• १८ पुस २०८२, शुक्रबार

प्रतिस्पर्धात्मक अर्थतन्त्र निर्माण

blog

कृषि उद्योग र सेवा तिनै क्षेत्रमा हुने अध्ययन, अनुसन्धान, उत्पादन, भण्डारण, प्रशोधन, सञ्चय, ओसारपसार, वितरण र उपभेगसँग जोडिएका आर्थिक क्रियाकलापको योगबाट समष्टिगत अर्ततन्त्रको संरचना निर्माण हुन्छ । यी कार्य ठिक ढङ्गले भए बलियो, दिगो र प्रतिस्पर्धात्मक अर्थतन्त्र निर्माण हुन्छ । यो लक्ष्य हासिल गर्न वस्तु वा सेवाको उत्पादन तथा वितरणसमेतका कार्य बजार अनुकूल हुनु पर्छ । वस्तु र सेवाको आकार, परिमाण, गुणस्तर, ओसारपसार, लागत वा मूल्यसमेत बाह्य तथा आन्तरिक बजारसँग प्रतिस्पर्धा गर्ने दृष्टिले सबल हुनु पर्छ, तब मात्र प्रतिस्पर्धात्मक अर्थतन्त्र निर्माण हुन्छ । 

यो लक्ष्य हासिल गर्न अन्य कुराका अतिरिक्त उच्च प्रविधिलाई अर्थतन्त्रको आधार बनाउनु पर्छ । अहिले विश्वमा सामान्य प्रविधिका अतिरिक्त कृत्रिम बौद्धिकता (एआई) को प्रयोग अनिवार्य भइसकेको छ । प्रविधि भन्नाले व्यावहारिक उद्देश्यका लागि कृषि, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, निर्माण र सुशासनसमेतका क्षेत्रमा दैनिक रूपमा गरिने जीवनोपयोगी ज्ञानको प्रयोगलाई जनाउँछ । यसले मानवको कार्यक्षमतामा विस्तार कामलाई छिटोछरितो र गुणस्तरीय बनाउँछ । लिभर, कलम, छापाखाना, स्टिम इन्जिन आदि समेतका पुराना प्रविधिदेखि लिएर स्मार्टफोन, हवाईजहाज, माइक्रोवेभ, सफ्टवेयर प्रोग्राम, एमआरआई मेसिन आदि तेस्रो पुस्तासम्मका सामान्य प्रविधिको श्रेणीमा पर्ने उपकरण हुन् । कृत्रिम बौद्धिकता (एआई) भने प्राविधिक क्रान्तिको चौथो पुस्तामा पर्ने उच्चस्तरको प्रणाली हो । यो मानिसले गर्ने कतिपय दिमागी कामसमेत गर्ने प्राविधिक विकासको अवस्था हो । एआई वा प्रविधिभित्रकै यो उन्नत प्रणालीले कतिपय अवस्थामा समस्याको समाधान, सोधखोज, अनुसन्धान र जवाफ दिने तथा भाषा बुझेर धारणा राख्नेसमेतका मानवले गरेका बुद्धिका प्रयोग समेत गर्छ । जस्तै सामान्य प्रविधिको कारले निर्धारित प्रोग्रामभित्रको काम गर्छ, वरिपरिको वातावरणको अनुभूति गर्दैन । एआईमा आधारित स्वचालित कारले वातावरण बुझेर बाटो र अवरोध दुवै पहिचान गरी आवश्यक निर्णय लिएर गन्तव्यमा जान्छ । एआईले तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, त्यसबाट सिक्ने, कार्यसम्पादनमा सुधार गर्ने, निर्णय लिने वा निर्णय लिन सुझाव दिनेसमेतका काम गर्न सक्छ । 

नेपालमा तेस्रो पुस्तासम्मका प्रविधिको प्रयोग पनि सीमित रूपमा मात्र भएको छ । कृषि क्षेत्रमा बल्ल जमिन जोत्ने, धान गहुँ काट्ने र चुट्ने वा झार्ने जस्ता यन्त्रको प्रयोग हुन थाले पनि त्यसलाई व्यापक बनाउन सकिएको छैन । निर्माण र उद्योग क्षेत्रमा तुलनात्मक रूपमा आधुनिक प्रविधिको प्रयोग बढ्दो छ भए पनि साना र लघुस्तरका प्रतिष्ठानमा प्रयोग गरिने प्रविधि पुरानै छ । त्यसैले अब स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुको उत्पादनलाई समेत सस्तो, गुणस्तरीय तथा माग अनुरूप बनाउन चाहिने दक्षता र सिप अनुकूल हुने गरी उच्च प्रविधिको खोजी, पहिचान, प्रयोग र विस्तार गर्नुपर्ने भएको छ । उदाहरणका लागि प्लास्टिकजन्य वस्तुको आयात र उत्पादनको कारणले विस्थापित हुन पुगको साविकको निगालो, बेत र बाँसका वस्तुको प्रयोगलाई पुनस्र्थापित गराउन चोया निकालर कम लागतमा गुणस्तरीय वस्तु बनाउने आधुनिक प्रविधिमा आधारित औजार बनाएर काम गर्नेलाई दिएर त्यसै अनुसार सिप सिकाउनु पर्छ । काठका र खनिजबाट वस्तु उत्पादन गर्नमा पनि यही सूत्र लागु हुन्छ । 

नेपालमा हालसम्म एआईको प्रयोग भने नगण्य र छिटपुट रूपमा मात्र भएकाले यसतर्फ विशेष ढङ्गले सोच्नुपर्ने भएको छ । एआईसमेतका विशिष्ट प्रकृतिका प्रविधिको प्रयोग र विस्तार गर्दा उत्पादन, बजार र रोजगारीबिच पनि सन्तुलन मिलाउनु पर्छ । अन्यथा यसको प्रयोगले उत्पादन र उत्पादकत्व बढे पनि कतिपयको रोजगारी खोसिन्छ । बरु उचित रणनीति र कार्यक्रम बनाई कार्यान्वयन गरेमा धेरै गुणाले थप रोजगारी सिर्जना हुन्छ । एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार २०२४ मा संयुक्त राज्य अमेरिकामा एआईको प्रयोगको कारणले एकातिर करिब १२० हजार रोजगारी सिर्जना भएको र अर्कातिर करिब १३ हजारले रोजगारी गुमाएको दुईथरी नतिजा देखिए । सन् २०२५ का केही अध्ययनले भने एआईको विस्तारको कारणले सफ्टवेयरको विकास, तथ्याङ्क विश्लेषण र ग्राहक सेवा क्षेत्रका २२–२५ वर्ष उमेर समूहका युवाले रोजगारी गुमाएको र सन् २०२२ पछिको तीन वर्षमा सफ्टवेयर क्षेत्रमा २० प्रतिशतले रोजगारी घटेको देखायो । 

सन् २०२५ कै एआई ग्लोबल रोजगार ब्यारोमिटर नामक प्रतिवेदनका अनुसार एआईको अत्यधिक प्रयोगले श्रमको उत्पादकत्व, उत्पादन क्षमता र प्रतिव्यक्ति ज्याला र कतिपय क्षेत्रमा रोगारीको सङ्ख्या पनि बढाउने तर सफ्टवेयर निर्माण, तथ्याङ्क विश्लेषण र शिक्षण जस्ता एआईले काम गर्न सक्ने क्षेत्रमा ठुलो सङ्ख्यामा बेरोजगारी बढाउनेतर्फ सङ्केत गर्दै आउँदा दिनमा विकसित र न्यून आय भएका देशको रोजगरीमा क्रमशः ६० र २६ प्रतिशतका दरले प्रभावित गर्ने जनाएको छ, देशगत हिसाबले प्रभाव फरक–फरक हुने देखिन्छ ।

यस पृष्ठभूमिमा नेपालले तेस्रो पुस्तासम्मको प्रविधि र एआईलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ । मूलतः कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, यातायता, बैङ्किङ र तीन तहका सरकारले दिने सेवासमेतका क्षेत्रमा एआई प्रविधिको विस्तार गर्न सकिने अवस्था छ । यसो गर्दा रोजगारी खोसिने जनशक्तिका लागि निजी क्षेत्रसँग मिलेर वैकल्पिक कामको व्यवस्था गर्न सकिन्छ । वैकल्पिक व्यवस्थाभित्र गरिरहेको कामलाई आधुनिक तरिकाले गर्न सक्ने बनाउन क्षमता अभिवृद्धि गर्ने र तुलनात्मक रूपमा एआई प्रविधिको प्रयोग कम हुने क्षेत्रमा त्यो श्रमशक्तिलाई स्थानान्तरणका कुरा पर्छन् । यसो गर्दा भएका उद्योग–व्यवसाय र आयोजनाको विस्तार गर्ने वा थप उद्योग–व्यवसाय वा आयोजना सिर्जना गर्ने भन्ने विषयमा स्पष्ट हुनु पर्छ । अब हात बाँधेर बस्ने समय छैन । 

उच्चतम प्रविधिको विस्तार गर्दा भौगोलिक, क्षेत्रगत एवं विषयगत सन्तुलन पनि मिलाउनु आवश्यक छ । अन्यथा सहरी क्षेत्रमा भएका वा ठुला संस्था तथा उद्योगले एआई प्रविधिको समेत प्रयोग गर्ने तर साना तथा ग्रामीण क्षेत्रका संस्थाले प्रविधिको प्रयोग गर्न नसक्दा साना प्रतिष्ठान टिक्न नसक्नाले सम्पत्ति र आयको वितरणसमेत असन्तुलित हुने, नहुनेबिचको खाडल बढ्न गई द्वन्द्व सिर्जनाको जोखिम बढ्न सक्छ । तसर्थ योजना, नीति तथा कानुनको निर्माण गर्दा राज्यले यस्ता कुरामा विशेष ध्यान दिनु पर्छ । 

हुन त नीति निर्माणको दृष्टिले हेर्दा नेपालले एआईसम्बन्धी नीति २०८२ स्वीकृत गर्नुका साथै सूचना प्रविधिसँग जोडिएको नेपाल डिजिटल फ्रेमवर्क पनि जारी गरिसकेको छ । साइबर सुरक्षा, विद्युतीय व्यापार, सूचना प्रविधिको प्रयोगसम्बन्धी कानुन बनिसकेका छन् । यो सराहनीय कार्य भए पनि माथिका चुनौती सम्बोधन गर्न यतिले पुग्दैन । अहिले कुन क्षेत्रमा कुनस्तरको प्रविधिको प्रयोग भइरहेको छ भन्ने विषयको खोजी गरेर क्षेत्रगत प्रामिकताका आधारमा प्रविधिको विस्तार गर्ने गरी एउटा बृहत् योजना बनाउनु पर्छ । कृषि क्षेत्रले जनसङ्ख्याको ठुलो हिस्सालाई रोजगार दिन, खाद्य सुरक्षाको प्रत्याभूति गर्न तथा स्थानीय स्रोतको उच्च र दिगो रूपमा प्रयोग गर्न सक्ने हुनाले यो क्षेत्र पहिलो प्राथमिकतामा पर्नु पर्छ । यसलाई रोप्ने, गोड्ने, काट्ने, झार्ने आदिमा मात्र सीमित नराखी एआईको प्रयोगबाट उत्पादनको सम्भाव्यताको भविष्यवाणी गर्ने, बालीमा लाग्ने रोग पहिचान गर्ने, स्मार्ट खेतीप्रणालीमार्फत पानी र मलको प्रयोगलाई हावापानी एवं उत्पादन अनुकूलन बनाउनेसमेतका काममा विस्तार गर्नु पर्छ । 

इजरायल, दीक्षण कोरिया, बेलायत, चीन, भारत र संयुक्त राज्य अमेरिका समेतले कृषिक्षेत्रमा एआईको प्रयोग गरेर लागत घटाई उत्पादन र उत्पादकत्व बढाएका छन् । कृषि स्टार्टअपको स्थापनादेखि बाली अनुगमन, तथ्य तथ्याङ्क सङ्कलन एवं विश्लेषण र आपूर्ति शृङ्खला व्यवस्थापनसम्मका काममा एआईको प्रयोग गरिरहेका छन् । यसले अमेरिकामा मेक्सिको समेतबाट आएका कृषि मजदुरको रोजगारी गुमेको पनि देखिन्छ । उता चीनले उच्च ज्ञान, सिप र प्रविधिको प्रयोग गरी कृषि क्षेत्रलाई स्मार्ट फार्मिङका रूपमा विकास गर्दै छ । साविकमा खन्ने, रोप्न, बाली, काट्ने, झार्ने, सफा गर्ने, उत्पादित वस्तुको ग्रेडिङ तथा स्टान्डरडाइजेसन गर्ने, ओसारपसार गर्ने र भण्डारन गर्ने काममा यन्त्र उपकरण र प्रविधिको प्रयोग गर्ने गरेकोमा अहिले अनुसन्धान गर्ने काममा समेत एआईको प्रयोग गर्नुका साथै बालीमा औषधी छर्ने काम र कतिपय अवस्थामा पानी हाल्ने कामसमेत ड्रोन प्रविधिबाट गर्छ, कृषि क्षेत्रमा सोही अनुसार चाहिने जनशक्ति उत्पादन गर्ने काम सँगसँगै लगेको छ । जनसङ्ख्याको संंरचनामा ६० वर्षभन्दा बढी उमेर समूहका मानिसको अनुपात बढ्दै जानुले श्रम शक्तिको अभावको सम्भावित जोखिम कम गर्न पनि चिनले कृषि र अन्य व्यवसायका क्षेत्रमा एआईको प्रयोगमा विस्तार गर्दै लगेको हो । 

नेपालले यी देशका उत्पादनसँग प्रतिस्पर्धा गर्नु परेकाले आन्तरिक बजारमा स्थानीय कृषि उत्पादन नै विस्थापति भएर देश आयातमा अत्यधिक निर्भर हुन पुगेकाले कृषि क्षेत्रमा यसको उपयोग अति आवश्यक छ । नेपालले अर्थतन्त्रलाई चलायमान बनाउने गरी उत्पादन लागत घटाउने र बजारमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने प्रकृतिका कार्यक्रमसहित उच्च प्रविधिको प्रयोगका कार्ययोजना अघि सार्नु पर्छ । कृषिबाहेक स्वास्थ्य सेवामा दुर्गम क्षेत्रमा गुणस्तरीय चिकित्सा सेवा पु¥याउन रोगको निदान गर्ने र मातृ तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी प्रदान गर्ने कार्यमा एआईको प्रयोग गर्न सकिन्छ । शिक्षा क्षेत्रमा व्यक्तिगत रूपमा विविध विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्न सिकाई कार्यलाई सहयोग गर्ने प्लेटफर्मको प्रयोग तथा सिप–आधारित प्रशिक्षण दिने कार्य गराउन सकिन्छ । सार्वजनिक सेवातर्फ स्मार्ट ट्राफिक व्यवस्थापनको सञ्चालन गर्न सकिन्छ । स्वदेशी कच्चा पदार्थको प्रयोग, अत्यावश्यक र निर्यातजन्य वस्तुको उत्पादन एवं बजारीकरणमा उच्च प्रविधिको विस्तार गर्न सकिन्छ । सो भएमा उद्योग व्यवसायको क्षमतामा बढोत्तरी भई अर्थतन्त्र दरिलो र प्रतिस्पर्धी बन्ने छ । अन्यथा पछाडिको पछाडि रहने छौँ ।