काठमाडौँ, पुस २४ गते। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताउनु भएको छ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले जेन–जीहरुलाई भड्काएर हिंसा सिर्जना गर्नेहरू पनि विस्तारै निर्वाचनको पक्षमा आएको बताउनु भयो।
उहाँले दण्डहिनता गृह मन्त्रालयले सहन नसक्ने बताउनु भयो। उहाँले मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न सरकारले नदिने जिकिर गर्नु भयो।
निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुने पनि बताउनुभयो। मन्त्री अर्यालले निर्वाचन नै एकमात्र र सही विकल्प भएको बताउनु भयो।
आन्दोलनका क्रममा लुटिएका केही हतियारहरू बाहिर रहेको तर निर्वाचन नै रोकिने गरिकन हतियार बाहिर नरहेको बताउनु भयो। वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समर्थन रहेको बताउँदै कुनै पनि हिसाबले अहिलेको सरकार निर्वाचन गराउन सक्षम रहेको बताउनु भयो। निर्वाचनमा राज्यको लगानी धेरै भइसकेकाले अब फर्किने छुट नरहेको बताउनु भयो। एक लाख भन्दा बढी निर्वाचन प्रहरीको भर्ना खलाइएको बताउनु भयो। निर्वाचन अब नरोकिने स्पष्ट पार्नु भयो।
उहाँले भन्नु भयो, ‘निर्वाचनको सुरक्षाको विषयवस्तु छ। सरकार निर्वाचनको विषयवस्तुमा जिम्मेवार छ। जेनजी पुस्ता जिम्मेवार छ। जेनजी पुस्ताले अहिले निहुँ खोजेको देख्दिन मैले। कतिपयले ताली बजाउन, हिंसा भड्काउन, कता कता हिँड्न प्रोत्साहन दिनु भयो।दण्डहिनता गृह मन्त्रालयले रहन दिँदैन। निर्वाचनको सुरक्षाका लागि आफ्नो तयारी हुनु पर्छ। सुरक्षा सरकारको कर्तव्य हो, स्टेक होल्डरको पनि कर्तव्य हो। सुरक्षामा कुनै कमजोरी छैन। बाहिर अफवाह विभिन्न फैलिएका छन्। तर त्यो अन्तिम सत्य होइन। निर्वाचन सुरक्षित, निष्पक्ष ढङ्गले हुन्छ।’
मन्त्री अर्यालले आफ्नो पहिलो प्राथमिकता देश र मानवता जोगाउनु रहेको बताउनु भयो। आफू सही रहेको र नागरिकसँगै रहेको जिकिर गर्नु भयो।