• ५ मंसिर २०८२, शुक्रबार

गीता जयन्ती मनाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ५ गते । श्रीमद्भागवत गीता जयन्ती–२०८२ को अवसरमा श्रीमद्भागवत गीता दर्शन परिचर्चा, योग शिविर तथा गीता ज्ञान साधक सम्मान कार्यक्रम आयोजना गरिने भएको छ ।

जीवनका लागि गीता ज्ञान अभियान नेपाल (गीता फोर लाइफ) को आयोजनामा मङ्सिर १३ गते उक्त कार्यक्रम आयोजना हुन लागेको अभियान नेपालका अन्तर्राष्ट्रिय संयोजक केदार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार गीता सरक्क पाठ गर्ने, फलफूल चढाउने, पाठ गर्ने ग्रन्थ मात्र नभएर हाम्रो जीवन विज्ञान रहेछ भन्ने बुझेपछि धनगढीका प्राध्यापक हरिचन्द्र कमलीले एउटा अभियान थाल्नु भएछ । 

संस्कृत विश्वविद्यालयका गीतासम्बन्धी विज्ञ र अध्येतालाई उक्त अभियानमा राखेर केही वर्षदेखि जुमको माध्यमबाट उक्त अभियानमार्फत जान्ने र दैनिक जीवनमा उतार्ने प्रयत्न गरेको उहाँले बताउनुभयो । बस्नेतले भन्नुभयो, “गत वर्ष श्रीमद्भागवतसम्बन्धी वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा आँचल बस्याल विजेता हुनुभएको थियो । अब फेरि गीता जयन्तीका अवसरमा उक्त प्रतियोगिता आयोजना गरिने उहाँले बताउनुभयो । उक्त अवसरमा गीतासम्बन्धी अध्ययन गर्नुभएका र अभियानमा लाग्नुभएकालाई आमन्त्रण  गरिएको र ७० वर्षभन्दा माथिका तथा गीतासम्बन्धी अभियानमा चासो राख्नेलाई गीताको किताब प्रदान गरेर सम्मान गर्न लागिएको जानकारी बस्नेतले दिनुभयो ।

कार्यक्रमका संस्थापक संयोजक डा. हरिचन्द्र कमलीले कार्यक्रमको प्रमुख अतिथिमा डा. केशवानन्द स्वामी तथा गीता ज्ञान पाठशालाका प्राचार्य देवेन्द्र कश्यम रहनुहुने जानकारी दिनुभयो । कार्यक्रमका राष्ट्रिय संयोजक आचार्य सुरेन्द्र ओझा, प्रमुख सल्लाहाकार डा. चिन्तामणि नाथ योगी र कार्यक्रमका संयोजक सुदीप पौडेल रहनुभएको छ । सो कार्यक्रममा पाँच दिवसीय निःशुल्क इन्टिग्रेटेड योग अभ्यासको पनि आयोजना गरिने संयोजक कमलीले बताउनुभयो ।