• १८ पुस २०८२, शुक्रबार

लोपोन्मुख हिमाली गिद्धको सफल उद्धार

blog

उद्धार गरिएको लोपोन्मुख गिद्ध ।

सुलीकोट समाचारदाता 

सुलीकोट, पुस १८ गते । उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिका अन्तर्गतको जगत क्षेत्रमा लोपोन्मुख हिमाली ग्रिफन गिद्धको सफल उद्धार गरिएको छ । रुखका हाँगामा अड्किएर उड्न नसकेको अवस्थामा उक्त गिद्धलाई स्थानीय बासिन्दाले फेला पारी मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) लाई जानकारी गराएका थिए । 

स्थानीय प्रहरी, संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय समुदायको समन्वयमा गिद्धलाई सुरक्षित रूपमा उद्धार गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप गोरखाका सूचना अधिकारी भुवन ओझाले बताउनु भयो । उद्धारपछि गिद्धको स्वास्थ्य अवस्थाको निगरानी गरी एक दिनको स्वास्थ्य उपचारपछि प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा बिहीबार छाडिएको छ ।

नेपालको पहाडी तथा हिमाली क्षेत्रमा पाइने महत्त्वपूर्ण प्रजातिको यो गिद्ध एक हजारदेखि ५,५०० मिटर उचाइसम्म पाइन्छ । यसले मरेका जनावरको मासु खाएर वातावरण सफा राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ । यस गिद्धले रोग फैलन नदिने तथा पारिस्थितिकीय प्रणालीलाई सन्तुलन कायम राख्न उल्लेखनीय योगदान पु¥याउने गरेको छ । 

अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण सङ्घका अनुसार हिमाली ग्रिफन गिद्ध लगभग सङ्कटोन्मुख सूचीमा रहेको छ । डाइक्लोफेनाक जस्ता पशु उपचारमा प्रयोग हुने औषधीको किसानले प्रयोग गर्नु, खाद्य अभाव तथा वासस्थान ह्रास हुँदै जानु जस्ता कारण यस प्रजातिको संरक्षणमा मुख्य चुनौतीका रूपमा रहेका छन् ।