काठमाडौं, असार २४ गते ।
सयौं थुङ्गा फूलका हामी
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
राष्ट्रिय गानको रचना भएको १५ वर्ष बितेको छ । २०६२/०६३ काे जनआन्दोलन पछिको नयाँ राष्ट्रिय गानका रचनाकार व्याकुल माइला हुनुहुन्छ । रचनाकार माइलाका अनुसार यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मङ्सिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो र २०६४ वैशाखमा राष्ट्रिय गानका रूपमा छानिएको थियाे ।
राष्ट्रिय गानका सर्जक बनेपछि आफ्नो जीवनमा परिवर्तन आएको रचनाकार माइलाको अनुभव छ । “राष्ट्रिय गानमा प्रयोग भएका शब्दले देश, जनता र समाजको वास्तविकता बयान गरेको छ, उहाँ भन्नुहुन्छ, ''हामी नेपाली जनताको जीवनशैली, संरचना, विशेषता र परिस्थिति जस्तो छ त्यसैलाई मैले शब्दमा व्यक्त गर्ने प्रयास गरेको हुँ ।''
राष्ट्रिय गान सार्वजनिक विषयवस्तु र चासोको विषय हो । जुनसुकै सभा समारोहमा आफूले रचना गरेको राष्ट्रिय गान गुन्जिदा गर्व महसुस हुने उहाँ बताउनुहुन्छ । राष्ट्रिय गानले सम्पूर्ण देश, जनता र नेपालीलाई समेटेको उहाँको भनाइ छ ।
प्रदीपकुमार राईबाट व्याकुल माइला बन्ने यात्रा निकै रमाइलो रहेको उहाँ बताउनुहुन्छ । घर परिवारमा माइलो छोरोको रुपमा उहाँकाे जन्म भयो । यसबाहेक आफ्नो कविता पढेर आफैँ रुने माइलाको मन निकै विरक्त, उदास र वैरागी प्रकृतिको छ ।
आफ्नो प्रकृतिसँग मिल्ने शब्दको चयन आफैँ गरेर साहित्य क्षेत्रमा व्याकुल माइला नाम राखेको उहाँ बताउनुहुन्छ । यसै विषयमा केन्द्रित रहेर राष्ट्रिय गानका रचनाकार व्याकुल माइलासँग गोरखापत्र अनलाइनले गरेको भिडियो संवाद ।
भिडियाे: मनाेजरत्न शाही र केशब गुरूङ