अन्ततः उनले काठमाडौँ छाड्ने नै निर्णय गरिन् । एयर टिकट र खर्चको जोरजामसमेत भइसक्यो । अर्कै कुनै नयाँ सहरमा आफ्नो काम र बस्ने व्यवस्था मिलाएर हिजो भर्खर उनी यहाँ आएकी । उनलाई लिन हिजो म आफैँ एयरपोर्ट गएको थिएँ । एयरपोर्टको बाहिरी लबीमा उनी निस्किँदै गर्दा अनुहारमा मैले एकसाथ उत्साह र उदासीका नसुहाएका रङ देखेको थिएँ । मैले सोधेँ पनि, “किन, खुसी छैनौ ?”
“म यो सहर छाडेर जाने भएँ ।”
“कहाँ ?” मैले फेरि सोधेँ ।
“हेरौँ, समयले कता पु¥याउँछ ?” उनी गम्भीर बनिन् । उनी मसँगका यावत् समयमा अक्सर गम्भीर नै बन्छिन् । सायद म उनको गम्भीरताको असल दर्शक हुँ या यसो भनौँ मेरोअगाडि गम्भीर बन्दा उनी आफूलाई बढी सुरक्षित महसुस गर्छिन् ।
काठमाडौँ छाड्ने पक्का भएपछि उनले यहाँ बसुन्जेल आफूले प्रयोग गरेका सामानको व्यवस्थापनको जिम्मा मलाई दिइन् ।
भनिन्, “तपाईं हुँदाहुँदै मैले अरू कोसँग सहयोग
माग्नु ?” मलाई ठिकै पनि लाग्यो । हो पनि उनको यो सहरमा म सिवाय अरू को छ र ? त्यसो त उनलाई मरिहत्ते गरेर माया गर्नेको कहिल्यै कमी भएन । उनको शारीरिक बनावट र अनुहार नराम्रो छैन तर दुधैले नुवाए जस्तो पनि होइन । मानिसहरू उनीप्रति किन यति छिट्टै आकर्षित हुन्छन् होला भनेर उनीसँगको पूरै दुई वर्ष मैले सोचिरहेँ । उनको बोलीमा एउटा भिन्नै आकर्षण छ । सायद त्यही भएर मानिस उनीसँग झुम्मिएका होलान् भन्ने मेरो निष्कर्ष छ । त्यसो त म आफैँ चाहिँ उनको बोलीले भन्दा बढ्ता उनको व्यवहारले आकर्षित भएको थिएँ ।
उनी मनमा पाप नभएकी स्वास्नीमानिस हुन् । पापैपापले भरिएको यो सहरमा उनी एक जना यस्तो स्वास्नीमानिस मैले भेटेँ, जोसँग आफ्ना लागि भन्दा आफ्ना नजिकका मानिसका खुसीका लागि बलिदान हुन सक्ने सामथ्र्य छ ।
“यो सहरमा म नयाँ होइन, यहाँका प्रत्येक कुरालाई मैले टिठपूर्वक भोगेकी छु,” पहिलो भेटको सम्भवतः उनको पहिलो संवाद यही थियो । त्यसपछि उनले आफूलाई प्याजसँग तुलना गरेकी थिइन् । जति पत्र खोले पनि नबुझिने र अन्तिममा केही नभएको । मैले त्यतिखेर शङ्कर लामिछानेको ‘एब्स्टयाक चिन्तन प्याज’ सम्झेको थिएँ । उनलाई ‘तिमी पूर्णतातिर उन्मुख छ्यौ’ भनेर बताएको थिएँ ।
यसरी कुराकानी भएको पनि दुई वर्ष बितेछ ।
यस दुई वर्षमा हामीबिच भिन्न र स्वाभाविक आकर्षण विकर्षणका खेल भए । यसलाई खेल पनि किन भन्नु ? हामी यस अवधिमा आकर्षण विकर्षणको रोटेपिङमा मच्चिरह्यौँ । हामीबिच दुई वर्षको दौरानमा सम्बन्धको माथापच्चिसी धेरै भए । उनका यावत् कुरा असल भएर पनि मलाई उनका केही कुरा मन परेनन् । मेरा केही कुराबाट आकर्षित उनलाई मेरा धेरै कुरा मन परेनन् र पनि हामी टाढिन सकेनौँ ।
खराबीबिच रुचाउनु नै प्रेम हो भन्ने दर्शनले यहाँनेर काम गरेको हुनु पर्छ भन्ने मलाई लाग्छ किनभने हामी नभेटी बस्न सक्दैनथ्यौँ । भेट्ने बहाना अनेक हुन्थे । ती सब बहानाका पछाडि हाम्रा भेट्ने चाहनाले नै काम गरिरहेको छ भन्ने हामी दुवैलाई थाहा हुन्थ्यो र पनि हामी एक अर्कालाई यो जानकारी दिँदैनथ्यौँ ।
‘प्रेम गर्छौं’ नभनीकनै हामीबिच एकप्रकारको आत्मिय प्रेम छ भन्ने मलाई लाग्छ । यस्तो प्रेम जहाँ स्वार्थ कम छ । हामीबिच उमेरको आकर्षणले पनि काम गरेको होला तर त्यसैलाई हामीले कहिल्यै ठुलो मानेनौँ । सेक्स नै मानिसको जीवनमा सबथोक कहाँ हँुदो रहेछ र ? म विवाहित मानिस र उनी सर्वाधिक माया गर्ने प्रेमी भएको स्वास्नीमानिस । हामी एकअर्काको उपस्थितिमा रमाउँथ्यौँ । भला त्यो रमाइलो अनुभूति हामी एकअर्काका अगाडि देखाउन सक्दैनथ्यौँ । हामीलाई आआफ्ना इगोले रोक्थ्यो सायद । मैले जीवनमा धेरै स्वास्नीमानिसको सङ्गत गरेँ तर मेरो सौभाग्य हो कि दुर्भाग्य मैले भेटेका अक्सर स्वास्नीमानिसले सदैव मेरा कुरालाई मन नै पराइरहे । उनी मात्र एक जना यस्ती स्वास्नीमानिस हुन्, जो मेरा काम र व्यवहारमा खोट देखाउन सक्छिन् । भन्थिन्, “अरूलाई तपाईंसँग हुनु थिएन, त्यही भएर तपाईंको प्रंशसा मात्र गर्थें तर मलाई तपाईंसँग हुनु छ ।”
म उनलाई सर्वाधिक माया गर्ने उनको प्रेमीको नाम लिएर सोध्थेँ, “अनि उसलाई के गर्छौ त ?” यसरी मैले उनलाई प्रश्न गरिरहँदा म आफूले मन पराएर विवाह गरेकी आफ्नी श्रीमतीलाई सम्झिन्थेँ ।
“ऊ प्रेमी हुन सक्छ, लोग्ने हुन सक्दैन तर तपाईं मेरो लोग्ने हुन सक्नुहुन्छ भन्ने विश्वास मैले गरेकी छु ।” अक्सर कपाल जुरो बनाउन रुचाउने उनले जुरोको काँटा चलाउँदै भनिन्, “तर तपाईंले मलाई उसले जस्तै भुतुक्क भएर चाहनु पर्छ ।”
यहीँनेर मलाई उदेक लागेर आउँथ्यो ।
भुतुक्क भएर कसैले कसैलाई बिनास्वार्थ चाहन्छन् भनेर मलाई विश्वास नै लाग्दैन । म तिमीलाई माया गर्छु, त्यही भएर तिमीले मलाई माया गर्नु पर्छ भन्ने शैलीको मायालाई म बाध्यता भन्छु । माया त रहर हो । इच्छा हो... स्वतन्त्र इच्छा ।
सर्तमा मायाको बलि चढ्न सक्छ तर माया सर्तमा जिउन सक्दैनन् भन्ने मेरो ठम्याइ छ । जहाँ सर्त छ, त्यहीबाट सुरु हुन्छ बाध्यताको शृङ्खला । परास्त प्रेमको आरम्भ ।
मैले उनलाई मन नपराएको होइन तर मन पराउनु र आफ्नो बनाउन नसक्नुको नियतिले म पटक पटक दुखेको छु । हुन त उनको उपस्थिति मेरो जीवनमा एउटा ठुलो आधार बनेर आयो । उनीसँगको सङ्गतपछि नै हो मैले आफ्ना धेरै कमजोरीलाई चिन्न र सुधार्न पाएको । एक किसिमले अनौपचारिक रूपमा भन्नुपर्दा उनी मेरो जीवनको शिक्षिका नै हुन् । मैले यति धेरै सम्मान गरेको र रुचाएको स्वास्नीमानिस सम्भवतः अहिलेसम्म उनी नै हुन् ।
“तपाईंलाई खराबै त म भन्दिनँ तर किन अरूका अगाडि बढी बोलिदिनुहुन्छ र आफूलाई सस्तो बनाउनुहुन्छ,” उनको यो सहरमा बसुन्जेलको मप्रतिको सबभन्दा ठुलो गुनासो भनेको नै यही हो ।
यहाँनेर मेरो आफ्नै दर्शन छ ।
दुई दिनको जिन्दगीलाई कम बोलेर किन जटिल बनाउनु ? प्रत्येक समस्याको जन्म संवादहीनताबाट हुन्छ भन्ने मेरो अनुभव छ । जब प्रेमीप्रेमिका बोल्न छाड्छन् या श्रीमान्श्रीमती कुरा गर्न छाड्छन्, त्यहीबाट सुरु हुन्छ सम्बन्धको चिसोपना । छोरी र आमा जस्तै सासूबुहारीले सब इगो छाडेर बोलिरहने हो भने के घर शान्त हुँदैन र ?
उनी सहर छाडेर जाने कुराले एक किसिमको खिन्नता मभित्र छ । थाहा छैन उनी जाने खबरले आक्रान्त म उनी गएपछि के हुन्छु ?
“तिमी नगए हुँदैन ?” मैले भावुकतावश बोलिदिएँ ।
“यो सहर मेरो होइन,” उनी जङ्गिइन्, “फेरि को छ भनेर बस्नु म यो सहरमा ?”
“म छैन त बाबा ?”
“तपाईंको पनि आफ्नै सीमा छ । माया गर्ने श्रीमती र मुटुभन्दा प्यारी मनुश्री छिन् । मेरो त कोही पनि छैनन् । जति थिए, सबैसँग सम्बन्ध निखारेकी छु,” उनको गहिरो कालो आँखाले मलाई हेरिरहन्छ, “अहिले म स्वतन्त्र छु, एकदम स्वतन्त्र, बतास जत्तिकै स्वच्छन्द र बतास जत्तिकै स्वतन्त्र ।”