• १८ पुस २०८२, शुक्रबार

यस वर्ष सुन्तला उत्पादनमा कमी आउने

blog

जिल्लाको बागचौर नगरपालिकामा किसानको सुन्तला बगैचा । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, पुस १७ गते । यस वर्ष सल्यानमा सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । बगैँचामा रोगको प्रकोप बढेसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब २५ प्रतिशतले उत्पादन घट्ने कृषि विकास कार्यालय सल्यानको अनुमान छ । 

हालसम्म करिब ३५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । बागचौर नगरपालिकाको कोटमौला लगायतका क्षेत्रमा अझै टिप्न बाँकी रहेकाले आधिकारिक तथ्याङ्क आउन समय लाग्ने कार्यालयले जनाएको छ ।

सल्यानका प्रमुख सुन्तला उत्पादन क्षेत्र कोटमौला, चाँदे, दमाचौर र फलाबाङमा गरिएको अनुगमनले उत्पादन घट्ने देखिएको हो । बागचौर नगरपालिका–८ कोटमौलाका किसान भरतनाथ योगीका अनुसार यस वर्ष फल सानो लागेको र बोट सुक्ने समस्या बढेकाले उत्पादन घट्ने अवस्था आएको छ । 

गएको सिजनमा ४३७ क्विन्टल सुन्तला बेचेर करिब ३३ लाख रुपियाँ आम्दानी गर्नुभएका उहाँले यस वर्ष करिब ३०० क्विन्टल मात्र उत्पादन हुने अनुमान गर्नुभयो । सुरुमा घरमै खानका लागि दुई चार बोट सुन्तला लगाएका योगीसँग अहिले ९५० बोट सुन्तला छन् । 

आम्दानीको स्रोत भनेकै सुन्तला खेती भएको भन्दै भरतनाथले गएको भदौँबाट सुन्तलामा धेरै समस्या आएर पात पहेँलो हुने, बोट सुक्ने समस्या देखिएको बताउनुभयो । डाँगीगाउँका किसान जीवन डाँगीको बगैंचामा पनि सुन्तला झर्ने, पात पहेँलो हुने र बोट सुक्ने समस्या देखिएको छ । 

उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष उत्पादन करिब ७५ प्रतिशतले घटेको छ । तीन दशक अघिदेखि सुन्तला खेती गर्दै आउनुभएका जीवनले गएको बर्ष २०० क्विन्टल सुन्तला बेचेर करिब १८ लाख रुपियाँ आम्दानी गर्नुभएको थियो । तर यस वर्ष ५० क्विन्टल सुन्तला उत्पादन हुन पनि मुस्किल हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

४५० बोट सुन्तलाको बगैचा रहेको जीवनले बगैचामा समस्या देखिएपछि कृषि कार्यालयमा जानकारी गराएको र त्यसपछि निलोतुथो, चुना लगाएका तत्व राखे पनि समस्या समाधान नभएको बताउनुभयो । आफ्नो आधा बगैचा सखाप भइसकेको उहाँको भनाइ छ । 

एक दशकदेखि सुन्तला खेती गर्दै आउनुभएका बथान गाउँका प्रेम प्रकाश शर्माको बगैंचामा पनि सोचेअनुसारको फल छैन । १५० बोट सुन्तलाबाट गएको वर्ष १० क्विन्टल उत्पादन भएको तर यो वर्ष फल नै राम्रोसँग नलागेको र लागेको पनि झरेर गएको भन्दै दुःख व्यक्त गर्नुभयो । 

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा सिट्रस ग्रिनिङ्ग रोग गम्भीर चुनौतीका रूपमा देखिएको छ । सिट्रस सिल्ला नामक कीराबाट सर्ने यो रोग एक पटक फैलिँदा बगैंचा नै नष्ट हुनसक्ने खतरा रहन्छ । हालसम्म गरिएको परीक्षणमा ५० बगैंचामध्ये ३५ वटा पोजिटिभ देखिएका छन् । 

कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यका अनुसार यस रोगको हालसम्म कुनै उपचार छैन । रोकथाम नै यसको प्रभावकारी उपाय रहेको उहाँको भनाइ छ । रोगमुक्त बिरुवा प्रयोग, रोगी बोट तुरुन्त हटाउने, कीरा नियन्त्रण र नियमित बगैंचा व्यवस्थापन आवश्यक रहेको आचार्यले बताउनुभयो । जिल्लामा पुराना र साना बिरुवासहित एक हजार ६७५ हेक्टर क्षेत्रमा सुन्तला खेती भइरहेको छ । 

जिल्लामा करिब एक हजार किसान व्यावसायिक रूपमा सुन्तला खेतीमा संलग्न छन् । पछिल्लो समय किसानहरू अनुदानमा बढी केन्द्रित भई बगैंचा व्यवस्थापनमा लापरवाही गर्दा सुन्तला खेती संकटतर्फ उन्मुख भएको कृषि कार्यालयले जनाएको छ । नियमित छाँटाइ, मल व्यवस्थापन र रोग नियन्त्रणमा ध्यान नदिए सुन्तला खेती जोगाउन कठिन हुने कार्यालयले जनाएको छ ।