• २ चैत २०८२, सोमबार

यलोफेस : बौद्धिक चोरीको कथा

blog

लेखनाथ समाचारदाता

लेखनाथ, चैत २ गते । उपन्यासको पाण्डुलिपि पूरा गर्न नभ्याउँदै एथेना लिउको आकस्मिक मृत्यु हुन्छ । लिउको मृत्युपछि उनकी साथी जुन हेवर्डले त्यो पाण्डुलिपि चोर्छिन् । उनले त्यो पाण्डुलिपिलाई परिमार्जन गरी आफ्नै नाममा छपाउँछिन् र रातारात प्रसिद्ध लेखिका बन्छिन् । लिउले जातीय पहिचान लुकाउन ‘जुनियर सोङ’ नामको सहारा लिन्छिन् ।

यो चोरी एउटा पुस्तकको मात्र नभई अर्कैको संस्कृति र भोगाइको पनि चोरी थियो । जसलाई ‘यलोफेस’ उपन्यासले बडो मिहिन ढङ्गले केलाएको छ । उपन्यासमा साहित्यिक मित्रता र डाहको सीमारेखा मेटिन्छ । आफ्नी प्रतिभावान् चिनियाँ–अमेरिकी साथी लिउको मृत्युपछि चोरेको अधुरो पाण्डुलिपिबाट चर्चित लेखक बनेको कथा भएको उपन्यासमाथि शनिबार पोखरामा विमर्श भएको छ ।

¥यान्डम रिडर्स सोसाइटी अफ नेपालको नियमित शृङ्खला अन्तर्गत भएको कार्यक्रममा लेखक तीर्थ गुरुङले उक्त कृतिमाथि अवधारणापत्र पेस गर्नुभयो । “प्रकाशन उद्योगको कुरूप यथार्थलाई पनि उपन्यासले नराम्रोसँग उदाङ्गो पारेको छ,” गुरुङ भन्नुहुन्छ, “बजारमा कसरी ‘विविधता’ लाई एउटा वस्तुका रूपमा बेचिन्छ र लेखकलाई जातीय आधारमा कसरी ‘टोकनाइज’ गरिन्छ भन्ने कुरा उपन्यासमा छ ।”

प्रकाशकले जुनको श्वेत छालालाई कसरी चिनियाँ इतिहासको रङ दिएर बजारमा प्रस्तुत गरे भन्ने प्रसङ्गले पाठकलाई वर्तमान समयको ‘ह्वाइटवासिङ’ र ‘सांस्कृतिक अपहरण’ का बारेमा गम्भीर बनाउँछ । उपन्यासमा प्रयोग गरिएको ‘एटेन्सन इकोनोमी’ र ‘क्यान्सिल कल्चर’ को प्रभावले आधुनिक साहित्य कसरी सामाजिक सञ्जालको अल्गोरिदममा फसेको छ भन्ने कुरालाई देखाएको गुरुङले उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जालमा हुने बहस र ट्रोलिङले एउटा लेखकको जीवन कसरी बर्बाद बनाउन सक्छ वा कसरी उचाइमा पु¥याउन सक्छ भन्ने कुरालाई पनि उपन्यासले समेटेको छ । गुरुङले उपन्यासलाई २१ औँ शताब्दीको बदलिँदो साहित्यिक प्रवृत्तिको ऐनाका रूपमा चित्रण गर्नुभयो । ‘यलोफेस’ ले उठाएको ‘आइडेन्टिटी पोलिटिक्स’ र ‘प्लेजरिजम’ को मुद्दाले बहसलाई पृथक् र सार्थक बनाएको संस्थाका अध्यक्ष दीपक पराजुली बताउनुहुन्छ ।