• १३ पुस २०८२, आइतबार

तेस्रो लेटाङ रन माघमा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, पुस १३ गते । लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने भएको छ ।

आयोजक लेटाङ रनले पत्रकार सम्मेलन गर्दै माघ १ गते करिव ८ सय धावकहरूको प्रतिस्पर्धाका बिच लेटाङ रनको आयोजना हुने जानकारी दिएको छ । 

 लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउँदै आयोजक समितिका अध्यक्ष किरण राईले  यसवर्ष चार वटा विधामा महिला र पुरुषतर्फ अलग अलग  प्रतिस्पर्धा सञ्चालन गरिने जानकारी दिनुभयो । सबैभन्दा ठूलो पुरस्कार राशी खुला पुरुष/महिला तर्फको १० किलोमिटरको म्याराथन रहनेछ । 

जसमा देश विदेशका खेलाडीहरुले खुलारुपमा सहभागिता जनाउने छन् । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेलाई  मेडलसहित ३० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई ८ हजार र सान्त्वना २ जनाले १/१ हजार रुपियाँ पुरस्कार  प्रदान गरिनेछ ।

यस्तै लेटाङ नगरपालिका भित्रका धावक मात्र सहभागी हुन पाउने हाम्रो लेटाङ विधामा पनि महिला र पुरुष दुवैतर्फका प्रतिस्पर्धा हुनेछन् । जसमा प्रथम हुनेले मेडल सहित ७ हजार नगद, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार र सान्त्वना २ जनाले १/१ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।  

यस्तै भेट्रान महिला र पुरुषतर्फको म्याराथनमा प्रथम हुनेलाई मेडल सहित १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई ४ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी कक्षा ८ भन्दा तल अध्ययनरत विद्यार्थीहरुको महिला र पुरुष दुवै तर्फको प्रतिस्पर्धामा प्रथम हुनेलाई मेडलसहित ५ हजार नगद, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।  

प्रतियोगिता सञ्चालन गर्न लेटाङ नगरपालिका, वडा कार्यालय, सामुदायिक वन, हाल बैदेशिक रोजगारका क्रममा विभिन्न देशमा रहनुभएका लेटाङबासीले सहयोग गरिरहनु भएको छ । प्रतियोगिता सम्पन्न गर्न नौ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।