रमेश विश्वकर्मा
गुल्मी, पुस ५ गते । शनिबार गुल्मीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा पत्रकार र कलाकारबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतिष्ठान गुल्मी र नेपाल पत्रकार महासंघ गुल्मीबिच बिहान ९ बजेदेखि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने छ ।
इस्मा गाउँपालिका–१ वीपी पार्कस्थित अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा साँस्कृतिकसहित अन्य कार्यक्रम पनि हुनेभएको बताइएको छ । कला र कलम सँगसँगै रहेकोले थप मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीका अध्यक्ष मोहन बस्नेतले बताउनुभयो ।
प्रतियोगिताले पत्रकार र कलाकारको आपसी सम्बन्ध थप मजबुत बनाउनुका साथै मैत्रीपूर्ण सम्बन्ध स्थापनाका लागि क्रिकेट प्रतियोगिताले सहयोग गर्नेछ । प्रतियोगिताले दुवै टोलीलाई फाइदा पुग्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष अनिल खत्रीले बताउनुभयो । खेल जीतहारभन्दा पनि थप सुदृढ सम्बन्ध र सिकाइ हुने उहाँको भनाइ छ ।