• १८ पुस २०८२, शुक्रबार

अ‍‌‌‍‍‌‌‌‌‌‌‌‌‌‌ँग्रेजी नयाँ वर्षमा भेडेटार भारतीय पर्यटकले भरी भराउ

blog

पर्यटकीयस्थल नमस्ते झरनामा देखिएका भारतीय पर्यटकका सवारी साधन । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 
हिले, पुस १८ गते ।
अ‌ँग्रेजी नयाँ वर्षमा धनकुटाको भेडेटार भारतीय पर्यटकले भरी भराउ भएको छ । नयाँ वर्षको अघिल्लो दिन डिसेम्बर ३१ वाटै भेडेटार आउन थालेका भारतीय पर्यटक जनावरी १ मा भने झन् खचाखच भएको छ । बुधबार एक हजारको हाराहारीमा भारतीय पर्यटक आएको होटेल एसोसिएसन भेडेटारले जनाएको छ ।

बिहीबार अर्थात् नयाँ वर्षको पहिलो दिन भने पाँच हजारभन्दा बढी पर्यटक भित्रिएको एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिनुभयो ।

भेडेटार नमस्ते झरना, थुम्की, नाम्जेलगायतको स्थानमा पर्यटकको चाँप उच्च छ । भेडेटार र आसपासका अधिकांश होटेल पर्यटकले भरीभराउन भएका एसोसिएसनका सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो । भारतीय पर्यटकलाई लक्षित गरी भेडेटारले फुड फेस्टिवल समेत आयोजना गरेको छ । भारतीय मिडियामार्फत समेत फुड फेस्टिवलको प्रचारप्रसार गरिएकाले भारतीय पर्यटक बढेको हुन सक्ने उहाँको अनुमान छ । यो क्रम एक हप्तासम्म रहने जनाइएको छ ।

कोरोना यता भेडेटारमा भारतीय पर्यटकको चाप कम हुँदै आएकोमा यो वर्ष सुधार भएको व्यवसायीहरू बताउछन् । भेडेटार बाहेक धनकुटाको राजारानी, हिले, सिधुवा र तेह्रथुमको वसन्तपुरसम्म भारतीय पर्यटक पुगेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । भारतका बिहार, पश्चिम बङ्गाल, सिक्किमलगायतको प्रान्तबाट पर्यटक धनकुटा भित्रिएका उहाँको दाबी छ ।