• ५ मंसिर २०८२, शुक्रबार

ग्रामीण सडकमा बढ्दै जोखिम

blog

प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर ५ गते । कालीकोट जिल्लाका स्थानीय तह जोड्ने जीर्ण सडकमा यात्रुले जोखिम पूर्ण यात्रा गर्ने बाध्य छन् । स्थानीय तहका जनप्रतनिधिले आफ्नो कार्यकालमा सडक विस्तारलाई प्राथमिकता दिए पनि सडकको स्तरउन्नती नहुँदा ग्रामीण सडकमा जोखिम बढ्दै गएको हो । कर्णाली करिडोरको लालीघाटबाट नरहरीनाथ गाउँपालिका जोड्ने सडकमा ट्याक्टर चलाउन समेत समस्या छ ।

तर त्यही सडकमा बोलेरो जिपमा १८ देखि २० जना यात्रु राखेर चलाउने गरिएको छ । क्षमताभन्दा तेब्बर यात्रु राख्ने गरिएको छ भने अर्को तर्फ सडकको अवस्था निकै जीर्ण छ ।

यसले सवारी नियमनको हत्या हुने गरेको स्थानीयको गुनासो छ । यसरी जीर्ण सडकमा यात्रा गर्दा कुनै दिन ठुलो दुर्घटना हुने सम्भावन प्रवल देखिएको छ ।  

स्थानीय सबिन भण्डाराले लालीघाटदेखि नरहरीनाथ गाउँपालिका तर्फ जाँदै गरेको चालकसहित पाँच सिटे बोलेरोमा १९ जना यात्रु राखिएको बताउनुभयो ।

ग्रामीण सडकको अनुगमन गर्नेदेखि अस्थाइ रोड परमिड अर्थात सवारी साधन चलाउने अनुमति दिने निकाय जिल्ला प्रशासन आँखा बन्द गरेर बसेको भण्डाराको गुनासो छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सूयलले ग्रामीण सडकका विषयमा एक पटक यातायात व्यवसायीहरुसँग तत्काल छलफल गर्ने बताउनुभयो ।