वासिङ्टन, पुस १७ गते । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताउनुभएको छ । उहाँले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गर्नुभयो ।
रिपब्लिकन नेतृत्वको हाउस जुडिसियरी कमिटीले बुधबार स्मिथले दिएको बन्द-ढोका अन्तर्वार्ताको प्रतिलिपि र भिडियो सार्वजनिक गरेको हो । सो अन्तर्वार्तामा स्मिथले ट्रम्पमाथि लगाइएका अभियोगको आधार दृढतापूर्वक बचाउ गर्दै अनुसन्धान राजनीतिक प्रेरणाबाट गरिएको भन्ने आरोप अस्वीकार गर्नुभयो ।
“यहाँ रहेका प्रमाणले राष्ट्रपति ट्रम्प नै यस षड्यन्त्रका मुख्य व्यक्ति भएको स्पष्ट देखाउँछन् । यी सबै काम उहाँको फाइदाका लागि गरिएको थियो । क्यापिटलमा भएको आक्रमण पनि उहाँ बिना सम्भव थिएन”, स्मिथले भन्नुभयो । उहाँले आफ्नो कार्यालयको काम कुनै पनि हालतमा राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले नभएको पनि स्पष्ट पार्नुभयो ।
डिसेम्बर १७ मा निजी रूपमा गरिएको उक्त बयान सार्वजनिक गवाहीका रूपमा दिन अनुरोध गरिए पनि बन्द ढोकामै सम्पन्न भएको थियो । विशेष सल्लाहकार पदबाट हटेपछि क्यापिटल हिलमा स्मिथको यो एक मात्र उपस्थिति हो । यसले न्याय मन्त्रालयका पछिल्ला दुई ठूला अनुसन्धानबारे सार्वजनिक बुझाइ थप स्पष्ट बनाएको छ ।
ट्रम्पमाथि २०२० को चुनाव उल्ट्याउने षड्यन्त्र र फ्लोरिडास्थित मार-ए-लागो निवासमा गोप्य कागजात अवैध रूपमा राखेको अभियोग लगाइएको थियो । तर २०२४ को चुनावमा ट्रम्प पुनः निर्वाचित भएपछि न्याय मन्त्रालयको नीतिका आधारमा दुवै मुद्दा खारेज गरिएको थियो । स्मिथले ट्रम्पविरुद्ध सङ्कलन गरिएका प्रमाण सजाय दिलाउन पर्याप्त बलिया रहेको आफ्नो विश्वास दोहोर्याउनुभयो ।
उहाँका अनुसार जनवरी ६ सम्बन्धी मुद्दा ट्रम्पकै सहयोगी र समर्थक रिपब्लिकनको गवाहीमा आधारित थियो, जसले पार्टीभन्दा माथि देशलाई प्राथमिकता दिएका थिए । क्यापिटल दङ्गाबारे बोल्दै स्मिथले भन्नुभयो, “प्रमाणले देखाउँछन् कि राष्ट्रपति ट्रम्पले यस अवस्थाको कारण बनाउनुभयो, त्यसको पूर्वानुमान गर्न सक्नुहुन्थ्यो र पछि त्यसको शोषण पनि गर्नुभयो ।” उहाँका अनुसार ट्रम्पले चुनाव चोरी भएको झूट फैलाउँदै समर्थकलाई उत्तेजित पार्नुभयो, उनीहरूलाई क्यापिटलतर्फ मोड्नुभयो र हिंसा सुरु भएपछि रोक्न सक्रिय कदम चाल्न अस्वीकार गर्नुभयो ।
स्मिथले दङ्गाका क्रममा ट्रम्प र रिपब्लिकन सांसदबिचको सम्पर्क पनि मुद्दाको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । फोन रेकर्ड सङ्कलन तथा विश्लेषण वैधानिक र कानूनअनुसार गरिएको भन्दै त्यसप्रति उठेको आक्रोश ट्रम्पतर्फ नै निर्देशित हुनुपर्ने उहाँको भनाइ थियो । स्मिथको बयानले जनवरी ६ को क्यापिटल दङ्गामा ट्रम्पको भूमिकालाई केन्द्रमा राख्दै त्यस घटनाको जिम्मेवारीबाट उहाँ अलग हुन नसक्ने सन्देश स्पष्ट रूपमा दिएको छ । रासस/एपी