काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौँको नाट्यकर्ममा रमाउनुभएका रङ्गकर्मी केदारनाथ पौडेल तीन वर्षअघि रङ्गकर्मका केही सपना बोकेर गाउँ फर्किनुभयो । पोखराको फेवातालको दक्षिणी डाँडाको पुम्दीमा बुढाहरे भन्ने गाउँ छ । रसिलो, दक्षिण फर्केको गाउँ । त्यहीँ नाट्यकर्मका सपना बुन्दै हुनुहुन्छ केदार । कहिले सिकर्मी त कहिले डकर्मी बनेर सपना बुन्न जुट्नुभएका केदारले गाउँमा नाट्यकर्मको सपना बुनेर ‘काव्यवाटिका’ बनाउन जुट्नुभएको छ । उहाँ भन्नुहुन्छ, “काव्यवाटिका मेरो भित्री यात्रा जस्तै हो । बर्सौंको भौँतारो, देखेका देश, फर्किंदा नेपाली माटोको सम्झना र प्रकृतिसँगको न्यानो सम्बन्धबाट जन्मिएको सपना हो ।” मानिस जहाँ घुमे पनि अन्त्यमा फर्केर बस्ने ठाउँ तथा सास फेर्न आफ्नै माटो चाहिने उहाँको भनाइ छ ।
चरीले आफ्नो गुँड आफैँ बनाउँछ, मैले पनि आफ्नो घर र आफ्नो सांस्कृतिक बगैँचा आफैँ बनाउने यो सपना बोकेको हुँ, उहाँ भन्नुहुन्छ । उहाँका अनुसार यसको सुरुवात दुई/तीन वर्षअघिदेखि सोचाइमा थियो, तर वास्तविक जग बसाल्न थालेको समय भने लगभग एक वर्ष जति मात्र भयो । त्यही दिनदेखि आजसम्म प्रत्येक ढुङ्गामा, प्रत्येक रुखमा, प्रत्येक पसिनामा त्यो सपना विस्तारै आकार लिँदै आएको छ ।
काव्यवाटिका भवन मात्रै होइन, यो एक अनुभूति हो । यहाँ आइपुग्दा मानिसले पहिलो पटक शान्ति देख्छ, अनि प्रकृतिको धुन सुन्छ । हावाको सुर, पातको झन् झन्, पाखाबाट आउने चराको आवाज । खुला आकाशमुनि नाटक, कविता, सङ्गीत र ध्यानका सत्र, ढुङ्गा, काठ र माटोले बनाइएको स्थानीय सौन्दर्य, सांस्कृतिक प्रयोग, कार्यशाला, बटुवाका अनुभव सुन्ने स्थान, आगो ताप्दै कविता पढ्ने, मौन बसेर सुनिने विश्राम गर्ने ठाउँ र अन्तर्राष्ट्रिय साथीसँग सांस्कृतिक आदानप्रदान गर्ने खुला रङ्गमञ्च यसभित्र बन्दै छ । उहाँले थप्नुभयो, “काव्यवाटिका बनाउन मैले पैसाभन्दा मूल्य हेरेँ स्थानीयपन, दीर्घायु अनि माटोको आत्माले मलाई यहाँ पु¥यायो ।
करिब २.५ रोपनी जति क्षेत्रमा काव्यवाटिका फैलिँदै छ तर भावना धेरै रोपनीको छ । उहाँले भन्नुभयो, “म सानो जग्गामा ठुलो संसार बनाइरहेको छु ।” सिर्जनाबिना जीवन शून्य हुन्छ, अध्यात्मबिना दिशा हुँदैन र प्रकृतिबिना अस्तित्वै हुँदैन त्यसैले काव्यवाटिका यी तिनैलाई एकै धागोमा बाँधिने प्रयास हो । उहाँका अनुसार गाउँ सुनसान छ, मान्छे परदेशतिर बगिरहेका छन् तर संस्कृतिको आगो भने निभेको छैन । काव्यवाटिका बनाउनु भनेको अहिलेका लागि मात्रै होइन । फर्किएर आउने पुस्ताका लागि, खोज्दै आउने यात्रुका लागि र भविष्यमा कला बुझ्ने आँखाका लागि बनाउनु हो । अहिले १३ जना स्थायी कामदार रहेको काव्यवाटिकामा सबैले प्रत्येक ढुङ्गा, काठ, भित्तामा आफ्नो पसिना र ऊर्जा राखेका छन् । उहाँले काव्यवाटिकाभित्र नाटक सिकाइने, अभिनय अभ्यास गर्न पाइने, विद्यार्थी र नयाँ पुस्ताका लागि कार्यशाला चलाइने, अन्तर्राष्ट्रिय कलाकारलाई पनि आमन्त्रण गर्न सकिने बताउनुभयो । यसभित्र खुला रङ्गमञ्चमै प्रस्तुति हुने छन् । उहाँले भन्नुभयो, “काव्यवाटिका एक स्कुल, मन्दिर र रङ््गमञ्च हो ।”