असल कर्म नगरी देश बन्दैन । असल कर्म गर्न असल चरित्र र नैतिकता चाहिन्छ । भ्रष्ट चरित्र देशका लागि क्यान्सर हो । नेपालसँगैका मुुलुकहरूले अथक मिहिनेत र परिश्रम गरी समृद्धि र सुशासन चुमे । नेपाल अझैसम्म गरिबीमुक्त हुन सकेन । समृद्धि र सुशासन सपना मात्रै बन्यो । सात सालदेखि अहिलेसम्म विभिन्न आन्दोलन भए । उन्नत राजनीतिक व्यवस्था आयो । नागरिक अधिकार सम्पन्न भए । संविधानमा धेरै कुरा लेखियो । नागरिकको अपेक्षा र आकाङ्क्षा सम्बोधन गर्दै मुलुकलाई सुशासन र समृद्धितर्फ लैजान भने नराम्ररी चुकियो । व्यवस्था राम्रो भए पनि व्यवस्थापन राम्रो भएन । नागरिकको अवस्थामा सुधार भएन । नयाँ रोजगारी सिर्जना गर्न सकिएन । रोजगारीका लागि बिदेसिनु पर्ने अवस्था आयो । दैनिक दुई हजारभन्दा बढी नेपाली युवा बिदेसिन बाध्य छन् । सत्तासीन र सत्ताको वरिपरिका राजनीतिक दल, नेता, कार्यकर्ताले राजनीतिको लाभ उठाए । भ्रष्टाचार र कुशासन बढ्यो । प्रमुख राजनीतिक नेतृत्वमा सत्ता उन्माद लाग्यो । विकल्प देखेनन् । उकुसमुकुस भएको जनसमुदायको आक्रोश जेनजी आन्दोलनका रूपमा पोखियो । तत्कालीन सरकारले जेनजी आन्दोलन हुन्छ भन्ने भेउसम्म पाएन । २७ घण्टामै सरकार ढल्यो र नयाँ परिस्थिति सिर्जना भयो । आन्दोलनमा धेरै जनधनको क्षति भयो । सरकारी र निजी दुवै क्षेत्रमा आगजनी, तोडफोड र लुटपाट भयो । यस्तो अवस्थामा मुलुकलाई निकास दिन पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका लागि भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न आगामी फागुन २१ गते प्रतिनिधि सभाको आमनिर्वाचन हुँदै छ । अन्तरिम सरकारले अहोरात्र खटिएर चुनावी वातावरण बनाएको छ । राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेसँगै मुलुक चुनावमय भएको छ । अब चुनाव हुन्न कि भन्ने आशङ्का हटेको छ । चुनावी वातावरण बन्दै गर्दा जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडले मनोबल गिरेको निजी क्षेत्रलाई उठाउन सरकारले हातेमालो गर्नु पर्छ । सरकार, राजनीतिक दल र निजी क्षेत्रले हातेमालो नगरेसम्म मुलुक बन्दैन । आर्थिक समृद्धि र सुशासनका लागि आपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्नै पर्छ । भ्रष्टाचारी र अपराधीलाई राजनीतिको आवरणमा संरक्षण गर्नै हुँदैन । मुलुकमा मौलाएको राजनीतिक भ्रष्टाचार र अपराध सबैभन्दा ठुलो चुनौती हो । यसलाई नियन्त्रण गर्न र सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ । उसले बारम्बार लगानीको वातावरण बनाउन र निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग आग्रह गर्दै आएको छ । यसै सन्दर्भमा निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार राजधानीमा शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेतृत्व, उद्योगी तथा व्यापारीले जेनजी आन्दोलन र त्यसले निम्त्याएको परिवर्तनलाई मुलुकको आर्थिक सामाजिक हितमा रूपान्तरण गर्न सर्वपक्षीय समझदारी र एकीकृत दृष्टिकोण आवश्यक रहेको औँल्याउनु भएको छ ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले सुशासनको जग बसाउनुका साथै फागुन २१ गते निर्वाचन गर्ने दिशामा प्रतिकूलता चिर्दै सफलतापूर्वक कार्यसम्पादन गरिरहेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री कार्कीले भन्नुभए जस्तै नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन बढी परिवर्तनकारी राजनीतिक आन्दोलन भए पनि ती परिवर्तन दिगो सुधार नहुनु, पेसा व्यवसाय र रोजगारी अवसर प्राप्त नहुनु र न्यायपूर्ण आचरण व्यवहार हुन नसक्दा पछिल्लो पटक जेनजी आन्दोलन हुन पुगेको हो । आन्दोलनका क्रममा भएको विध्वंसले निजी क्षेत्र मर्माहत भएको छ । सरकारले निजी क्षेत्रकै मागबमोजिम सहुलियत तथा सहायताका कार्यक्रम ल्याएको छ । सरकार र निजी क्षेत्रबिचको हातेमालोबाटै समृद्धिको यात्रा तय हुन्छ । यसका लागि अब सबै पक्षले सामूहिक प्रतिज्ञा गर्नु पर्छ । हामी सबैले प्रतिज्ञा गरेर ढलेका निजी क्षेत्रका संरचना पुनर्निर्माण भएमा फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार हुनु पर्छ । ढुक्कसँग उद्यमी–व्यवसायीले लगानी गर्न पाउनु पर्छ । निर्वाचनमार्फत स्थायित्व र निर्बाध पेसा व्यवसाय गर्न पाउने प्रत्याभूतिसहित उद्यमशीलता विकास गर्नु पर्छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल इतिहासमै अहिलेसम्मकै न्यून विन्दुमा पुगेको, निजी क्षेत्रले निर्बाध रूपमा काम गर्ने वातावरण नबनेको र गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउने अवस्था रहेको धारणा राख्नुभएको छ । नेपालको समग्र अर्थतन्त्रमा ८१ प्रतिशत हिस्सा ओगट्ने र करिब ५५ लाखलाई रोजगारी दिने निजी क्षेत्रको मनोबल नबढाए त्यसले मुलुक नै असफलतातर्फ उन्मुख हुन सक्ने अवस्था नै अहिलेको चिन्ताको विषय हो ।