सुधा देव
भारदह(सप्तरी), पुस १८ गते । सप्तरीको कञ्चनरूप नगरपालिका-१२ स्थित रहेको धारापानी पर्यटकको रोजाइमा परेको छ ।धारापानीको प्रकृति सुन्दर र मनमोहक दृश्यले पर्यटकको ध्यान तानेको हो । नयाँ वर्ष, बिदाको दिन वा अन्य दिनमा पनि यहाँ पर्यटकको घुँइचो लाग्ने गरेको छ । धारापानीले पर्यटकको ध्यान दिन प्रतिदिन तानेको स्थानीय लक्ष्मी चौधरीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘सन् २०२६ को पहिलो दिन मात्र यस धारापानीमा पाँच दर्जन टोलीले पिकनिक गरेर फर्किएका छन् ।’’
जिल्लामै उत्कृष्ट पिकनिक र घुमफिर गर्ने स्थलको रूपमा परिचित यो पिकनिक स्थलमा स्थानीयको मात्र नभएर बाहिरी पर्यटकको पनि रोजाइ बनेको सोही ठाउँका भावना घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘यहाँ सुविधा सम्पन्न पिकनिक स्थल निर्माण भएकाले पनि यहाँ पिकनिक खान आउनेलाई सहज हुँदै आएको छ ।’’
धारापानीमा घुफिर गर्न, पिकनिक गर्न धरान, विराटनगर, काठमाडौँ, इटहरी, झुम्का, इनरुवा, झापा, सिराहा, धनकुटा तथा भारतको विहार राज्यको विभिन्न स्थानबाट पर्यटकहरू घुम्न तथा पिकनिक खान आउने गरेका छन् ।
पूर्व पश्चिम राजमार्गदेखि झण्डै डेढ किलोमिटर उत्तरी भेगमा रहेको धारापानीमा प्रकृतिबाट उत्पन्न भएको एउटा ठुलो र तीन वटा सानो धाराहरूले नबिराइ हरेक समय निरन्तर पानी दिँदै आएको छ भने यहाँ रहेको धर्मेश्वर महादेवको मन्दिर घुम्न र दर्शन गर्न पर्यटकहरू आउने गरेका छन् ।
धारापानी भित्र धारासहित सल्हेश पिढिया, दोभान, कुन्तामाई, परेवाभीर, तिरतिरे, सोलिघोप्टे, हरिण दह, सुगा खोलीलगायत ठाउँहरू घुम्ने रहेका छन् ।
पछिल्लो गत वर्षहरूको तुल्नामा यसपालि यहाँ पिकनिक गर्न आउनेको सङ्ख्या वृद्धि भएको कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन गुप्ताले जानकारी दिनु भयो ।