टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), पुस १८ गते । भिक्टोरिया क्रस विजेता गुल्मेली स्वर्गीय कर्णबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा रानाले प्रर्दशन गरेको सहास, बलिदान र कर्तव्यनिष्ठाताको कारण बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गरेको थियो ।
लाहुरेहरूको गाउँ भनेर चिनिने भार्सेमा लाहुरेहरूको इतिहास जिवित राख्न र अध्ययन केन्द्र बनाउन भूपु गोर्खा ग्यालरी र भार्से ग्यालरी निर्माण गरिएको छ । भार्से ग्यालरीको अगाडि कर्णबहादुर रानाको सालिक स्थापना गरिएको हो । सत्यवती गाउँपालिका–८ का वडाध्यक्ष होमबहादुर रानाले सालिक स्थापना गर्नुभयो । यो कामले भार्सेको गरिमा उचो हुनुका साथै लाहुरेको इतिहास अझै गर्बिलो बनेको बताउनु भयो ।
कालीगण्डकी गाउँपालिका–७ फोक्सिङ्ग निवासी कर्णबहादुर राना सन् १८९८ सालमा जन्मिनु भएको थियो । सन् १९७३ सालमा ७४ वर्षको उमेरमा जन्मिएका थिए । कर्णबहादुर थापाले १९ वर्षको कलिलो उमेरमा सन् १९१९ मा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस पाउनु भएको थियो ।
कर्णबहादुर गोर्खा वीरताको अन्तर्राष्ट्रिय प्रतिक भएको भूपु सुवेदार मेजर अनेर क्याप्टेन पिताम्बर थापाले बताउनु भयो । उहाँको सालिक स्थापनाले सबै दिवङ्गत तथा जिवित लाहुरेहरूका लागि सम्मान भएको थापाले बताउनु भयो । कर्णबहादुरको सालिक र ग्यालरी निर्माण गरेर इतिहास जोगाउने योजनाका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीप्रति आभार प्रकट गर्नुभयो । कर्णबहादुरका ठुला छोरा गाउँमै हुनु हुन्छ । अरू तराई बसाइ सरेर गएका छन् ।
भार्से भूपु सङ्घको नेतृत्वमा करिब १६ लाख खर्च गरेर कर्णबहादुर रानाको सालिक निर्माण गरिएको छ । रानाको सालिक गुल्मेली मूर्तिकार यमबहादुर थापाले निर्माण गर्नु भएको हो । बेलायत सरकारबाट त्यति ठुलो पदक पाउने कर्णबहादुरको बारेमा नेपाल सरकारको तर्फबाट कुनै सम्मान र सद्भाव नभएकाले आफुहरूले व्यक्तिगत लगानी गरेर काम गरिएको भार्से भूपु सङ्घका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले बताउनु भयो । कार्यक्रममा मूर्तिकार थापा र कार्यपालिका सदस्य कमला पचभैया लगायतले शुभकामना राख्नु भएको थियो ।
सत्यवति गाउँपालिका–८ भार्से अर्थात लाहुरे गाउँ प्राकृतिक, साँस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत अध्ययन केन्द्र हो । भार्सेबाट प्रथम र दोस्रो विश्व युद्ध लड्नेहरूको फोटो र इतिहासको भूपु गोर्खा ग्यालरीमा राखिएको छ । भने भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेहरू तथा सामाजिक अगुवाहरूसहितको फोटोसहितको इतिहास राख्न भार्से ग्यालरी निर्माण गरिएको छ । यो सबैभन्दा महत्त्वपूर्ण भार्सेको विशेषता हो । अहिलेसम्मको प्रमाणको आधारमा भार्सेबाट प्रथम विश्वयुद्ध लडने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना रहेका छन् ।
भूपु गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर र संक्षिप्त विवरण राखिएको छ । जसमा विश्वमै कम उमेर र नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतिय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी र श्रीप्रसादकै बुवा गिरीप्रसाद बुढाथोकीको तस्बिर राखिएको भार्सेका अगुवा नरबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
भार्से जन्मिएर अहिले हङकङमा रहनु भएका लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीले आफ्नै अगुवाइमा भार्से भूपु गोर्खा र भार्से ग्यालरी स्थापना गर्नुभएको छ । बुढाथोकीले आफैले ग्यालरीको लागि करिब ५७ लाख रुपियाँको लगानी गर्नु भएको छ । भार्से ग्यालरीमा भार्सेली भारतीय, बेलायत, नेपाली सेना, प्रहरी, राष्ट्रसेवक कर्मचारीहरूको फोटो राखिएको छ । नेपाल प्रहरीका डिआइजी निरज पुन तथा नेपाली सेनाको मेजर जनरल नरबहादुर बुढाथोकी लगायत ६८४ मध्ये करिब ४०० जनाको फोटो राखिएको छ ।