• १७ पुस २०८२, बिहिबार

‘हेल्थी स्माइल, हेल्थी गोदावरी’ अभियान विद्यालयमा

blog

  • फ्लोराइडले मुख कुल्ला गर्दा करिब ३० सेकेन्डदेखि एक मिनेटसम्म मुखमा राखी कुल्ला गर्नु पर्ने, कुल्ला गरिएको पदार्थ ननिली थुक्नुपर्ने तथा तल–माथि, दायाँ–बायाँ गरी राम्ररी कुल्ला गर्नुपर्ने जानकारी प्रदान गरिएको छ।

ललितपुर, पुस १७ गते । गोदावरी नगरपालिकाले बालबालिकाको दन्त स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित विद्यालय केन्द्रित कार्यक्रम सुरु गरेको छ। ‘हेल्थी स्माइल, हेल्थी गोदावरी’ नाम दिइएको कार्यक्रम बिहीबारदेखि गोदावरी नगरपालिका–१४ऽ ठेचोस्थित सरस्वती माध्यमिक विद्यालयबाट सुरु गरिएको हो।

नगरपालिकाका अनुसार कार्यक्रमअन्तर्गत पालिकाभित्रका ६ देखि १४ वर्ष उमेर समूहका बालबालिका समेटिने छन्। गोदावरी नगरपालिका एसाेसिएसन अफ डेन्टल कोअपरेसन इन नेपाल (एडिसिएन)सँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा दाँतलाई स्वस्थ राख्न सातामा एकपटक फ्लोराइडले मुख कुल्ला गराइने व्यवस्था गरिएको छ।

कार्यक्रममा फ्लोराइडले मुख कुल्ला गर्दा दाँतमा किरा नलाग्ने र मुख स्वास्थ्य सुरक्षित रहने जानकारी दिइएको छ। मुख स्वास्थ्य सुदृढ बनाउन फ्लोराइड महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।

नगरपालिकाका अनुसार दन्त स्वास्थ्यका क्षेत्रमा यो कार्यक्रम नौलो पहल हो र यस्तो कार्यक्रम सुरु गर्ने गोदावरी नगरपालिका पहिलो स्थानीय तह हो। यस कार्यक्रमलाई गोदावरीबाट सुरु गरी देशभर विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। दाँतलाई बलियो र सुरक्षित राख्न बेलैमा ध्यान दिन सके उपचारमा लाग्ने महँगो खर्च जोगिन सकिने जनाइएको छ। नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी रोग नै लाग्न नदिने रणनीतिका साथ काम गरिरहेको जानकारी दिइएको छ।

एडिसिएनले विगत करिब ४० वर्षदेखि गोदावरीको ठेचो क्षेत्रमा दन्त स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउँदै सोही संस्थासँगको सहकार्यमा पालिकाभर दन्त स्वास्थ्यसम्बन्धी काम अघि बढाइएको उल्लेख गरिएको छ।

फ्लोराइडले मुख कुल्ला गर्दा करिब ३० सेकेन्डदेखि एक मिनेटसम्म मुखमा राखी कुल्ला गर्नु पर्ने, कुल्ला गरिएको पदार्थ ननिली थुक्नु पर्ने तथा तल–माथि, दायाँ–बायाँ गरी राम्ररी कुल्ला गर्नुपर्ने जानकारी प्रदान गरिएको छ।

एडिसिएनका अनुसार गोदावरी नगरपालिकामा करिब ३० वर्षदेखि दन्त स्वास्थ्यका क्षेत्रमा काम हुँदै आएको छ। दाँतलाई स्वस्थ राख्न सानै उमेरदेखि सचेतना आवश्यक हुने भएकाले विद्यालयस्तरबाट कार्यक्रम सुरु गरिएको जनाइएको छ।

नगरपालिकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षालाई समान प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिएको छ। साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा सहकार्यलाई महत्त्व दिँदै कार्यक्रम अघि बढाइएको जानकारी दिइएको छ।