• १३ पुस २०८२, आइतबार

सडक सञ्जालसँग जोडिने भयो महाबै

blog

महाबै गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माण भएको तिला नदीको बेलिब्रिज ।

प्रेमराज सिम्खडा 

कालीकोट, पुस १३ गते । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कालीकोटको महाबै गाउँपालिकाको केन्द्रलाई सेराबाडा–पादमघाट सडकसँग जोड्न ठेक्का प्रक्रिया सुरु भएको छ । गत महिना कर्णाली प्रदेशको भौतिक योजना तथा सहरी विकास मन्त्रालय र विश्व बैङ्कको संयुक्त लगानीमा ५१ करोड रुपियाँ बजेट स्रोत सुनिश्चित भएपछि ट्यागसहित कालोपत्रेका लागि एक महिना अवधि राखेर गत पुस ७ गते ठेक्का आह्वान भएको हो । 

यो सडकका लागि कर्णाली प्रदेश सरकारको १० करोड रुपियाँ रहेको छ भने बाँकी रकम लगानी विश्व बैङ्कले गर्ने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले कर्णाली राजमार्गको सेराबाडादेखि महाबै गाउँपालिकाको केन्द्र पादमघाटसम्मको छ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको बताउनुभयो । अब महाबै गाउँपालिका पुग्ने सडक निर्माण हुने पक्का भएको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले ठेक्का भएसँगै अब पालिकाको केन्द्रसम्म पुग्न पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने पक्का भएको बताउनुभयो । अध्यक्ष सिंहले भन्नुभयो, “तिला नदीको सेराबाडामा बेलिब्रिज बनाइसकेका छौँ । पादमघाटखोलामा पनि सडक विभागले पक्की पुलको काम गरिरहेको छ । प्रदेश सरकार र विश्व बैङ्कको सहयोगमा पालिका केन्द्रसम्म कालोपत्रे सडकको ठेक्का प्रदेश सरकारले लगाउँदा आफूलगायत गाउँपालिकाका सबैलाई खुसी बनाएको बताउनुभयो । 

कालीकोटका नौमध्ये आठ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगे पनि महाबै गाउँपालिकाको केन्द्र पुग्न कर्णाली राजमार्गको सेराबाडाबाट तीन घण्टा पैदल जानुपर्ने बाध्यता छ । महाबै जान तिला नदी तर्नुपर्ने हुन्छ । तिला नदीमा गत वर्ष पुरानो बेलिब्रिज जडान गरिएको थियो । अहिले पादमघाटखोलाको पक्की पुल निर्माणका लागि सडक विभागले ठेक्का लगाएर काम भइरहेको छ । महाबैको केन्द्र पुग्ने सडक नबनेकाले स्थानीय पैदल हिँड्न बाध्य छन् । कर्णाली प्रदेश सरकारको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत गाउँपालिकालाई ५१ करोड रुपियाँको ठेक्का लगाउन स्वीकृति प्राप्त भएपछि ठेक्का प्रक्रिया सुरु गरिएको महाबै गाउँपालिकाका प्राविधिक अक्कलबहादुर शाहीले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले कर्णाली राजमार्गको सेराबाडामा तिला नदी तरेपछि कडा चट्टान हुँदै सडक खन्नुपर्ने भएकाले विस्फोट गरेर सडक निर्माण गर्नुपर्ने भएको हो । सोही व्यवस्थासहितको काम गर्ने गरी ठेक्का आह्वान भएको जानकारी उहाँले दिनुभयो ।