• १७ पुस २०८२, बिहिबार

राहुलद्वारा गल्फ उपाधि रक्षा, प्रोमा जयराम पहिलो

blog

उपाधिसहित राहुल विश्वकर्मा ।

काठमाडौँ, पुस १७ गते । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि एमेच्योर गल्फर राहुल विश्वकर्माले जित्नु भएको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न ७२ होलको चार दिने प्रतियोगितामा साविक विजेता राहुलले कुल १४ अन्डर दुई सय ७४ स्कोर खेल्दै उपाधि रक्षा गर्नु भएको हो । अन्तिम दिन बिहीबार चार अन्डर ६८ खेल्नु भएका राहुलले एमेच्योर र प्रो दुवैको ट्रफी जित्नु भयो । 

प्रोतर्फ जयराम श्रेष्ठ पहिलो हुनु भयो । जयरामले समग्रमा इभनपार दुई सय ८८ स्कोर खेल्नु भयो । अन्तिम दिन पाँच ओभर ७७ मा खेल सक्नु भएको जयरामले एक लाख ७० हजार रुपियाँ पुरस्कार पाउनु भयो ।

समग्रमा दुई ओभर दुई सय ९० खेल्नु भएका तोरण विक्रम शाही र भुवन नगरकोटी संयुक्त दोस्रो हुनु भयो । दुवै जनाले जनही एक लाख १२ हजार ५ हजार रुपियाँ पाउनु भयो । 

यस्तै समग्रमा तीन ओभर दुई सय ९१ खेल्नु भएका निरज तामाङ तेस्रो हुनु भयो । उहाँको हातमा ८२ हजार रुपियाँ पर्‍यो । प्रतियोगितामा प्रोतर्फ शीर्ष १८ मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । एमेच्योरतर्फ कुल चार ओभर दुई सय ९२ स्कोर खेल्दै रुवेन थापा उपविजेता बन्नु भयो ।