• १७ पुस २०८२, बिहिबार

९३ थान हजारका नक्कली नोटसहित छजना पक्राउ

blog

प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बरामद गरेको एक हजार रुपियाँ दरका नक्कली नोट । तस्बिर : नेपाल प्रहरी

गाेरखापत्र अनलाइन 

काठमाडौं, पुस १६ गते । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट छ जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब ९ः३० बजे उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट एक हजार रुपियाँ दरका नक्कली नोट ९३ थान बरामद गरेको जनाएको छ।

काठमाडौं उपत्यका प्रहरीका अनुसार, पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ घर भई हाल काठमाडौं शंखरापुर नगरपालिका–४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, सोही स्थानका ४४ वर्षीय पासाङ शेर्पा, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ छन्।

यसैगरी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई हाल शंखरापुर–६ बस्ने ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ घर भई हाल शंखरापुर–६ बस्ने ६५ वर्षीय गोकर्ण थापा र काठमाडौं शंखरापुर नगरपालिका–३ का ४३ वर्षीय सुकबहादुर स्याङ्बो पनि पक्राउ परेका छन्।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।