काठमाडौँ, मङ्सिर १३ गते । मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको तीन चौथाइ काम सम्पन्न भएको छ ।
पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म छिचोल्ने राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो राजमार्गको अहिलेसम्मको भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको सडक विभागले जनाएको छ । त्यसै गरी आयोजनको वित्तीय प्रगति ८३.२३ प्रतिशत पुगेकोे छ ।
सडक विभागका सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालले तीव्र गतिमा काम भइरहेको यस राजमार्गको अब एक चौथाइभन्दा पनि कम काम बाँकी रहेको छ । मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो । मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्गबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । त्यसै गरी यस राजमार्गको सञ्चालनबाट उक्त क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाइँसराइ निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने बताइएको छ ।
सहायक प्रवक्ता दाहालका अनुसार राजमार्गको कुल लम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये अहिलेसम्म एक हजार ५१०.८६ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ । २६१.१४ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ भने १०७ किलोमिटर सडकको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।
त्यसै गरी यस आयोजना अन्तर्गत कुल १३७ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १११ वटाको निर्माण सम्पन्न भइसकेका छन् भने २४ वटा निर्माणाधीन छन् । त्यसै गरी बाढीपहिरोले बगाएका पुलसमेत गरी १५ वटा पुलको निर्माणका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपियाँ रहेकामा अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष (२०८२/८३) मा तीन अर्ब ५९ करोड रुपियाँ विनियोजन गरिएको छ ।
यस राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको बताउँदै उहाँले यस राजमार्ग अन्तर्गत दस वटा आधुनिक सहरसमेत स्थापना गर्न लागिएको जानकारी दिनुभयो । यो राजमार्ग एउटा रूपान्तरणकारी योजना हुन सक्ने अपेक्षाका साथ सरकारले आर्थिक वर्ष २०६९/७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी मुलुकको विकास निर्माणको उच्च प्राथमिकतामा राखेको छ ।
राजमार्गको रेखाङ्कन
राष्ट्रिय यातायात नीति २०५८ मा पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएबमोजिम पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी २०६४/६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो । मन्त्रीपरिषद्को २०६५ फागुन २६ गतेको निर्णयबाट यस राजमार्गको रेखाङ्कन स्वीकृत भएको थियो ।
यस आयोजनालाई आर्थिक वर्ष २०६७/६८ देखि दुई खण्डमा विभाजन गरी मध्य पहाडी पूर्व खण्ड (करिब ७२१ किलोमिटर) र मध्य पहाडी पश्चिम खण्ड (करिब एक हजार १५८ किलोमिटर) गरी दुई वटा आयोजनाबाट निर्माण कार्य भइरहेकामा आर्थिक वर्ष २०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँच वटा योजना कार्यालयहरू (पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेख) बाट यस राजमार्गको निर्माण हुँदै आएको छ । सहायक प्रवक्ता दाहालले यस आयोजनामा अपेक्षित उपलब्धि हासिल गर्न झन्झटिलो रुख कटान प्रक्रिया, निर्माण सामग्री अभाव, विद्युत्का खम्बा, खानेपानीको पाइप, पुरातात्त्विक/ सांस्कृतिक/धार्मिक महत्वका मठमन्दिरलगायत युटिलिटीका सामग्रीको स्थानान्तरण, मुआब्जा तथा क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापर्बाही मुख्य समस्या रहेको बताउनुभयो ।
प्रवक्ता दाहालका अनुसार यस राजमार्ग अन्तर्गत फिदिम (पाँचथर), वसन्तपुर (तेह्रथुम), खुर्कोट (सिन्धुली), बैरेनी (धादिङ), डुम्रे (तनहुँ), बुर्तीबाङ (बागलुङ), चौरजहारी (रुकुम), राकम कर्णाली (दैलेख), साँफेबगर (अछाम) र पाटन (बैतडी) मा दस वटा आधुनिक सहर निर्माण गर्ने लक्ष्य लिइएको छ ।