सुझाव र्‍याली

blog

श्रमसंस्कृति पार्टीले धरानमा आयोजना गरिएको धन्यवाद तथा सुझाव र्‍याली ।

निशा राई

धरान, फागुन २७ गते ।सुनसरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)को नेतृत्वमा धरानमा धन्यवाद तथा सुझाव र्‍याली निकालिएको छ ।

बुधबार आयोजित र्‍यालीका क्रममा अध्यक्ष राईले लोकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी सबै उम्मेदवार तथा मतदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

लोकतन्त्रमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पहिलो हुने व्यवस्था भए पनि सबैको जित भएकोले उम्मेद्वार सबैको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।जनताबाट प्राप्त सुझावलाई आगामी कार्यदिशामा समेट्ने उद्देश्यले धन्यवाद तथा सुझाव र्‍याली आयोजना गरिएको उहाँको भनाइ थियो ।

चार महिना अघि स्थापना भएको श्रमसंस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । 

सुनसरी–१ बाट पार्टीका केन्द्रीय अध्यक्ष राई ३५ हजार ७४१ मत सहित विजयी हुनुभएको छ भने भोजपुरबाट ध्रुवराज राई १६ हजार ६६३ र खोटाङबाट आरेन राई १६ हजार ६१२ मतसहित निर्वाचित हुनुभएको छ । 

यससँगै कोशी प्रदेशबाट मात्र पार्टीले प्रत्यक्षतर्फ तीन सिट प्राप्त गरेको छ ।समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार पार्टीले तीन लाख ४७ हजार ७८५ मत प्राप्त गरेको छ ।

 हालसम्मको मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आवश्यक थ्रेसहोल्ड पार गरेको निर्वाचन आयोगले जनाएको छ ।

धन्यवाद तथा सुझाव र्‍याली धरान–१८ स्थित ग्रीन टीबाट ११ बजेबाट सुरु भई  धनकुटे रोड हुँदै धरान–१० को राँगा चोक, धरान–१२ को स्वस्तिक चोक, धरान–१६ को गणेशमान चोक, गैरीगाउँ, पुल चोक, सयपत्री चोक, मेयर पार्क, धरान–११ को शान्ति चोक, धरान–१९ को हरियाली हुँदै धरान–१८ को रत्न चोक, धरान–१७ को उदय टोल, रेल्वे चोक, फोक्लेनटापु हुँदै पुनः धरान–१८ को डेन्टल मार्ग पुगेर ग्रिन टीमै पुगेर समापन गरिएको थियो ।

भोलि (बिहीबार) बराहक्षेत्र नगरपालिका हुँदै रामधुनी नगरपालिकामा पनि धन्यवाद तथा सुझाव र्‍याली निकालिने अध्यक्ष राईले जानकारी दिनुभयो ।जेनजी आन्दोलनपछि संसद् विघटन भई नयाँ जनादेशका लागि प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते घोषणा गरिएको थियो।

 त्यसपछि तत्कालीन धरान उपमहानगरपालिकाका नगर प्रमुख राईले गत कात्तिक महिनामा निर्वाचन आयोगमा श्रमसंस्कृति पार्टी दर्ता गर्नुभएको थियो ।