• ८ मंसिर २०८१, शनिबार

मगन्ते व्यवस्थापन राज्यको दायित्व

blog

नेपालले विकासमा फड्को मार्न सकेको छैन, समाजमा गरिबी कायमै छ । गरिबीले नै नेपाली विभिन्न समस्याले जकडिएका छन् । नेपाली समाजका विभिन्न समस्यामा एउटा विकराल समस्या माग्ने पनि हो । यहाँ दिन प्रतिदिन माग्नेको सङ्ख्यामा भएको वृद्धिले सहरबजार नै अशोभनीय बन्दै आएको छ । विशेष गरेर काठमाडौँका मन्दिर, पार्क जहाँ जाँदा पनि माग्नेले हातखुट्टा समाई हैरान पारेका हुन्छन् । माग्नेहरूमा केटाकेटीदेखि बूढाबूढी, युवासमेत देखिन्छन् । राज्यकै लागि माग्ने समस्या एउटा चुनौती नै बनेको छ । 

माग्नु भनेको केही पाउने आशाले कसैको अगाडि हात पसार्नु हो । दिनेले पनि माग्नेप्रति दया, माया, ममता, करुणाले आफूसंँग भएको पैसा वा वस्तु दिने गर्दछ । माग्नुपर्ने कसैको बाध्यता हुन्छ । कोही बालबालिका जो आमाबाबुद्वारा बेवास्ता गरेका दीनहीन पेट पाल्नका लागि बाध्य भएर मागेरै खानुपर्ने अवस्था हुन्छ । कोही बेरोजगार भई केही नभएका बूढाबूढी र युवासमेत माग्ने पेसा अपनाएका हुन्छन् । गरिब मुलुकमा यस्ता माग्नेको सङ्ख्या धेरै नै हुन्छन् । माग्नेहरूमा बालबालिका मात्र होइन ठूलाहरू, सङ्क्रामक रोगीहरू पनि हुन्छन् ।

दैनिक जीवन गुजारा गर्न पेट भर्नका लागि माग्नु जरुरी हुन्छ तर सबै माग्नेको माग्नैपर्ने बाध्यता हुँदैन । माग्ने तरिका पनि विभिन्न छन् । सडकपेटीमा विभिन्न कारुणिक वाक्यहरू बोलेर माग्ने हुन्छन् । कोही नग्न र बीभत्स रूप देखाएर सडकको छेउछाउ पेटीमा लम्पसार पारेर चिच्याएर मागिरहेको देखिन्छ ।

कोही हातखुट्टामा पट्टी बाँधेर, घाउ पारेर, थाङ्नामा सुतेर निरीहको भावमा, आमाले बच्चालाई निन्द्रा लाग्ने औषधि खुवाएर मागिरहेको हेर्न सकिन्छ तर अचेल यस्तो रिस उठ्ने गरी अशोभनीय तरिकाले जबर्जस्ती मानिसको ज्यान नै समाएर जानै नदिएर, ब्याग तानेर, खुट्टा समाएर, ढोगेर, रोइधोइ अनेक गरी बालबालिकाले माग्ने गर्छन् ।

अझ विदेशी यात्रुलाई उधुम मच्चाएर हायलकायल गराएर मागेर सताइन्छ । कोही नानाथरीका कारण, जस्तो खेतबारी बगाएको, आगलागी भएको, दुर्घटना भएर खान लाउन र उपचार गर्न नपाएको भनी बहानाबाजी पत्र बोकेर पनि माग्ने गरेका हुन्छन् । यस्ता माग्नेको सङ्ख्या धेरै नै हुनु समाज र राष्ट्रकै बेइज्जत हो । माग्ने काम सजिलो भएकाले यसलाई पेसाका रूपमा लिने गरिएको छ । यदि समयमै माग्ने समस्यालाई नियन्त्रण गरिएन भने यसले विकराल समस्या ल्याउनेछ । 

केही समय पहिले माग्नेको सङ्ख्या कमी भएको थियो । यसलाई हटाउनका लागि समय–समयमा काठमाडौंँ महानगरपालिकाले विभिन्न कदम चालेको थियो । समस्या समाधानका लागि सन् १९७९ अन्तर्राष्ट्रिय बाल वर्षको घोषणाअन्तर्गत नेपालमा पनि माग्ने समस्या हटाउनका लागि सडक गल्लीहरू मन्दिर, पार्क र मान्छे भीड हुने ठाउँमा मागिरहने केटाकेटीलाई समाती आवश्यक छानबिन गरी सम्झाइबुझाइ घर फर्काउने गरिएको थियो । कोही नभएकालाई विभिन्न बाल सङ्गठन, बाल आश्रममा र अनाथालयमा पठाइएको थियो । यस्तै माग्ने पेसा अपनाउनेलाई सम्भmाउने, जनचेतना दिने काम भएको थियो । समय–समयमा माग्नेहरूलाई व्यवस्थापन गर्न प्रयास गरिँदै आएको थियो तर यसको समस्या सुल्झाउनमा निरन्तरता दिन सकेन । माग्ने पेसा सहज भएकाले यसको सङ्ख्या दिन प्रतिदिन बढ्नु स्वाभाविक हो । माग्नेको सङ्ख्या किन बढ्यो भन्ने सन्दर्भमा अनुसन्धान गर्दा अधिकांश भारतीय क्षेत्रबाट बालबालिका, रोगी, काम नपाएकाहरू नेपाल पस्ने गरेको देखिन्छ । यस्तै नेपालमा बसाइँसराइ प्रक्रियाले गर्दा विभिन्न पहाड र तराई क्षेत्रबाट अधिकांश मानिस काठमाडौँ सहरमा प्रवेश गर्ने गरेका छन् । अझ भुटान र बर्माबाट आएका शरणार्थीका कारणले पनि नेपालमा माग्नेको सङ्ख्या बढेको पाइन्छ । 

समाधानका उपाय

माग्ने समस्या दीर्घकालीन समस्या हो । जबसम्म देशमा गरिबी रहन्छ माग्नेहरूको सङ्ख्या बढ्दै जाने गर्छ । गरिबी भन्नाले देशमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य एवं बेरोजगारको समस्यालाई लिइन्छ । नेपालमा २३ प्रतिशतभन्दा बढी गरिब मानिसले एक दिनमा एक डलरभन्दा कम आम्दानी गर्दछन् । हातमुख जोड्ने समस्या छ । प्रतिदिन दुई डलर कमाउन नसक्नेहरूको सङ्ख्या पनि धेरै छ । यसले गर्दा पनि प्रतिदिन माग्नेहरूको सङ्ख्या वृद्धि हुँदै गएको अवस्था छ । माग्नेहरूको स्थितिलाई कम गर्न गरिबी नै हटाउनु जरुरी छ ।

भारतसँगको खुला सीमाका कारणले गर्दा विभिन्नखाले माग्नेहरू सजिलैसित नेपाल आएको देखिन्छ । यस्ता मगन्तेलाई भारतीय सीमा क्षैत्रबाट नेपालभित्र प्रवेश गर्न दिन भएन । आएकालाई पनि भारततर्फ नै फर्काउनु पर्दछ । अन्यखालका माग्नेमा गाउँघरबाट भागेर आई माग्ने पेसा अपनाइरहेका बालबालिका पनि प्रशस्तै देखिन्छ । यसरी भागेर आएका माग्नेलाई सम्बन्धित निकायले नसिहतसहित घर फर्काउने व्यवस्था गर्नुपर्दछ । बाँच्ने अधिकार सबैको छ । 

राज्यले अपाङ्गता, रोगी, माग्नेहरूका लागि केही प्रबन्ध गरिदिनेतर्र्फ आवश्यक ध्यान दिनुपर्दछ । उनीहरूको लालनपालनका लागि आवश्यक व्यवस्थापनका लागि समाज सुधार सङ्घ, वृद्धाश्रम, बाल सङ्गठन, अनाथालय आदिको व्यवस्था राज्यले गर्नु जरुरी छ । यस्तै कुनै पनि अभिभावकले पठनपाठन गर्नुपर्ने अवस्थामा रहेका निहत्था बालबालिकालाई आफ्नो स्वार्थपूर्तिका लागि माग्ने काममा प्रोत्साहन दिनुहुँदैन भन्ने जनचेतना जगाउनुपर्दछ । त्यस्ता काममा लगाउने अभिभावकलाई राज्यले दण्ड सजाय गर्नुपर्दछ । 

हाल काठमाडौँ नगरपालिकाले सार्वजनिक स्थलमा माग्ने गतिविधि गर्नमा रोक लगाएको छ । काठमाडौँ सहरको कुनै पनि गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयपरिसरमा माग्न निषेध गरिएको छ । कोही कसैले बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम ज्याला दिई माग्न वा माग्न प्रोत्साहन नगर्न काठमाडौँ महानगपालिकाले सूचित नै गरेको छ । यदि कोही कसैले यस काममा अटेर गरेमा नेपालको मुलुकी ऐन अपराध संहिता नियमअनुसार कारबाही गरिने भएको छ । पहिलो पटक भिक्षा मागेमा भिक्षा जफत गर्नुका साथै एक महिनासम्म कैद वा एक हजार रुपियाँ जरिवाना गरिनेछ । यदि दोस्रो पटक भेटिएमा प्रत्येक पटक दुई महिनासम्म कैद वा दुई हजार रुपियाँसम्म जरिवानाको व्यवस्था छ । 

त्यस्तै पहिलो पटक भिक्षा माग्न लगाएको भए एक वर्षसम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुवै र दोस्रो पटकदेखि प्रत्येक पटक तीन वर्षसम्म कैद वा ३० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । महानगरपालिकाले कडा नियम ल्याउनुका साथै असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षीका लागि मानव सेवा आश्रमको सेवा उपलब्ध गराउने व्यवस्था गर्दै छ । यस घोषणाले देशमा विद्यमान माग्ने समस्यालाई नियन्त्रण गर्न निकै सहयोग मिल्नेछ । यसलाई सबैले सहयोग गरेमा देशमा भइरहेको अशोभनीय तरिकाले बढेको माग्ने समस्या चाँडै नियन्त्रणमा आउनेछ ।

Author

मुनीन्द्ररत्न वज्राचार्य