काठमाडौँ, पुस १७ गते । सन् २०२५ लाई फर्केर हेर्दा नेपालको राष्ट्रिय खोप कार्यक्रमले स्वास्थ्य क्षेत्रमै ऐतिहासिक उपलब्धिहरू हासिल गरेको देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएको खोप कार्यक्रमले बालबालिका, किशोरी तथा समुदायको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सफलता प्राप्त गरेको हो।
नेपालमा पहिलोपटक राष्ट्रिय एचपीभी (पाठेघरको मुखको कयान्सर गराउने भाइर) खोप अभियान सञ्चालन गरिँदा लक्षित समूहका ९४ प्रतिशत किशोरीले खोप प्राप्त गरेका छन्।
कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेटिएको यस अभियानलाई पाठेघरको मुखको क्यान्सर रोकथामतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
यसै वर्ष एउटै आर्थिक वर्षभित्र देशका सबै ७७ जिल्ला पूर्णखोप घोषणा हुनु अर्को ऐतिहासिक सफलता हो। साथै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपालले रुबेला रोग निवारण हासिल गरेको भनी औपचारिक रूपमा प्रमाणित गरेको छ।
जसले नेपालको खोप प्रणाली अन्तर्राष्ट्रिय स्तरमै सुदृढ रहेको पुष्टि गरेको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवी कार्यक्रमलाई डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रको जनस्वास्थ्य च्याम्पियन पुरस्कार प्रदान गरिनु अन्तर्राष्ट्रिय सम्मानका रूपमा रहेको छ।
त्यस्तै, पर्सा र बारा जिल्लामा हैजा महामारी नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानबाट लक्षित जनसंख्याको ९० प्रतिशतलाई हैजा विरुद्ध खोप दिइएको छ। पोलियो रोग निगरानीतर्फ पनि नेपाल उत्कृष्ट बनेको छ।
डब्लुएचको दक्षिणपूर्वी एशिया क्षेत्रका देशहरूमध्ये सबैभन्दा उच्च नन पोलियो एपीएफ रेट हासिल गर्दै नेपाल पोलियो निगरानीमा अग्रस्थानमा रहन सफल भएको छ।
डब्लुएचओ-युनिसेफको तथ्याङ्कअनुसार शून्य डोज तथा पूर्ण खोप नपाएका बालबालिका पहिचान र खोप प्रदान गर्ने कार्यमा पनि नेपाल सिएरो क्षेत्रमै अग्रणी देखिएको छ।
अन्तर्राष्ट्रिय जर्नल द ल्यान्सेटमा प्रकाशित विश्लेषणले खोप एजेन्डा २०३० का प्रमुख लक्ष्यहरू नेपालले समयअगावै हासिल गरिसकेको उल्लेख गरेको छ।
साथै खोपको प्रभावकारिताका कारण नेपालले सन् २००५ मै मातृ तथा नवशिशु धनुष्टङ्कार निवारणको लक्ष्य हासिल गरिसकेको र यो अवस्था अझै कायम रहेको विज्ञ टोलीको मूल्याङ्कनले पुष्टि गरेको छ।
यी उपलब्धिहरूले राष्ट्रिय खोप कार्यक्रम नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा स्थापित हुँदै गएको स्पष्ट सङ्केत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।