चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १७ गते। जननेता स्वर्गीय मदनकुमार भण्डारीको ताप्लेजुङस्थित जन्मघर पुनर्निर्माण तथा पार्क निर्माण गरिने भएको छ। जिल्लाको मैवाखोला गाउँपालिका–२, ढुङ्गेसाँघुको ठोट्नेमा रहेको स्व. भण्डारीको जन्मघर पुनर्निर्माणसँगै पार्क निर्माण गरिने भएको हो।
नेकपा (एमाले) का तत्कालीन महासचिव रहनुभएका स्व. भण्डारीको जन्मघर अहिले जीर्ण अवस्थामा रहेको छ। फुस (खर) को छाना भएको ढुङ्गा, माटो, काठ र बाँसको भाटा प्रयोग गरी निर्माण भएको जीर्ण अवस्थामा रहेको जननेता भण्डारीको घर कोशी प्रदेश सरकारको योजना अन्तर्गत पुनर्निर्माण गरिने भएको हो।
पूर्वाधार कार्यालय ताप्लेजुङका अनुसार जननेता स्वर्गीय भण्डारीको जन्मघर पुनर्निर्माण तथा पार्क निर्माण योजनाका लागि प्रदेश सरकारबाट ८० लाख रुपियाँ बजेट विनियोजन भएको छ। चालू आर्थिक वर्षका लागि विनियोजित उक्त बजेटबाट स्व. भण्डारीको जन्मघर पुनर्निर्माण गर्न लागिएको हो। स्व. भण्डारीको जन्मघर पुनर्निर्माण तथा पार्क निर्माणका लागि प्रक्रिया सुरु भएको पूर्वाधार कार्यालय ताप्लेजुङका प्रमुख सिनियर डिभिजन इन्जिनियर कुमार कुसलय कर्णले जानकारी दिनु भयो।
सिडिई कर्णका अनुसार अबको एक महिनाभित्र घर पुनर्निर्माण तथा पार्कका संरचना निर्माणको काम सुरु हुने छ। उहाँले हाल योजनाको लागत अनुमान (इस्टिमेट) तयार भइरहेको बताउनु भयो। इस्टिमेटलाई अन्तिम रूप दिने उद्देश्यले बिहीबार मात्र स्वर्गीय जननेता भण्डारीको जीर्ण अवस्थामा रहेको जन्मघरको स्थलगत अवलोकन तथा अनुगमन गर्नुका साथै स्थानीयसँग छलफल गरिएको छ।
कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोसहितको उपस्थितिमा जीर्ण घर साथै पार्क निर्माणस्थलको अवलोकन र अनुगमन गरिएको हो। स्थलगत अवलोकनसँगै घर पुनर्निर्माण तथा पार्क निर्माणसम्बन्धी सर्वपक्षीय सहभागितामा स्थानीयसँग छलफल गरिएको पूर्वाधार कार्यालयका प्रमुख कर्णले बताउनु भयो।
स्थानीयको सुझावमुलक माग र आवश्यकता अनुसार हाल जीर्ण अवस्थामा रहेको जननेता स्व. भण्डारीको घरको छाना खर हटाएर जस्तापाता छाउने, घरको ढुङ्गा माटो हटाएर सिमेन्ट ढलाई (प्लास्टर) गर्ने सर्वपक्षीय निर्णय भएको सिडिई कर्णले बताउनु भयो। यस्तै आँगनमा चेप्टो ढुङ्गा बिच्छाउने, घर तथा पार्क संरचनाको घेराबार लगाउने, प्रवेशद्वार (गेट) निर्माण गर्ने निर्णय भएको उहाँले बताउनु भयो।
त्यस्तै घर अगाडि झण्डा गाड्ने ठाउँ बनाउने र स्वर्गीय मदनकुमार भण्डारीको पूर्ण कदको सालिक निर्माण गर्ने निर्णयसमेत भएको सिडिई कर्णले जानकारी दिनु भयो। उहाँका अनुसार उक्त सर्वपक्षीय निर्णय बमोजिम नै घरको पुनर्निर्माण तथा पार्क निर्माणको डिजाइन बनाएर कार्यान्वयन गरिने छ।
उहाँले इस्टिमेट तयार भइसकेपछि तत्काल बोलपत्र आह्वान गरी योजना कार्यान्वयन अर्थात् निर्माणको काम सुरु गरिने बताउनु भयो। करिब डेढ रोपनी क्षेत्रफल बराबरको जग्गामा घर पुनर्निर्माण तथा पार्क निर्माण गरिने पनि उहाँले बताउनु भयो। पुरानो घरको मौलिकता नबिग्रिने गरी नयाँ संरचना निर्माण गरिने उहाँले जानकारी दिनु भयो।
जननेता भण्डारीको २०५० साल जेठ ३ गते पोखराबाट फर्कने क्रममा चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी मृत्यु भएको थियो। २०५६ सालको जनआन्दोलनताका वाममोर्चामा सक्रिय हुँदै नेकपा (माक्र्सवादी लेनिनवाद) को नेतृत्वमा रहनु भएका भण्डारीले त्यसबेला स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा (माक्र्सवादी) सँग पार्टी एकीकरण गर्दै नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) बनाउन भूमिका खेल्नु भएको थियो।
नेकपा (एमाले) बनाएपछि भण्डारीले प्रतिपादन गर्नुभएको बहुदलीय जनवादको नीति पछ्याउँदै एमाले अघि बढेको थियो। उहाँले आन्तरिक राजनीतिक घटनाक्रमसँगै माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादका सिद्धान्त प्रतिपादन गर्नु भयो। स्व. भण्डारीले प्रतिपादन गरेको सोही सिद्धान्तलाई अहिले पनि नेकपा (एमाले) ले अङ्गीकार गर्दै आएको छ।
जननेता भण्डारीको जन्म भने वि.सं २००९ सालमा पिता (बाबु) देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीको कोखबाट भएको थियो। भण्डारी दम्पतीको माइला छोराको रूपमा ढुङ्गेसाँघुको ठोट्नेमा उहाँको जन्म भएको हो। पतिसँगै राजनीतिमा सक्रिय रहनु भएकी स्वर्गीय भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति हुनु भयो।