• १८ पुस २०८२, शुक्रबार

लमजुङमा एमालेबाट दुईजना समानुपातिक सूचीमा

blog

नेकपा एमालेबाट समानुपातिक सूचीमा रहनुभएका लमजुङका नेताहरु । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस १७ गते । नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङबाट २ जना पर्नुभएको छ ।

महिला क्लस्टरमा टुकाभद्रा हमाल र जनजाति पुरुषमा प्रेम घले समानुपातिक बन्दसूचीमा रहनुभएको छ । हमाल एमालेको केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघको अध्यक्ष हुनुहुन्छ । घले गण्डकी प्रदेश समिति सचिवालय सदस्य हुनुहुन्छ ।

हमाल २०७० को संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक तर्फबाट सभासद बन्नुभएको थियो । यसपटक पनि उहाँको नाम महिला क्लस्टरमा दोस्रो नम्बरमा रहेको छ । जनजाति क्लस्टरमा ११ औं नम्बर सूचीमा रहनुभएका घले क्ब्होँलासोँथर गाउँपालिकाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

२०७९ को स्थानीय निर्वाचनमा क्ब्होँलासाँेथर गाउँपालिकामा ‘क्लिनस्वीप’ गराएर ‘म्यान अफ दि इलेक्सन’ बन्नुभएको थियो । ११० जना समानुपातिकका लागि ६५ राजननीतिक दलबाट करिब ३ हजार ४०० जना उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउँदा एमाले बाहेकका दलबाट लमजुङमा उम्मेदवार बन्ने मौका पाएका छैनन् ।