ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २४ गते । म्याग्दीको मालिका गाउँपालिका–४, चिउरीबोट जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीको टोलीले ५ थान भरुवा बन्दुक फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनु भयो ।
जङ्गलमा हातहतियार भएको सूचना पाएपछि दरबाङबाट प्रहरी टोली त्यसतर्फ परिचालन गरिएको उहाँले बताउनु भयो । उक्त भरुवा बन्दुक प्रहरीले मुचुल्का गरी इलाका प्रहरी कार्यालय दरबाङ ल्याइपुर्याइएको उहाँको भनाइ छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय म्याग्दीले अबैध हातहतियार खोजी अभियानका क्रममा इजाजत प्राप्त नभएका एक सय १५ थान भरुवा बन्दुक जिल्लाका विभिन्न स्थानहरूबाट बरामद गरिसकेको छ । कसैले लुकाइछिपाइ राखेका अबैध हातहतियारका बारेमा प्रहरीलाई सूचना दिन जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम, अबैध गतिबिधि नियन्त्रण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर प्रहरीले अवैध हातहतियार सङ्कलन अभियान सञ्चालन गरेको छ ।
अभियानका क्रममा अहिलेसम्म एकसय २१ थान भरुवा बन्दुक बरामद भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फेला परेका बन्दुक खोजतलास गर्ने क्रममा केहीले बस्न छाडेका पुराना घर, गोठ, जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै यस्तो अवैध हातहतियारको खोजीलाई प्रहरीले अभियानका रूपमा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताउनु भयो ।