बाबुराम शर्मा
दोलखा, पुस १८ गते । दोलखाको वैतेश्वर गाउापालिका–३ मिर्गेका सयौंँ किसानले गरेको एक घर–एक करेसाबारी अभियानले कृषिमा विस्तार गरेपछि पछिल्ला वर्षहरूमा कृषि खेतीपातीमार्फत आम्दानी लिँदै आएका छन् ।
यहाँको जैनालु र मिर्गे लहरेमाने आसपासका गाउँबस्तीबाट करोडौंको मौसमी तथा बेमौसमी तरकारी, फलफूल तथा खााद्यान्न र अलैंची तथा कुचो बिक्री हुँदै आएको छ ।
करिब चार हजार कुल सङ्ख्या रहेको मिर्गेमा ७० प्रतिशत समुदाय कृषिमा आत्मनिर्भर रहेका छन् । यहाँको जैँनालु, दोभान, लहरेमाने, फलेघर, डाँडाटोल, कुलाफाँट, खानीगाउँ, पाइले, मजुवायार्सा, पात्लेठाडे, चिलाउनेलगायतका गाउँका कृषकहरूको दैनिकी खेतीपाती तथा कृषिमा बित्ने गरेको छ । मिर्गेको फलेघर, डाँडाटोलमा पछिल्ला वर्षहरूमा घर–घरमा सिँचाइ पुगेसँगै कृषि खेती र उत्पादनमा वृद्धि भएको कृषक धनबहादुर तामाङले बताउनु भयो ।
कृषक तामाङले घरसँगै जोडिएको करेसा बारीभरि थरीथरीको तरकारी लगाउनु भएको छ । उहाँले एउटै बारीमा लसुन, हरियो सागपात, आलु, तोरी, खुर्सानी, प्याज, गहुँ तथा सुन्तला र किबि लगाउनु भएको छ ।
तरकारी तथा फलफूल खेतीबाट राम्रो आम्दानी भएपछि ७० वर्षीय कृषक तामाङ २०६२ सालदेखि पुरानो ट्रेकिङ पेसा छोडेर कृषि कर्ममा रमाइरहनु भएको छ ।
सोही गाउँका अर्का कृषक प्रेमकुमार पाख्रिनले पनि बुढेसकालको पेसा कृषि बनाउनु भएको छ । लामोसमय जागिरे जीवन बिताउनु भएका किसान पाख्रिनले बुढेसकाल लागेसँगै तरकारी र फलफूल खेती गर्दै करेसाबारीलाई हराभरा बनाउनु भएको छ ।
मिर्गेकै अगुवा कृषक दिनेश तामाङले पनि अलैंची, किबी तथा तरकारी खेतीबाट लाखौं आम्दानी गर्दै आउनु भएको छ । अलैंचीको खेती विस्तार र उत्पादनको हिसाबले प्रमुख थलो मानिने मिर्गे जैनालु, दोभान, कुलफाँटबाट वार्षिक दुई करोड बराबरको अलैंची निर्यात हुँदै आएको किसान प्रेमकुमार तामाङले बताउनु भयो । यहाँबाट अलैंची, कुचोमात्रै नभएर लसुन, फर्सी, खुर्सानी, आलु, किबी तथा अन्य तरकारीबाट पनि यहाँका किसानले लाखौं आम्दानी गर्दै आएका छन् ।
गाउँमा उत्पादन बढेपछि मिर्गे चोकमा व्यापार व्यवसाय गर्दै आउनु भएकी शान्ति तामाङले मिर्गेका गाउँटोलबाट उत्पादन हुने हरेक कृषि उत्पादनलाई बजारसम्म पुर्याउने गर्नु भएको छ ।
गाउँघरमा उत्पादन भएको कृषि उत्पादनलाई दैनिक सङ्कलन गर्दै किसानलाई उचित मूल्य दिएर उनीहरुको उत्पादनलाई काठमाडौँ निर्यात गर्दै आएको उहाँले बताउनु भयो ।
उहाँले लहरेमाने चोकमा आफ्नै पसलमा सामान स्टोर गर्दै दैनिक काठमाडौँ–मिर्गे क्युको रूपमा चल्ने बसमा सामान राखेर बिक्रीका लागि काठमाडौँ पठाउने गरिएको छ । उहाँले भन्नुभयो, ‘‘गाउँका किसानले उत्पादन गरेको सागसब्जी, तरकारी फलफूलले सहज रूपमा उत्पादन मूल्य पाउन सकुन् भन्ने उद्देश्यले आफूले उनीहरूको उत्पादनलाई साँझ–बिहान बस छुट्नु अघि पसलमा ल्याउन लगाउने र भोलिपल्ट बसमा उक्त कृषि उत्पादनलाई काठमाडौँ निर्यात गर्ने गरिको छ ।’’
व्यापारी तामाङले किसानले उत्पादन गरेका तरकारीमध्ये खुर्सानी, लसुन, काउली, सागसब्जी, मुला, आलु, टमाटर, प्याज, बन्दा, सुन्तला, केरा, किबी र अमिलो जातका कागतीको सङ्कलन गरी काठमाडौँ पठाउने गरेको उहाँले बताउनु भयो ।
मिर्गेका कृषकहरूले खेतीपातीमा प्राविधिक सल्लाह र कृषि तालिमको अभाव भएको बताएका छन् । उनीहरुले फलफूल तथा तरकारी खेतीगर्दा प्राविधिक ज्ञानको कमीले कतिपय समय र सिजनमा लगाइएको तरकारी तथा फलफूल खेतीबाट ठुलो क्षतिसँगै समस्या खेप्नुपरेको छ । प्राविधिक परामर्श र तालिम अभावले पुरानै शैलीमा तरकारी तथा फलफूल खेती गर्नुपर्ने बाध्यता रहेको उनीहरूले गुनासो गरका छन् ।
मिर्गेको सबै क्षेत्रको जमिन खेतीयोग्य भए पनि कुन क्षेत्रमा के फल्छ र कुन समयमा कसरी खेती लगाउने भन्ने प्राविधिक ज्ञानको मी हुँदा सबैले एकै प्रकारको खेती गर्नाले उत्पादनको गुणस्तर र रोगको समस्या झेल्नु परेको कृषकहरू बताउँछन् ।
भौगोलिक दूरीका हिसाबले सदरमुकाम चरीकोटदेखि करिब ३० किलोमीटर पूर्वतर्फ पर्ने यो गाउँका कृषिमा आत्मनिर्भर रहेका छन् । खेतीपाती र उत्पादनको हिसाबले जिल्लाकै एक सम्भावना बोकेको गाउँको रूपमा परिचित मिर्गेका बासिन्दाले कृषि कर्मलाई आय–आर्जनको मुख्य स्रोतको रूपमा विकास गर्दै लगेका छन् ।