काठमाडौँ, पुस २४ गते। अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनु भएको छ। सो चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो दबदबाबिच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने बताउनु भयो ।
उहाँले भन्नु भयो,“चलचित्रको विषयवस्तु केवल ‘टिकटक’सँग जोडिएको भए सायद म अभिनय गर्थिन होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ। एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअवरोह चलचित्रमा समेटिएको छ। भाइरल हुन जति मिहिनेत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मिहिनेत गर्नु पर्छ। विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुने छ ।”
‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने बताउँदै मनोरञ्जन प्रदान गर्ने समय सान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उहाँले बताउनु भयो।
“भाइरल पनि भन्न नआउने, भाइरस–भाइरस भन्ने एक पात्र भाइरल हुँदासम्मको उसको यात्रा हो। त्यसपछि पनि दर्शकलाई मजा आउँछ, मन छुने खालको छ। यसले अहिलेको केही प्रवृतिलाई व्यङ्ग्य पनि गरेको छ”, अभिनेता मल्लले स्पष्ट गर्नु भयो।
अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएपछि पटकथा पढ्दा नै यो विषय किन सोचिएन भन्ने लागेको प्रतिक्रिया दिनु भयो ।
“सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभाव, भाइरल हुन मानिसले के–के गर्छ भन्ने विषयवस्तु कथामा समेटिएका छन्। समय सान्दर्भिक छ, सबै कुरालाई व्यङ्ग्यात्मक रूपमा देखाइएको छ”, अभिनेत्री श्रेष्ठले भन्नु भयो ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गर्नु भएको छ।