• १७ पुस २०८२, बिहिबार

किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा

blog

उत्तर कोरियाली नेता किम जोङ उन ।

सियोल, पुस १७ गते । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गर्नु भएको छ । उहाँले आफ्नो सेनालाई राष्ट्रको सम्मानको ‘वीरतापूर्ण’ रक्षाका लागि बधाई दिंदै उनीहरूलाई ‘साहसी बन्न’ निर्देशन दिनुभएको राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले बिहीबार जनाएको छ ।

दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायका अनुसार प्योङयाङले युक्रेनमा रुसको करिब चार वर्ष लामो आक्रमणमा हजारौँ सेना पठाएको छ । दक्षिण कोरियाको अनुमान अनुसार कम्तीमा ६०० जनाको मृत्यु भइसकेको छ र हजारौँ घाइते भएका छन् । विश्लेषकले उत्तर कोरियाले रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि र खाद्यान्न तथा ऊर्जा आपूर्ति गरिरहेको बताएका छन् ।

किमले सैनिकलाई ‘विदेशी भूमिमा बहादुरीका साथ लडिरहेका’ भनी सम्मान गर्दै भन्नुभयो, “तपाईको पछाडि प्योङयाङ र मस्को छन् ।” उहाँले रुससँगको गठबन्धन बलियो बनाउन सैनिकलाई ‘भ्रातृ रूसी जनताका लागि’ लड्न आह्वान गर्नुभयो । केसिएनएले किमको नयाँ वर्षको भाषण र मे डे स्टेडियममा भव्य उत्सव प्रदर्शनको तस्बिर सार्वजनिक गरेको छ, जसमा उहाँकी पत्नी रि सोल जु र छोरी जु एई पनि देखिनु भएको छ । छोरीलाई सम्भावित उत्तराधिकारी मानिन्छ ।

विश्लेषकका अनुसार रुससँगको गहिरो गठबन्धनले किमको शासनलाई आर्थिक र सैन्य जीवनरेखा प्रदान गर्दै उहाँलाई अमेरिका र दक्षिण कोरियाबाट आएको वार्ता प्रस्ताव अस्वीकार गर्ने स्वतन्त्रता दिएको छ । क्युङ्गनाम विश्वविद्यालयका प्राध्यापक लिम युल-चुलले भन्नुभयो, “विदेशी सैन्य अपरेसन वा सहयोग अब असाधारण छैन, तर आधिकारिक रक्षा नीतिको भागका रूपमा समाहित भएको छ ।”

यद्यपि, स्थलगत विवरणले युरोपको सबैभन्दा रक्तपातपूर्ण युद्धमा उत्तर कोरियाली सैनिकको स्थिति गम्भीर रहेको देखाउँछ । दक्षिण कोरियाली गुप्तचर सेवा र युक्रेनले पत्ता लगाएका दुई सैनिकले बन्दी बनाइएपछि आत्महत्या आदेश पाएको र हाल उनीहरू दक्षिणतर्फ फर्कन इच्छुक रहेको बताएका छन् । रासस/एएफपी