• १३ पुस २०८२, आइतबार

‘मुख्यमन्त्री सार्वजनिक सुशासन’ कार्यक्रम सञ्चालन गर्न सम्झौता

blog

सम्झौता पत्र आदानप्रदान गर्नुहुँदै नीति तथा योजना आयोग र दायित्वका प्रतिनिधिहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस १३ गते ।
गण्डकी प्रदेश नीति तथा योजना आयोग र दायित्व ललितपुरबिच ‘मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप’ कार्यक्रम सञ्चालन गर्न सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गण्डकी प्रदेशको तथ्यमा आधारित नीति निर्माणलाई संस्थागत गर्दै शासकीय नवप्रवर्तन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यो सम्झदारी भएको हो । गण्डकी प्रदेशको दोश्रो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेको दीर्घकालीन सोच, प्राथमिकता र नीतिगत लक्ष्यहरु कार्यान्वयन गर्ने उद्देश्यले सहकार्य अघि बढाइएको हो ।

सम्झदारी अनुसार, गण्डकी प्रदेश नीति तथा योजना आयोग र दायित्व ललितपुरबिच नीति अनुसन्धान, शासकीय क्षमता अभिवृद्धि, नवप्रर्द्धतन, ज्ञान आदानप्रदान तथा सुशासन प्रवर्धनसम्बन्धी गतिविधिमा दीर्घकालीन समझदारी गरिनेछ ।

सो अवसरमा बोल्दै गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेलोसिप कार्यक्रममार्फत प्रदेश सरकारमा तथ्यमा आधारित नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो सम्झदारीमा नीति तथा योजना आयोगका तर्फबाट सचिव ध्रुब गिरी, दायित्वका तर्फबाट अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गर्नुभएको छ ।

दायित्व गैससले विज्ञप्ति प्रकाशित गरेर आफ्नो संस्थाको योजना र प्रदेश सरकारको सहकार्यबारे धारणा राखेको छ । सन् २०१३ देखिनै दायित्वले नेपाल सरकारसँग साझेदारी गर्दै बौद्धिक क्षेत्रमा काम गर्दै आएको बताएको छ ।