• १३ पुस २०८२, आइतबार

पर्यटकीय गन्तव्यको विकास

लुम्बिनी, बर्दिया र पाल्पा प्राथमिकतामा

blog

बर्दिया राष्ट्रिय निकुञ्ज

बुटवल समाचारदाता

बुटवल, पुस १३ गते । लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज र पाल्पालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । 

बुटवलमा सञ्चालन भइरहेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीका अवसरमा आयोजित ‘पर्यटकीय प्रवेशद्वार र पूर्वाधार : लुम्बिनी समृद्धिको आधार’ विषयक पर्यटन बहस कार्यक्रममा बोल्दै लुम्बिनी पर्यटन विकास परिषद्का अध्यक्ष रामु जोशीले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गर्न योजना बनाउँदै गरेको बताउनुभयो । 

उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज र पाल्पालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अनुसार काम भइरहेको बताउनुभयो । बहस कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी र विज्ञले पर्यटन क्षेत्रको नीतिगत सुधारका साथै बजेटको सही सदुपयोग गर्न सुझाव दिएका छन् । बहसका सहभागीले पर्यटकीय सङ्घ संस्थाबिच समन्वय र सहकार्यको वातावरण हुनुपर्ने सुझाव दिनुभएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय अभियान तथा टुर प्याकेज सञ्चालन गर्नुपर्ने, धार्मिक पर्यटकका लागि त्यही खालको वातावरण हुनुपर्ने, भारतीय पर्यटकलाई पनि विदेशीलाई जस्तै सम्मानपूर्व व्यवहार गर्न सहभागीले आग्रह गरेका छन् । 

पर्यटन क्षेत्रका अध्येता डा. गितु गिरीले यस क्षेत्रमा ठुलो लगानी भए पनि गन्तव्यबिचको सम्बन्ध (कनेक्टिभिटी) नभएकाले सोतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, “अरबौँ लगानी गरेर संरचना बनायौँ तर कनेक्टिभिटी नभएकाले त्यो चलायमान बनाउन सकिएन, निजी क्षेत्रले पनि योजनाबद्ध काम गर्न सकेन । सरकारको नीतिसमेत स्पष्ट भएन ।” 

सिद्धार्थ होटेल एसोसिएसन (सान) का अध्यक्ष सिपी श्रेष्ठले पर्यटकलाई धेरै दिन गन्तव्यमा टिकाउन किन सकेनौँ भन्ने विषयमा सरकारले मात्रै नभई अब निजी क्षेत्रले पनि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पर्यटन व्यवसायी तथा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले वन ऐन र पर्यटन ऐन संशोधन नभएसम्म पर्यटन क्षेत्रमा कुनै सुधार नआउने तर्क राख्नुभयो । 

होटेल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष माधव खनालले पर्यटनमैत्री वातावरण र लगानीमैत्री वातावरण नभएकाले पर्यटन क्षेत्र अस्थिर भएको बताउँदै यसका लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा हिलपार्क परिषद्का अध्यक्ष टङ्कप्रसाद पराजुलीले बुटवलको जितगढी युद्ध सङ्ग्रहालय बनाउन सात करोड रुपियाँको लगानीमा निर्माण भए पनि अहिलेसम्म प्रयोगमा आउन नसकेको बताउनुभयो ।