सन्तोष दहित
दाङ, मङ्सिर ५ गते । दंगीशरण गाउँपालिका वडा नम्बर ३ हेकुली र वडा नम्बर ५ सलौराबिचको सीमा क्षेत्र माया खोलामा अझै पनि पुल नबन्दा दुबै गाउँका बासिन्दा आवत–जावतमा वर्षौंदेखि समस्या भोगिरहेका छन् । हिँडेर जम्मा १० मिनेटमै पुगिने दूरी भए पनि खोलामा पुल नहुँदा घण्टौ लाग्ने वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यकता स्थानीयको छ ।
स्थानीय सिजुली चौधरीका अनुसार माया खोलामा बाढी आयो भने गाउँवासीहरूलाई घुमाउरो बाटो हिँड्नुपर्छ । “खोला बढ्यो भने उत्तरतर्फ मेरौली, पोतली, नोनरागाउँ वा दक्षिणतर्फ बैबाङ र सुकदेवा मौली हुँदै हिँड्नुपर्छ,” उहाँले भन्नुभयो “साधन भएका मानिसका लागि यो बाटो चलाउनै गाह्रो छ, पैदल हिँड्नेलाई पनि निकै सास्ती हुन्छ ।”
“बर्खाको समयमा त यो बाटो हिँड्नै सकिदैन,’’ उहाँले भन्नुभयो, ‘‘हिउँदमा भने पैदल यात्रुहरु आवत–जावत गर्छन्, पानी पर्यो भने फेरी बन्द हुन्छ ।” पालिकाले चाहेमा त्यो बाटो समाएर हिड्डुलका लागि सहज बनान सकिने भएपनि पालिकाले वास्ता नगरेको उहाँले बताउनुभयो ।
दंगीशरण गाउँपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरीले आफ्नो कार्यकालमा सो बाटोको स्तरोन्नति गरे पनि पुल निर्माणका लागि प्रदेश र संघीय सरकारको ध्यान नपुगेको बताउनुभयो । “हामीले पुल निर्माणका लागि पटक–पटक पहल ग¥यौं, तर माथिल्लो तहले वास्ता गरेन,” उहाँले भन्नुभयो, ‘‘यदपी मैले पालिको पूर्व जनप्रतिनिधिको हैसियते पनि अहिले पनि सो क्षेत्रमा पुल निर्माणका लागि प्रदेश र संघीय सांसददेखि सम्बन्धित मन्त्रालयसम्म पुगेर फाइल बुझाउनेदेखि दबाबका लागि निरन्तर पहल गरिरहेको छु ।”
यस्तै, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि पुल निर्माणको योजना हरेक आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारमा पेश गरे पनि समावेश नभएको बताउनुभयो । “हामीले हरेक वर्ष प्रदेश र सङ्घीय सरकारको सम्बन्धित मन्त्रालयमा योजना पेश गर्छौं, तर पारित हुँदैन,” अध्यक्ष गिरीले भन्नुभयो, “पालिकामा आफैंले पुल बनाउन सक्ने बजेट छैन ।” आगामी आर्थिक वर्षमा पालिकाले पहिलो नम्बरमा उक्त योजनालाई राखेर फेरी पनि मथिल्लो तहमा योजना पेश गर्ने तयारीमा रहेको लागेको उहाँले बताउनुभयो ।
माया खोलामा पुल नहुँदा हेकुली र सलौराबिचको सम्बन्ध नै ‘विच्छेद’ जस्तै भएको स्थानीयहरू बताउँछन् । “पहिला हामी त्यहिबाटो भएर पालिका, स्वास्थ्य कार्यालयमा जान्थ्यौं, दंगीशरण ५ सलौराका स्थानीय भीम चौधरीले भन्नुभयो, ‘‘पुल नहुँदा पल्लो गाउँबाट घुमेर जानुपर्छ, जसले गर्दा हेकुली गाउँ र सलौरा गाउँको सम्वन्ध नै टुटेको छ ।” पुल नहुदा विद्यालय जाने विद्यार्थीदेखि पालिकाको कार्यालय वा स्वास्थ्य चौकीमा सेवा लिन जाने नागरिकसम्म सबै दिनहुँ सास्ती भोग्दै आएका छन् । छोटो बाटोको सट्टा लामो र जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने बाध्यताले स्थानीयहरूमा आक्रोश र निराशा दुवै बढेको छ ।