• २ पुस २०८२, बुधबार

पूर्वबहस

सुरुङबाट सम्भावना

blog

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

काठमाडौँ, पुस २ गते । सरकारले सडक सञ्जाललाई छोटो, सहज र भरपर्दो बनाउन सुरुङमार्ग निर्माणमा जोड दिएको छ । सुरुङमार्ग निर्माणसँगै मुलुकको सडक पूर्वाधारले पुरानो ढाँचा छोडी अब नयाँलाई आत्मसात् गर्दै छ । अबको राजमार्ग वा सडक खोलाको किनारै किनार वा नदीको तिरैतिर मात्र निर्माण हुने छैनन् । अग्ला डाँडा आउँदा छेड्ने र गहिरा खाल्टा वा खोला आउँदा अग्ला पुल बनाउने गरी निर्माण भइरहेका छन् ।

अहिलेसम्म पहुँचका दृष्टिकोणले मात्र निर्माण गरिएका सडक पूर्वाधारहरू अब मुलुकको समृद्धि र विकासलाई तीव्रता दिने उद्देश्यका साथ निर्माण भइरहेको अवस्थामा सुरुङमार्गलाई प्राथमिकता दिइएको छ । अहिले विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण भइरहेका छन् । थप सुरुङमार्ग निर्माण गर्न विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन, वातावरण प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण तथा आर्थिक स्रोत जुटाउनेलगायत काम भइरहेका छन् । 

पाँच वटा सुरुङमार्ग निर्माणाधीन

सुरुङमार्गसम्बन्धी अध्ययन अनुसन्धान गर्ने सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले अहिले मुलुकभरि पाँच वटा सडक सुरुङमार्ग निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । केन्द्रका निर्देशक दीप बराहीका अनुसार अहिले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना अन्तर्गत तीन वटा, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग र बुटवल–पाल्पा मार्गको सिद्धबाबामा सुरुङमार्ग निर्माण भइरहेका छन् । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना अन्तर्गत छ वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेमा अहिले तीन वटा निर्माणका क्रममा छन् भने तीन वटा निर्माणका लागि ठेक्का प्रव्रिmया सुरु भइसकेको छ । 

मुलुकको रूपान्तरणकारी (गेम चेन्जर) आयोजनाका रूपमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजना अन्तर्गत पनि सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । त्यसै गरी नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना (२.६७ किलोमिटर) अन्तर्गतको मुख्य संरचना (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई सञ्चालनको तयारीमा छ । त्यसै गरी बुटवल–पाल्पा मार्ग अन्तर्गत निर्माण भइरहेका सिद्धबाबा सुरुङमार्ग (१.१२ किलोमिटर) छिचोलिएर तीव्र गतिमा काम भइरहेको छ ।

अध्ययन सम्पन्न

अहिले निर्माणाधीन विभिन्न सुरुङमार्गबाहेक प्रस्तावित थप सात वटा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धरान लेउती सुरुङमार्ग, सुनसरी (३.८७ किलोमिटर) को सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका छन् ।  त्यसै गरी खुटिया–बिपी नगर–दीपायल सुरुङमार्ग कैलाली डोटी (७.०१ किलोमिटर), गोदावरीकुण्ड–काभ्रे–मनेदोभान सुरुङमार्ग ललितपुर काभ्रेपलाञ्चोक (३.६५ किलोमिटर), ब्युँ नरेठाटी सुरुङमार्ग बागलुङ (७.४४ किलोमिटर), प्रवास–जोर्ते सुरुङमार्ग पाल्पा (४ किलोमिटर), कुलेखानी–भीमफेदी सुरुङमार्ग मकवानपुर (३.१६५ किलोमिटर) र खुर्कोट–सिन्धुली (४.९० किलोमिटर) सुरुङमार्ग निर्माणका लागि अध्ययन सम्पन्न भइसकेको छ । 

आठ वटा सडक सुरुङमार्ग अध्ययन हुँदै

केन्द्रका निर्देशक बराहीका अनुसार अहिले देशभरि प्रस्तावित आठ वटा सुरुङमार्गको अध्ययन भइरहेको छ । उहाँका अनुसार कास्कीको फुस्रेखोला छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडीकोला सुरुङमार्गको अध्ययन भइरहेको छ । त्यसै गरी रारा राजर्मागको कुसेपाटन ब्याउलीढुङ्गा (जाजरकोट) र इमिलचा खोला (जुम्ला) सुरुङमार्गको अध्ययन भइरहेको छ । त्यसै गरी ताथली–भक्तपुर–रविओपी (काभ्रे) सुरुङमार्ग, बबई–छिन्चु सुरुङमार्ग (बर्दिया), मझिम्टार–शक्तिखोर (धादिङ–चितवन) सुरुङमार्ग, सुनमाई–राजदुबोल सुरुङमार्ग (इलाम), हेम्जा नयाँपुल सुरुङमार्ग (कास्की) र दुम्कीबास–बर्दघाट सुरुङमार्गको अध्ययन भइरहेको छ । 

त्यसै गरी बेँसीसहर–नाल्म बेँसी सुरुङमार्ग (लमजुङ–मनाङ), लुम्निनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम सुरुङमार्ग र पाँडिनी गाउँपालिकादेखि दुर्गाफाँटा (अर्घाखाँची) सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ ।

ढाँचामा नै परिवर्तनको आवश्यकता

पूर्वसहसचिव ई. नरेशमान शाक्यले अहिलेसम्म निर्माण गरिएका सडकमा बढी उकालो ओरालो (ग्रेड नमिलेका) हुने गरेको बताउँदै अबको सडक पूर्वाधार निर्माणको ढाँचामा नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।  अब सडक निर्माणका क्रममा अग्लो डाँडा भएको ठाउँमा सुरुङ बनाउने र गहिरो ठाउँमा अग्ला अग्ला पुल बनाउनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

सुरुङमार्गको नयाँ यात्रा सुरु

चुरियामाईपछि रोकिएको मुलुकको सुरुङमार्गको यात्रा पुनः सुरु भएको हो । सन् १९१७ मा चुरियामाई सुरुङमार्ग निर्माणपछि मुलुकमा सडक सुरुङमार्गको यात्रा ठप्प नै भएको देखिन्छ । बाराको चुरियामाईदेखि अमलेखगन्जसम्म निर्माण गरिएको चुरियामाई सुरुङलाई एसियाकै पहिलो सडक सुरुङका रूपमा मान्ने गरिन्छ । यसको लम्बाइ २३९ मिटर छ । यो सुरुङमार्ग सन् १९१७ मा खनिएको थियो । यो सुरुङमार्ग इन्जिनियर डिल्लीजङ्ग थापाको डिजाइनमा निर्माण भएको थियो । अहिले यो सुरुङ पर्यटकीय दृष्टिकोणले सर्वसाधारणका लागि खुला गरिएको छ । 

४१६ किलोमिटर सुरुङ 

नेपाल टनेलिङ एसोसिएसनका अनुसार विभिन्न प्रयोजनका लागि मुलुकमा अहिलेसम्म ४१६ किलोमिटर सुरुङको निर्माण भइसकेको छ । एसोसिएसनका अनुसार अहिलेसम्म मुलुकमा सबभन्दा बढी ३५० किलोमिटर हाइड्रोपावर सुरुङ निर्माण भइसकेको छ । 

त्यसै गरी खानेपानी वितरण सुरुङ २७ किलोमिटर, सिँचाइ सुरुङ २५ किलोमिटर, सडक सुरुङ ११ किलोमिटर, खानी सुरुङ दुई किलोमिटर, ढल निकास सुरुङ ५२२ मिटर र म्युजियम सुरुङ ०.३ किलोमिटर रहेका छन् । त्यसै गरी अहिले ३१२ किलोमिटर विभिन्न प्रकारका सुरुङ निर्माणाधीन अवस्थामा छन् । 

नेपालको परिपेक्ष्यमा सबभन्दा पहिले १७ औँ शताब्दीमा पाल्पाको अर्गलीमा सिँचाइ सुरुङ निर्माण गरिएको थियो ।