कमल सुवेदी
नेपाली सिनेमा निर्माण हुन थालेको ५५ वर्ष भइसक्यो । राजा महेन्द्रले सरकारी ढुकुटीबाट चलचित्र ‘आमा’ बनाउनुभन्दा अघि निजी क्षेत्रको सुमनाञ्जली प्रोडक्सनबाट ‘माइतीघर’ बनाउने सबै तयारी भइसकेको थियो तर राजा र जनताको एउटै क्षेत्रमा प्रतिस्पर्धा हुने भयो भनेर माइतीघरको निर्माण पछि धकेलिएको तर्क गर्ने धेरै छन् । ‘आमा’ पञ्चायत व्यवस्थाको प्रचारप्रसार गर्ने उद्देश्यले राज्यले बनाएको प्रथम सिनेमा हो भने ‘माइतीघर’ निजी क्षेत्रले बनाएको पूर्णतः व्यावसायिक सिनेमा हो ।
राजाको निर्देशनमा बम्बई (हालः मुम्बई)मा सिनेमाको क्षेत्रमा सङ्घर्षरत व्यक्ति हीरा सिंहलाई नेपाल बोलाइयो । सिंहले तीनवटा कथानक सिनेमा र केही वृत्तचित्र बनाउनुभयो । सिंहले राजा महेन्द्रको धाप त पाउनुभयो तर त्यति बेलाका राज्यका हर्ताकर्ताको व्यवहार सहन नसकेर उहाँ भारत नै फर्किनुभयो । केही समयपछि उहाँको मृत्यु भयो । यसरी नेपालमा कथानक सिनेमाको निर्माणमा इतिहास रचेर हीरा सिंह बिदा हुनुभयो ।
हीरा सिंहले सिनेमा बनाउनुभन्दा १५ वर्षअघि नै देवव्रत परियार (डी.बी. परियार)ले भारतको कोलकाताबाट ‘हरिश्चन्द्र’ सिनेमा बनाइसक्नुभएको थियो । कलकत्ताका डी.बी. चौरसियाको लगानीमा उहाँले ‘हरिश्चन्द्र’ बनाएर नेपाली भाषामा पनि सिनेमा बन्दोरहेछ भन्ने सन्देश पस्किसक्नुभएको थियो । नेपाल र भारतका प्रजातान्त्रिक आन्दोलनमा सशरीर सहभागिता जनाउनुभएका र तत्कालीन नेपाली राष्ट्रिय कांगे्रसका सदस्यसमेत रहनुभएका डी.बी.को कार्यलाई तत्कालीन सत्ताले जतिसक्दो छोप्न नै खोज्यो । यिनै कारणले हुन सक्छ नेपालमा यसको सार्वजनिक प्रदर्शन भएको र त्यसको दर्शक आफू रहेको तथ्य कसैले बताउन सकेका छैनन् । एउटा मात्र बाहिर आएको तथ्य हो– नाट्यसम्राट बालकृष्ण सम आफैँले छोरी ज्वाला समसँगै कोलकातामा यस सिनेमाको छायाङ्कन हेर्नुभएको थियो । यो तथ्य सम आफैँले उजागर गर्नुभएको हो ।
नेपालमा जन्मेर भारतमा निर्वासित परिवारका सदस्य डी.बी.ले ‘हरिश्चन्द्र’मा केही भारतका नेपालीभाषीलाई कलाकारका रूपमा उभ्याउनुभयो भने गीत लेखन, गायनमा पनि भारतीय नेपालीभाषीलाई अवसर दिनुभयो । यसबाहेक सिनेमा निर्माणमा भारतीयकै साथ रहेको छ । नेपाली सिनेमा निर्माणमा भारतीयको वर्चस्व धेरै पछिसम्म कायम थियो । ‘माइतीघर’ सिनेमामा सम्पादन, पाश्र्व सङ्गीत, गायन, छायाङ्कन आदि सबै भारतीयको नै थियो । भारतीय नेपाली निर्देशक बी.एस. थापादेखि भी. बलसारा, जयदेव, देउजी भाइ तथा हरिष पठारेहरूले ‘हिजो आज भोलि’, ‘परिवर्तन’लगायत सिनेमामा काम गरेका थिए । २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना भयो । यसपछि केही नेपाली अनुहार यस क्षेत्रमा देखापरे । धनकुटामा जन्मेर मुम्बईमा पैताला खियाइरहनुभएका प्रकाश थापाको आगमनसँगै ‘मनको बाँध’ सिनेमा बन्यो । सरकारी क्षेत्रबाट नै व्यावसायिक सिनेमाको निर्माण क्रम सुरु भयो भने सम्पादन कार्य पनि नेपालीले नै गर्न थाले ।
‘हरिश्चन्द्र’को निर्माणपछि डी.बी.ले ‘हिमालकी रानी’ बनाउन चाहनुहुन्थ्यो । यस क्रममा दार्जिलिङवरपर दुई दिन छायाङ्कन पनि भएको थियो तर यो कार्य त्यत्तिकै सेलाएको नमिठो इतिहास पनि छ । यसको २६ वर्षपछि भारतको कालिम्पोङबाट पहिलो नेपाली कला चलचित्रका रूपमा ‘परालको आगो’ बनाउनुभयो प्रताप सुब्बाले । गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’लाई पूर्ण न्याय गर्दै बनाइएको यो सिनेमा आज पनि बौद्धिक वर्गका बीच चर्चामा रहेको पाइन्छ । प्रताप सुब्बाले यही चलचित्रमार्फत पहिलो पटक पाश्र्व सङ्गीतकारका रूपमा शान्ति ठटाललाई मौका दिनुभयो । नेपालबाट बसुन्धरा भुसाल र अन्य सबै भारतीय नेपालीभाषी रङ्गमञ्चका कलाकार यसमा समावेश थिए भने गायन, सङ्गीत, नृत्य, निर्देशन, गीत लेखन आदिजस्ता पक्षबाहेक अन्य प्राविधिक पक्ष भारतीयहरूबाट नै सम्पन्न गराइएको थियो । यो सिनेमाको एउटा उल्लेखनीय पक्ष के छ भने तत्कालीन पश्चिम बङ्गाल सरकारले यसको निर्माणमा केही आर्थिक सहयोग पनि गरेको थियो ।
‘हरिश्चन्द्र’पछि नेपालबाहिरबाट ‘परालको आगो’ले इतिहासमा अमर छाप छोड्यो । केही सिनेमा बने चालीसको दशक वरिपरि । ‘जार’, ‘झोडा’, ‘मसाल’,
‘अर्काे जन्म’ आदि सिनेमा भारतबाट बने पनि यी सिनेमाले केवल सङ्ख्या मात्र थपे । यसैगरी ‘बाँसुरी’ सिनेमाबाट तुलसी घिमिरे निर्देशनमा होमिनुभयोे । २०४२ सालतिर ‘कुसुमे रुमाल’ बनेपछि भने अर्काे इतिहास रचियो । उहाँ ‘कुसुमे रुमाल’मार्फत पहिलो पटक प्रदर्शनको रजत जयन्ती मनाउने निर्देशकका रूपमा चिनिनुभयो । उहाँको परिचय यतिमा मात्र सीमित रहेन । यसपछि लगातार
‘चिनो’ र ‘लाहुरे’ले यो परम्परा दोहो-याए । आजसम्म पनि प्रदर्शनको रजत जयन्ती मनाउन सफल सिनेमाहरू यिनै मात्र हुन् । यही बेला सिक्किमका उगेन छोपेलको ‘साइनो’ तथा मुम्बईका शम्भु प्रधानको ‘सम्झना’ले थप इतिहास रचे जसको व्यावसायिक चर्चा आज पनि गर्ने गरिन्छ । ‘माइतीघर’पछि ‘कान्छी’ सिनेमा बनाउनुभएका बी.एस.थापाले यसबाट सुनौलो इतिहास रच्नुभयो । यही क्रममा देशभित्रका निजी क्षेत्र पनि सिनेमा निर्माणमा होमिन थाले । थुप्रै सिनेमा बने । रञ्जित गजमेर तथा शम्भुजित बास्कोटा सिनेमाको पाश्र्व सङ्गीतमा सफल हुनुभयो ।
तुलसी घिमिरे आफ्ना गुरु कमलाकार कर्खानिजलाई गुरु दक्षिणास्वरूप १० वटा सिनेमा बनाउन नेपाल प्रवेश गर्नुभयो । शम्भु प्रधान भने ‘सम्झना’ प्रदर्शन गर्न नेपाल प्रवेश गरेपछि यतै अड्किनुभयो । थुप्रै सिनेमा प्रधानले बनाउनुभयो तर ‘सम्झना’को दाँजोमा भने कुनै आउन सकेन । यसैगरी नृत्य निर्देशक शान्ता नेपाली, द्वन्द्व निर्देशक गोपाल भुटानी, अभिनेता सुनील थापा, निर्देशक बन्नी प्रधान, अमर रसाइली तथा छायाकार चन्द्रप्रकाश घिमिरे पनि यतै बस्न थाल्नुभयो । दीपक क्षेत्री, निरुता सिंह, श्रवण घिमिरे, भारती घिमिरे मात्र होइन ‘परालको आगो’का सर्जक प्रताप सुब्बा पनि यतै आउनुभयो तर ‘परालको आगो’बाट बनेको उहाँको परिचय पछिल्लो कालखण्डमा कायम रहन सकेन ।
डेनी डेन्जोक्पा तथा माला सिन्हाजस्ता हस्तीले समेत एक÷दुई पटक युगान्तकारी उपस्थिति देखाएको परिस्थिति फेरिएर नेपाली सिनेमाको मूल केन्द्र अहिले नेपाल नै बन्न पुगेको छ । अहिले भारतका मुम्बई, सिक्किम तथा दार्जिलिङ नेपाली सिनेमाका केन्द्र होइनन् । हुन त प्रताप सुब्बाको सहयोगमा दार्जिलिङबाट नै नीर शाहको चलचित्र क्षेत्रमा प्रवेश भएको हो । यस क्षेत्रमा नीर शाह ‘पन्नीब्वाई’ वृत्तचित्र बनाएर प्रवेश गर्नुभएको हो । अघिल्लो पुस्ताका अधिकांश नेपाली सिनेकर्मी भारतको पुनास्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटकै उत्पादन हुन् ।
२०४६ सालमा मुलुकमा राजनीतिक परिवर्तन भयो । बहुदलीय व्यवस्था आयो । निजी क्षेत्रबाट झन्डै पाँच सयभन्दा बढी सिनेमा वार्षिक रूपमा बन्न थाले । नीर शाह, प्रेमबहादुर बस्नेत, प्रदीप रिमाल, यादव खरेल, लक्ष्मीनाथ शर्मा, प्रकाश थापाहरूसँगै शिव रेग्मी, किशोर राना, उज्ज्वल घिमिरे आदि उदाए । ‘बलिदान’, ‘आगो’, ‘रक्षक’ जस्ता राजनीतिक विषयमाथि पनि सिनेमाहरू बने । प्रविधिगत रूपमा सिनेमास्कोप भित्रियो भने सेलुलाइड प्रविधि डिजिटलमा रूपान्तरित भयो । मुलुकमा शान्ति प्रक्रियाको आगमनपछि माओवादी दर्शनले पनि सिनेमामा स्थान पायो । नयाँ पुस्ताका निर्देशक विजय बस्नेत, यादव भट्टराई, छिरिङ रितार शेर्पा, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, मनोज पण्डित तथा नवीन सुब्बाहरूले नयाँ विषयको खोजी पनि गरेको पाइन्छ । उनीहरूको यो प्रयासलाई वैकल्पिक सिनेमाको नाम पनि दिन खोजियो तर त्यो चर्चा त्यत्तिकै सेलाउन पुग्यो ।
‘हरिश्चन्द्र’को निर्माणपछि डी.बी.‘हिमालकी रानी’ बनाउन चाहनुहुन्थ्यो । यस क्रममा दार्जिलिङवरपर दुई दिन छायाङ्कन भएको थियो तर यो कार्य त्यत्तिकै सेलाएको नमिठो इतिहास छ ।
२०५८ सालमा चलचित्र विकास बोर्डको स्थापना भयो । अनि सिने क्षेत्रले संरक्षण प्राप्त गर्न थाल्यो । दोस्रो जनआन्दोलनपछि भने रङ्गकर्मसित आबद्ध कलाकारको सिनेमामा आगमन भयो जसले आजसम्म यो क्षेत्रको नेतृत्व गरिरहेको छ । दयाहाङ राई, सौगात मल्ल, अरुणा कार्की, रामबाबु रेग्मी, ऋचा शर्मा, वसन्त भट्ट, रवीन्द्र बानियाँ, अनुप बराल, दीया मास्के, खगेन्द्र लामिछाने तथा विपिन कार्कीहरूले अभिनयमा नेतृत्व गरिरहनुभएको छ । आर्य अनुहार बाहुन, क्षेत्री तथा नेवार जातका नायकहरूको बाहुल्यता रहेको नेपाली सिनेमामा एक दशकयता मङ्गोल, तराईवासी तथा मुस्लिम अनुहार पनि चम्किएका छन् । मिलन चाम्स, माओत्से गुरुङ, छुल्ठेन गुरुङ, रवीन्द्र झा, नाजिर हुसेन तथा जसिता गुरुङ आदिको प्रवेशले चलचित्र क्षेत्र पनि समावेशी भएको मान्न सकिन्छ ।
कोरोना महामारीभन्दा अघि हाँस्यव्यङ्ग्य प्रधान सिनेमा आम दर्शकको रोजाइमा थिए । यस्ता सिनेमाको व्यापार पनि राम्रै भयो । अबको सिनेमाले भने कुन बाटो समात्ला त्यो त हेर्न बाँकी नै छ । कोरोना महामारीको प्रकोपपछि नेपालको सिनेमा बजार पनि पूरै थला प-यो । हलहरू बन्द भए । कतिपय हलहरूलाई अन्य व्यावसायिक प्रयोगमा लगियो । अब डिजिटल रिलिजमा सिनेमा जानैपर्ने बाध्यता देखापरेको छ तर यसमा नेपाली सिनेकर्मी अभ्यस्त हुन सकेका छैनन् । केही वर्षअघिसम्म नेपाली दर्शकको बाहुल्य रहेका देशमा च्यारिटी सो गरी पैसा कमाउने प्रचलन थियो । अब यो शैली पनि त्यति प्रभावकारी नहुने लक्षण देखापरेको छ । नयाँ प्रविधिको खोजी अबको व्यावसायिक सिनेमाका लागि अनिवार्य तत्त्व बन्न पुगेको छ । दर्शकलाई हलमा सहजै उतार्न केही वर्ष सम्भव छैन । यसको विकल्प नखोजे सिनेमा क्षेत्र टिक्ने आधार भेटिँदैन ।