राममणि दाहाल
मकवानपुर, पुस १८ गते । राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते निर्वाचनको तयारी तीव्र बनाइएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ ।
रिक्त हुने पदमध्ये एक जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र १८ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने भएको हो । प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट महिलातर्फ र अन्य क्षेत्रबाट एक गरी दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनु भयो ।
आगामी फागुनमा पदावधि सकिने दुवै जना नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुनुहुन्छ । साबिक नेकपा (माओवादी केन्द्र) की गङ्गाकुमारी बेल्बासे र नेकपा (एकीकृत समाजवादी) का डा. बेदुराम भुसालको राष्ट्रिय सभा सदस्य पदको पदावधि सकिँदै छ । बागमती प्रदेशमा प्रदेश सभा सदस्य, नगरपालिका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमाले रहेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेश सभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जनाको निर्वाचनमण्डल रहने व्यवस्था छ तर निर्वाचन आयोगले सार्वजनिक गरेको नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतदाता सूचीमा २३७ जनाको मात्र नाम रहकाले राष्ट्रिय सभा सदस्य पदका लागि ३४७ जनाको मताधिकार रहने भएको हो ।
नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलम्बित भएका कारण मतदानबाट वञ्चित हुने हुनु भएको छ । बस्नेत कांग्रेसबाट निर्वाचित हुनु भएको थियो । प्रदेश सभा सदस्यको ५३ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको १९ मतभार रहने व्यवस्था छ ।
राष्ट्रिय सभाका लागि बागमती प्रदेशमा ११० प्रदेश सभा र स्थानीय तहका २३७ जनाको गरी १० हजार ३३३ मतभार रहेको छ । यस प्रदेशमा कांग्रेसका प्रदेश सभा सदस्य ३७ र स्थानीय तहका १०७ जना मतदानमा सहभागी हुन पाउने छन् । जस अनुसार सबैभन्दा बढी मतभार कांग्रेसको तीन हजार ९९४ हुने छ । यसपछिको बढी मतभार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेकपाको रहेको छ । नेकपाको प्रदेश सभा सदस्य २८ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ६६ जनासहित ९५ जनाको कुल दुई हजार ७३८ मतभार छ ।
एमाले दुई हजार ५७१ मतभारसहित तेस्रो स्थानमा छ । एमालेको प्रदेश सभा सदस्य २७ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ६० जना छन् । १३ जना प्रदेश सभा सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा एक जना मात्र हुँदा ७०८ मतभार हुन्छ । यस्तै तीन जना प्रदेश सभा सदस्य र नगरपालिकामा प्रमुख र उपप्रमुख गरी दुई जना रहेको नेपाल मजदुर किसान पार्टीको १९७ मतभार, दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीको १०६ मतभार र स्वतन्त्रको १९ मतभार रहेको छ ।
राष्ट्रिय सभा सदस्य पदका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिन तोकिएको छ । निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित मतदान स्थल भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा दुई वटा मतदान केन्द्र तयार गरिएको छ ।